बास्पानीमा कातिक–४ गतेबाट खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने

Halesi Khabar

खोटाङ, २९ असोज । केपिलासगढी गाउँपालिका–३ बास्पानीमा जिल्लास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । स्थानीय खकलुङ युनाइटेड क्लब बास्पानीको आयोजनामा कातिक–४ गतेबाट फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुने समूहले रु ३० हजार, दोस्रो हुने समूहले रु २० हजार र सेमिफाइनलिस्ट दुई समूहलाई नगद रु दश÷दश हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक खकलुङ युनाइटेड क्लब बास्पानीका अध्यक्ष प्रताप राईले बताउनुभयो प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिनफिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितामा सहभागी हुने समूहका लागि रु तीन हजार ९९९ दर्ता शुल्क तोकिएको र प्रतियोगितामा १५ समूह सहभागी हुने अनुमान गरिएको आयोजकले जनाएको छ । चन्दा सङ्कलनबाट आयोजना गरिएको प्रतियोगिताका लागि अनुमानित रु दुई लाख ५० हजार बजेट लाग्ने अनुमान गरिएको आयोजकले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

खुला पुरुष फुटबल प्रतियोगिताको उद्घाटन १ नं. प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजन राईले गर्नु हुने जनाइएको छ । फटबल प्रतियोगिता उद्घाटन कार्यक्रमको अवसरमा गत वैशाख–३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई सम्मानसमेत गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

तिहारको अवसर पारेर आयोजना गएिको फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा गायक पदम राई र राकेश किराँतीको साँगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । खेल क्षेत्रको विकासमा लागेको खकलुङ युनाइटेड क्लब बास्पानीले यसअघि पनि खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया