खोटाङ, ८ जेठ : किरात समुदायको उद्गमस्थल मानिने खोटाङको तुवाचुङ–जायजुममा तीन चुल्हाको पूजासहित बृहत् साकेला सिली प्रदर्शन गरिएको छ । किरात समुदायको महान चाड साकेला उँभौलीको अवसर पारेर तुवाचुङ–जायजुम संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा नछुङ (धामी)मार्फत मुन्दुमी प्रक्रियाअनुसार तीन चुल्हाको पूजाआजा गरेपछि बृहत् साकेला सिली प्रदर्शन गरिएको हो ।
चुल्हा पूजा तथा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रममा खोटाङ, उदयपुर, ओखलढुङ्गा, भोजपुर लगायत विभिन्न जिल्लाका किरात राई समुदाय भेला भएको तुवाचुङ–जायजुम संरक्षण समितिका महासचिव दिनेश राईले जानकारी दिनुभएको छ । “तुवाचुङ–जायजुम किरात समुदायको उद्गमस्थल हो । यहाँ हरेक वर्ष चुल्हा पूजा तथा बृहत् साकेला सिली प्रदर्शन गर्ने प्रचलन छ”, उहाँले भन्नुभयो, “ऐतिहासिकस्थल तुवाचुङ–जायजुमको स्तरोन्नतिले पर्यटकसमेत आकर्षित हुन थालेका छन् । यसलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनको दिगो विकास गर्नका लागि हरेक वर्ष किराती संस्कारअनुसार चुल्हा पूजा तथा बृहत् साकेला सिली प्रदर्शन गर्ने गरिएको हो ।”
यो वर्ष तुवाचुङ–जायजुममा आयोजना गरिएको तीन चुल्हा पूजा तथा बृहत् साकेला सिली प्रदर्शनीको औपचारिक उद्घाटन गायक राजेशपायल राईले गर्नुभएको छ । अमेरिकाबाट ‘राई ईज किङ’को उपाधिसमेत पाउनुभएका गायक राईले कार्यक्रम उद्घाटनपछि साकेला गीतहरु गाएर सहभागीलाई छमछमी नचाउनुभएको थियो ।
समुन्द्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा पर्ने पर्यटकीयस्थल तुवाचुङ–जायजुममा आयोजित कार्यक्रममा किरात राई समुदायको परम्परागत भेषभुषामा सजिएर अलग–अलग समूहमा ढोल, झ्याम्टा बजाएर साकेला गीत गाउँदै आएको र फर्किएको मनमोहक दृश्य देखिएको थियो । सङ्घ, प्रदेश र स्थानीय सरकारको लगानीमा तुवाचुङ–जायजुमको स्तरोन्नति तथा संरक्षणले थप आकर्षण बढाएको छ ।
पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएको किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुममा प्राकृतिकरुपमा रहेका रैछाकुलेको ढुङ्गाको मूर्ति र तान बुन्ने ढुङ्गा देख्न सकिन्छ । सोही ठाउँमा यो वर्ष तयामा र खियामाले तान बुन्दै गरेको कृतिम प्रतिमा (शालिक)समेत स्थापना गरिएको छ ।
किरात ऐतिहासिकस्थल तुवाचुङ–जायजुमलाई संरक्षण गर्न १५१ रोपनी जग्गा गरिद गरेर पदमार्गसहित ढुङ्गाको पर्खालले घेराबारा हालिएको छ । नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा ७२२ मिटर लामो पदमार्गसहितको पर्खाल लगाइएको हो ।
तुवाचुङ–जायजुममा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थल बन्दै गएपछि वि.सं. २०७४ मङ्सिर–२ गते किरातीको पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा समेत स्थापना गरिएको छ । किरात राई यायोख्खा केन्द्रीय समितिको पहलमा तीनजना किराती पुर्खाको प्रतिमा स्थापना गरिएपछि दर्शन गर्न र भ्रमण गर्न देश विदेशका किराती र गैंरकिराती पर्यटकको भीड लाग्ने गरेको छ ।
तुवाचुङ–जायजुममा नेपालका सबै जिल्ला तथा छिमेकी देश सिक्किम, दार्जिलीङ, भुटान लगायतका किरात समुदाय आउने गरेका छन् । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्य अन्तरगत मुन्दुम ट्रेल (पदमार्ग)मा पर्ने तुवाचुङ–जायजुममा किराती सभ्यताको अध्ययन तथा अवलन गर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
किरात राई समुदायको पुर्खा तायामा, खियामा र रैछाकुलेले कृषियुग र मानव सभ्यताको शुरुवात गरेको किंबदन्ती बोकेको ऐतिहासिकस्थलको रुपमा चिनिने तुवाचुङ जायजुममा हरेक वर्षको वैशाख पूर्णिमा र मङ्सिर पूर्णिमाको अवसरमा एक/एक पटक चुल्हाको पूजा गर्ने गरिएको तुवाचुङ–जायजुम संरक्षण समितिका अध्यक्ष राकेश राईले जानकारी दिनुभएको छ । ढोल, झ्याम्टाको तालमा साकेला गीत गाउँदै कोदोको चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामल लगायतका सामग्री प्रयोग गरेर तीन चुल्हा पूजा अर्थात् प्रकृतिको पूजा गरिएको हो ।
तुवाचुङ–जायजुमङमा आयोजना गरिने तीन चुल्हा पूजाा तथा बृहत् साकेला सिली प्रदर्शनीका लागि हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक बिदासमेत दिने गरेको छ । तुवाचुङ–जायजुमङ विश्वभरका किरात समुदायको उद्गमस्थल भएकाले यहाँ आयोजना गरिने तीन चुल्हा पूजा तथा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रमलाई ‘तुवाचुङ डे’का रुपमा मनाउन नगरपालिकाले हरेक वर्ष सार्वजनिक बिदा दिने व्यवस्था मिलाइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ ।
साकेला उँभौली ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म मनाउने चलन छ । साकेलाको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै साकेला गीत गाउँदै गोलो घेरामा साकेला सिली नाच्ने गरिन्छ ।
साकेला उँभौलीमा ‘अन्नबाली सप्रियोस्, रोगव्याधी नलागेस्, प्राकृति विपत्ति नपरोस्’ भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्दै महिना दिनसम्म चाड मनाउने चलन छ । किरात ऐतिहासिकस्थल मझुवागढीमा पूजाआजा गरेर औपचारिक रुपमा सुरु गरिने साकेला उँधौली भने, १५ दिनसम्म उनाउने गरिएको छ ।
वैशाख पूर्णिमादेखि सुरु भएको साकेला उँभौली अहिले किरात समुदायले आफ्नाृ गाउँबस्तीमा धुमामका साथ मनाइरहेका छन् । साकेला गीत र ढोलझ्याम्टाको तालले किरात गाउँबस्ती गुञ्जयमान बनेको छ ।


