चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान

Halesi Khabar
91 Shares

खोटाङ, २४ चैत । खोटाङ सेवा समाज बेलायत (युके)ले शिक्षाविद् चतुरभक्त राईलाई ‘खोटाङ नागरिक सम्मान–२०८०’ र कवि चन्द्र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार–२०८०’ प्रदान गरेको छ । बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुले सन् २००७ मा स्थापना गरेको संस्थाले शनिबार दिक्तेलस्थित शुभम् फाउण्डेशनमा आयोजित कार्यक्रममा शिक्षाविद् चतुरभक्तलाई रु एक लाख राशिको खोटाङ नागरिक सम्मान र कवि रानोहँछालाई रु ५० हजार राशिको खोटाङ प्रतिभा पुरस्कार प्रदान गरेको हो ।

शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, समाज र राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै शिक्षाविद् चतुरभक्त र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदररुवरुप कवि रानोहँछालाई सम्मान एवम् पुरस्कृत गरिएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष विभागका संयोजक डिल्लीराम राईले जानकारी दिनुभएको छ । सम्मानित शिक्षाविद् चतुरभक्त र पुरस्कृत कवि रानोहँछालाई प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वमन्त्री रामकुमार राई ‘पासाङ’, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई लगायतले नगदसहित ताम्रपत्र प्रदान गर्नुभएको छ ।

समाजले साहित्य, कला, सँगीत, शिक्षा, खेलकुद, समाजसेवा लगायतका माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पु¥याउँदै आएका ६० वर्षमाथिका व्यक्तित्वलाई नागरिक सम्मान तथा २० वर्षमाथिका प्रतिभालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । समाजले यस वर्षको सम्मान र पुरस्कार जिल्लामा आयोजना गरिएको ‘खोटाङ–युके निःशुल्क स्वास्थ्य शिविर’ समापनको अवसर पारेर प्रदान गरेको हो ।

समाजमा आवद्ध २५ जना सदस्यबाट सङ्कलन गरिएको रकमबाट स्थापना गरिएको रु ११ लाखको कोषको ब्याजले हरेक तीन÷तीन वर्षमा एकजनालाई सम्मान र एकजनालाई पुरस्कृत गर्ने गरिएको समाजका महासचिव राजेन रामजङ राईले जानकारी दिनुभएको छ । पहिलो चरणमा कृषिविज्ञ मदन राई र गायक रुपकुमार राई, दोश्रो चरणमा साहित्यकार जसराज किराँती र सँगीतकार शान्तिराम राई, तेश्रो चरणमा शिक्षासेवी एवम् समाजसेवी ईमानसिं राई र गीतकार टीका चाम्लिङ, चौथो चरणमा स्वास्थ्यकर्मी ध्रुबलक्ष्मी राई र सञ्चार अभियान्ता टंकबहादुर थापा तथा पाँचौँ चरणमा शिक्षाविद जयकुमार राई र साहित्यकार एवम् प्राध्यापक डा. धनप्रसाद सुवेदीलाई नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार प्रदान गरिसकिएको छ ।

समाजले यस वर्ष जिल्लामा आयोजना गरेको ‘खोटाङ–युके निःशुल्क स्वास्थ्य शिविर’बाट छ हजार ६३८ जना जिल्लावासीले सेवा लिएका छन् । जिल्लाका दशवटै स्थानीय तहका नागरिकलाई आफ्नै गाउँठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ जिल्लाका विभिन्न ११ ठाउँमा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजी लगायत रोगको निःशुल्क उपचार र औषधि वितरण गरिएको आयोजक खोटाङ सेवा समाज बेलायतका अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिनुभएको छ । “शिविरमा सहभागी भएका बिरामीलाई निःशुल्क उपचारका साथै औषधिसमेत निःशुल्क वितरण गरिएको छ । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित १३० जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो”, उहाँले भन्नुभयो, “जिल्लाका ११ ठाउँमा आयोजना गरिएको शिविरमा करिब रु तीन करोड दश लाख बराबरको रकम खर्च भएको छ । जिल्लामा आयोजना गरिएको बृहत् स्वास्थ्य शिविर सफल पार्न सहयोग गर्नुहुने सबैलाई आयोजकको तर्फबाट धन्यवाद ज्ञापन गर्दछौँ ।”

‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नाराका साथ समाजले यही चैत–१६ गतेदेखि २३ गतेसम्म बृहत् स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरमा सबैभन्दा बढी दन्त रोग भएका नागरिकहरु लाभान्वित भएको जनाइएको छ ।

समाजले अस्पताल जानका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने र अस्पतालसम्म पुग्ने साधनको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने समस्या अन्त्यको प्रयास स्वरुप वि.सं. २०७३ चैत्र–२६ गते खोटाङलाई सातवटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराएको थियो । बेलायत, अमेरिका, ब्रुनाई, जर्मनी, मलेसिया, सिङ्गापुर, नेपाल लगायतका ठाउँमा बसोबास गर्ने ४४५ खोटाङ्गेबाट प्राप्त स्वेच्छिक सहयोग रकमले खरिद गरेर एम्बुलेन्स तथा अस्पतालका लागि उपकरण प्रदान गरिएको समाजले जनाएको छ ।

जिल्लाको समग्र विकास निर्माणमा समेत सहयोग गर्दै आएको समाजले जिल्ला अस्पताल खोटाङलाई एकवटा अल्ट्रासाउण्ड मेसिनसमेत प्रदान गरेको थियो । यद्यपि, समाजले जिल्लावासीका लागि निःशुल्क उपलब्ध गराएको अधिकांश एम्बुलेन्स उपयोगविहीन भएको समाचार स्रोतले जनाएको छ ।

रोजगारीको सिलसिलामा बेलायतमा बसेपनि आफूहरु खोटाङ्गे भएकाले खोटाङ्गेको समस्यालाई समाधान गर्न आफूहरुको पनि उत्तिकै जिम्मेवारी हुने उनीहरुले बताउँदै आएका छन् । कोभिड–१९ को महामारीका बेला पनि अक्सिजन लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया