सहकारीका बचतकर्ताको रकम घोटला प्रकरण : सौर्य एयरलायन्सका क्याप्टेन जोशी श्रीमतीसहित महिना दिनदेखि प्रहरी हिरासतमा

Halesi Khabar
7 Shares

खोटाङ, १३ कातिक । सहकारी संस्थाका बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिनुभएका सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशी गत असोज–१३ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजार स्थायी घर भएका क्याप्टेन जोशी दिक्तेलमा सञ्चालित लालुपाते सहकारी संस्था लिमिटेडका बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिनुभएपछि प्रहरीले श्रीमती रविना श्रेष्ठ (जोशी)सहित महिना दिनअघि पक्राउ गरेको हो ।

काठमाडौँस्थित घरैबाट पक्राउ पर्नुभएका जोशी दम्पतीलाई गाडीमार्फत जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएर अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजनालाई सङ्गठित अपराध अन्तरगत मुद्दा दर्ता गरेर कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभएको छ ।

क्याप्टेन जोशी सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशीको सहोदर भाइ हुनुहुन्छ । तत्कालीन अध्यक्ष जोशीले बचतकर्ताको रकम भाइ÷बुहारीको व्यक्तिगत बैङ्क खातामा जम्मा गरेर उनीहरुकै नाममा विभिन्न ठाउँमा जग्गा खरिद गरेको सहकारीको आर्थिक वर्ष २०७७÷०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ ।

आफूहरुले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले वि.सं. २०७९ फागुन–२ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठजना बिरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए । बचतकर्ताले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएर गएको प्रहरी टोलीले तत्कालीन अध्यक्ष जोशीका भाइ÷बुहारीलाई पक्राउ गरेको चार दिनपछि असोज–१७ गते प्रबन्धक रुकु जोशीलाई समेत पक्राउ गरेको थियो ।

बचतकर्ताको रकम घोटला प्रकरणमा मुख्य दोषी ठानिएका क्याप्टेन जोशी लगायतको नाम प्रहरीले अनुसन्धानमा असर गर्ने भन्दै यसअघिसम्म सार्वजनिक गर्न मानेको थिएन । उनीहरुको परिवारले रु एक करोड ५० लाखभन्दा बढी ऋण चलाएको पाइएको सहकारीको लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ ।

ऋणीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले महिना दिनपछि आइतबार सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँसहित थप पाँचजनालाई पक्राउ गरेको छ । जिल्लाका चार हजार ५०० बचतकर्ताको रकम घोटला प्रकरणमा अनुसन्धान गर्न उपाध्यक्ष चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा प्रहरीले छलफलका लागि भन्दै कार्यालयमा बोलाएर षडेन्त्रपूर्वक सञ्चालक समितिका पदाधिकारीलाई नियन्त्रणमा लिएको सञ्चालक समितिका एक पूर्वसदस्यले आरोप लगाउनुभएको छ । “ऋणीहरुविरुद्ध हामीले किटानी जाहेरी दिएका छौँ । उनीहरु नै हुन् दोषी । अहिले पक्राउ परेका कोही पनि दोषी छैनन् । सञ्चालक समितिका सचिव मनोज राई आफैले ऋणीहरुविरुद्ध गत माघ–६ गते किटानी जाहेरी दिनुभएको छ । उहाँलाई नै प्रहरीले पक्राउ गरेपछि कसरी अनुसन्धान प्रक्रिया अगाडि बढ्छ ?”, नाम नभन्ने सर्तमा उहाँ (पूर्वसदस्य)ले भन्नुभयो, “प्रहरी ऋणीहरुको पक्षमा लागेको स्पष्ट देखियो । यसमा निष्पक्ष छानविन हुन जरुरी छ । बिना कारण कसैलाई दुःख दिन पाइँदैन । दोषीले उन्मुक्ति पाउनुहुँदैन ।”

बचतकर्ताका रकमले खरिद गरिएको जग्गा आफ्नो नाममा पार्ने व्यक्ति तथा अन्य ऋणीहरुको पहिचान भएर पनि प्रहरीले अहिलेसम्म उनीहरुलाई पक्राउ नगरेको सञ्चालक समितिका पूर्वसदस्यले बताएका छन् । बचतकर्ताले आफूहरुको बचत डुबाउने दोषीलाई कारबाही र डुबेको बचत फिर्ता गर्न माग गर्दै गत असोज–१९ गते जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालत खोटाङमा धर्नासमेत दिएका थिए ।

पक्राउ परेका दोषीलाई उन्मुक्ति नदिन, अन्य दोषीलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन र डुबेको बचत रकमको साँवाब्याज फिर्ता गर्ने वातावरण निर्माणका लागि प्रदर्शन गरिएको बचतकर्ताहरुले बताएका छन् । पक्राउ परेका व्यक्तिलाई अदालतले तारिखमा छाड्न लागेको सूचना आएकाले उनीहरुलाई कानूनी कारबाही तथा आफूहरुको बचत फिर्ताका लागि दबाबमुलक प्रदर्शन गरिएको बचतकर्ता धनीराम नछुङले बताउनुभएको छ ।

सहकारीमा भएको आर्थिक अनियमितता प्रकरणमा मुछिएका व्यक्तिमाथि थप अनुसन्धान गर्न सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखिएकाले पक्राउ गरिएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिनुभएको छ । “लालुपाते सहकारी संस्था लिमिटेडमा ठूलो मात्रामा आर्थिक अनियमितता भएको पाइएको छ । सञ्चालक समितिले जिम्मेवारी बहन गर्नैपर्ने हुन्छ । अनुसन्धानका लागि सञ्चालक समितिका पदाधिकारीलाई समेत नियन्त्रणमा लिनुपर्ने अवस्था देखियो”, उहाँले भन्नुभयो, “पक्राउ परेका सबैजनालाई सोमबार पुनः पाँच दिनको म्याद गरेर सङ्गठित अपराध अन्तरगत कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । यस प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउने योजनाका साथ अनुसन्धान भइरहेको छ । लामो समयदेखि अल्झिएको यो मुद्दाको नतिजा तिहारअघि ल्याउने तयारी गरेका छौँ ।”

वि.सं. २०७२ मङ्सिर–१० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार शुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो । जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण वि.सं. २०७८ वैशाख–१५ गते पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

तत्कालीन अध्यक्ष जोशीको कोभिड–१९ का कारण निधनपछि वि.सं. २०७८ वैशाख–१६ गतेदेखि सहकारी संस्थाको आर्थिक कारोबार ठप्प छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित सहकारी संस्थामा एकैजनाले रु ४५ लाखसम्म बचत गरेका छन् भने ७४ जना ऋणी रहेका छन् ।

सहकारीका ऋणीहरुले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । सहकारीको जग्गा बाहेक साँवाब्याजसहित करिब रु दश करोड ऋण लगानी रहेको जनाइएको छ ।

बचतकर्तालाई साँवाब्याजसहित करिब रु सात करोड रकम फिर्ता दिनुपर्ने लेखा परीक्षण प्रतवेदनमा हिसाब देखिएको छ । सहकारीका तत्कालीन अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन र बचतकर्तालाई फिर्ता दिन कठिन भएको सञ्चालक समितिका अन्य पदाधिकारीहरुले बताउँदै आएका छन् ।

जिल्लामा सञ्चालित अन्य केही सहकारी संस्थाले पनि आफूहरुको बचत फिर्ता नदिएको बचतकर्ताहरुले गुनासो गर्न थालेका छन् । दश स्थानीय तह रहेको जिल्लामा १८१ वटा सहकारी संस्था सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया