यलम्बरको प्रतिमा अनावरण तथा उद्यान उद्घाटन कार्यक्रम स्थगित गर्न प्रशासनको आग्रह

Minakshi Rai

खोटाङ, १६ वैशाख । जिल्ला प्रशासन कार्यालय खोटाङले बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो प्रतिमा अनावरण तथा यलम्बर पार्क (उद्यान) उद्घाटन कार्यक्रम तत्काललाई स्थगित गर्न आग्रह गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको पार्कसहितको यलम्बरको प्रतिमा नगरपालिका र वडा नं. १४ बुइपाले एउटै कार्यक्रम फरक–फरक व्यक्तिबाट फरक–फरक मितिमा गर्ने भएपछि सामाजिक सद्भाव भड्कन सक्नेतर्फ मध्यनजर गर्दै प्रशासनले तत्कालका लागि अनवरण तथा उद्घाटन कार्यक्रम स्थगित गर्न दुवै पक्षलाई आग्रह गरेको हो ।

नगरपालिका र वडा कार्यालयले छुट्टाछुट्टै मितिमा फरक–फरक व्यक्तिबाट यलम्बरको शालिक अनावरण तथा पर्क उद्घाटन गराउने भएपछि विवाद हुँदा प्रशासनले शान्तिसुरक्षा दिन नसकिने भएकाले कार्यक्रम स्थगित गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले बताउनुभएको छ । “नगरपालिकाले वैशाख–१७ गते उद्घाटन गर्ने कार्यक्रम रहेको भनेर वैशाख–१३ गते पठाएको पत्र तथा वडा नं. १४ बुइपाले सोही कार्यक्रम वैशाख–१८ गते गर्ने भनेर विभिन्न सञ्चार माध्यमहरुबाट जानकारी प्राप्त भएको छ । जिल्लाको समग्र शान्तिसुरक्षा, सामाजिक सद्भाव एवम् एकतालाई मध्यनजर गर्दै दुवै पक्षलाई उक्त कार्यक्रम स्थगन गर्न/गराउन सूचित गरिएको छ”, उहाँले भन्नुभयो, “दुवै पक्षले आ–आफ्नो तरिकाले कार्यक्रम गर्दा अप्रिय घटना हुने सम्भावना देखियो । दुई पक्षको विवादका कारण हुनसक्ने सम्भावित घटना न्यूनीकरण गर्न तत्कालका लागि कार्यक्रम नै स्थगित गर्न प्रशासनको तर्फबाट सार्जजनिक सूचना जारी गरेका हौँ ।”

प्रशासनले किराती समुदायको महान चाड साकेला उँभौली, वैशाख पूर्णिमा, बुद्ध जयन्ती, मजदुर दिवस लगायतका पर्वहरु धार्मिक, साँस्कृतिक तथा सामाजिक परम्पराको संरक्षण, सम्वद्र्धन गरी सभ्य, भव्य र सुसंस्कृत रुपमा मनाउनसमेत सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ । प्रशासनका प्रशासकीय अधिकृत प्रभात ढकालले जारी गर्नुभएको सूचनामा नेपाली समुदायले मनाउँदै आएका चाडपर्वहरुको अवसरमा जिल्ला प्रशासन कार्यालय, खोटाङको तर्फबाट शुभकामनासमेत व्यक्त गर्दछौँ भनिएको छ ।

वडा कार्यालय बुइपाले वैशाख–१८ गते श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’बाट शालिक अनावरण तथा पार्क उद्घाटन गराउने तयारी गरेको थियो । वडा कार्यालयले यलम्बरको शालिक अनावरण तथा पार्क उद्घाटन कार्यक्रम आफूखुशी आयोजना गरेको भन्दै नगरपालिकाले हस्तक्षेप गर्न खोजेपछि विवाद सुरु भएको स्थानीयले बताएका छन् ।

बुइपाका वडाध्यक्ष दिनेश राईले वैशाख–९ गते पत्रकार सम्मेलन गरी जानकारी गराउनुभएको थियो । त्यसको तीन दिनपछि वैशाख–१२ गते नगरपालिकाले पनि पत्रकार सम्मेलनमार्फत कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछोबाट वैशाख–१७ गते संयुक्त रूपमा अनावरण तथा उद्घाटन गर्ने जानकारी गराएपछि विवाद सुरु भएको हो ।

विवादपछि वैशाख–१३ गते प्रमुख जिल्ला अधिकारी कँडेलको समन्वयमा उक्त विषयमा छलफल भएको थियो । त्यतिखेर शालिक अनावरण कार्यक्रमको आयोजक नगरपालिका रहने र मुन्दुमविद्, ज्येष्ठ नागरिक, शालिकका परिकल्पनाकार वा नछुङको प्रमुख आतिथि बनाउने सहमति भएपनि कार्यान्वयन नभएपछि नगरपालिकाले १७ गते र वडाले १८ गते नै अनावरण गर्ने अडान लिँदै आएका थिए ।

नगरपालिका र वडा कार्यालयबीचको विवाद चर्कदै गएपछि बुधबार जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेश तामाङको अध्यक्षतामा भएको प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसहितको सर्वदलीय, सर्वपक्षीय बैठकले नगरपालिका र वडाले आयोजना गरेको दुवै दिनको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो । त्यसपछि उक्त सर्वपक्षीय, सर्वदलीय बैठकको निर्णयलाई नगरकार्यपालिकाको बैठकले अनुमोदन गरी जिल्ला प्रशासन कार्यालय खोटाङलाई अनुरोध गरेको हो ।

पञ्चदोबाटोमा रहेको ३५ रोपनी सरकारी जग्गामा निर्माण गरिएको विश्वकै सबैभन्दो अग्लो यलम्बरको प्रतिमासहितको पार्कमा कोशी प्रदेशको ७० र नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ । उमा–तुवाचुङ–अनसुवी जेभी निर्माण कम्पनीले निर्माणको जिम्मा लिएको यलम्बर पार्कमा करिब रु १४ करोड खर्च भएको नगरपालिकाले जनाएको छ ।

सम्झौता गरेको १८ महिनाभित्र सम्पन्न गर्नेगरी वि.सं. २०७८ असार–२८ गते सम्झौता गरिएको यलम्बर पार्क चार वर्षपछि गत वर्ष निर्माण सम्पन्न भएको थियो । डिजाइन परिवर्तनका कारण ठेकेदार कम्पनीले बेलैमा काम गर्न नपाउँदा पटकपटक म्याद थपिँदै आएको थियो ।

गत वर्ष काम सम्पन्नपछि भुक्तानीसमेत भइसकेको नगरपालिकाले जनाएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबाट गत वर्षको जेठ–१८ गते प्रतिमा अनावरण तथा पार्क उद्घाटन गर्ने योजना बनाइए पनि पहिचानपक्षधरहरूले अवरोध गरेपछि स्थगित भएको थियो ।

तपाईको प्रतिक्रिया