महान छाेरी उषाकला राई : जसले हिन्दु परम्पराअनुसार आफ्नाे बुबाकाे काज-किरिया थालिन

39.7k Shares

खोटाङ, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाल)की केन्द्रीय सदस्य एवम् कोशी प्रदेशकी पूर्वसामाजिक विकासमन्त्री उषाकला राईले हिन्दु परम्पराअनुसार आफ्नो बुबाको काज–किरियामा शुरु गर्नुभएको छ । संविधानसभा सदस्यसमेत रहनुभएकी पूर्वसामाजिक विकासमन्त्री उषाकलाले आज (शुक्रबार) केश मुण्डन गरेर बुबा रुद्रकुमार राईको काज–किरिया शुरु गर्नुभएको हो ।

पूर्वसामाजिक विकासमन्त्री उषाकलाको बुबा रुद्रकुमारको ८७ वर्षको उमेरमा बिहीबार राति काठमाडौँमा निधन भएको थियो । कम्युनिष्ट पार्टीमा आवद्ध रहेर राजनीति गर्नुभएका रुद्रकुमार लामो समयदेखि विभिन्न रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएका मृतक रुद्रकुमार साबिक खाल्ले गाविसका पूर्वगाविस अध्यक्ष, नेकपा एमाले खोटाङका तत्कालीन पार्टी सचिव तथा हाल जेष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । मृतक रुद्रकुमारको एकमात्र सन्तान पूर्वमन्त्री उषाकला हुनुहुन्छ ।

एमाले खोटाङका अब्बल नेतृ मानिनुहुने उषाकलाले यसअघि वि.सं. २०७५ पुसमा आमाकोसमेत काज–किरिया गर्नुभएको थियो । नेतृ उषाकलाले जिल्लामै पहिलो पटक कपाल मुण्डन गरेर आमाको काज–किरिया गर्दा निक्कै चर्चा भएको थियो ।

संवैधानिक र कानूनी हिसाबले महिला र पुरुषलाई लैङ्गिक हिसाबले गरिएको विभेदको अन्त्य भएपनि व्यहारिक हिसाबले भएको छैन । यो अवस्थामा उषाकलाको यो कदमले समाजमा आफ्नो संस्कारअनुसार काज–किरिया गर्न भएपनि छोरा अनिवार्य छ भन्ने अन्धविश्वासलाई चुनौति दिएको छ ।

नेतृ उषाकलाले सिन्धुपाल्चोक स्थायी घर भएका एमाले नेता एवम् पूर्वकानूनमन्त्री शेरबहादुर तामाङसँग अन्तरजातीय विवाह गर्नुभएको छ । पूर्वमन्त्रीद्धयको दुई छोरा छन् ।

तपाईको प्रतिक्रिया