एउटै वडाका ५२ काँग्रेस कार्यकर्ता नेकपा प्रवेश

Halesi Khabar
0 Shares

खोटाङ, १० फागुन । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीका ५२ जना नेपाली काँग्रेसका कार्यकर्ता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेको छ । नेकपा वडा कमिटिले शनिबार छितापोखरीबजारमा आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता भेला कार्यक्रममा काँग्रेसका गाउँपालिका सदस्य पूर्णबहादुर खड्का सहित ५२ जना नेता तथा कार्यकर्ता प्रवेश गरेका हुन् ।

नेकपा वडा कमिटि वडाध्यक्ष छत्रबहादुर खड्का ‘कवित’को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवम् पार्टीका केन्द्रीय विशाल भट्टराई नवप्रवेशी नेता तथा कार्यकर्तालाई अबिर लगाएर स्वागत गर्नुभयो । नेकपाका जिल्ला सचिव रामप्रसाद दंगाल, कार्यालय सदस्य दिपक पाण्डे ‘आकाश’ लगायतको उपस्थितिमा भएको कार्यक्रममा काँग्रेसका वडा सदस्य टीका थापा, देवराज थापा, सम्शेरबहादुर भुजेल, राधादेवी तामाङ, भीमबहादुर खड्का, केशव थापा, अमृत खड्का, निकाश तामाङ लगायत ५२ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गर्नुभएको दिप्रुङ चुइचुम्मा गाउँपालिका पार्टी सचिवालय सदस्य दिपक पौडेलले जानकारी दिनुभयो ।

कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि भट्टराईले सुखी नेपाली, समृद्ध नेपालको सपना नेकपा नेतृत्वको सरकारले मात्र साकार पार्ने ठोकुवा गर्नुभयो । “देशको विकास नेकपा नेतृत्वको सरकारले मात्र पूरा गर्न सक्छ”, उहाँले भन्नुभयो, “तपाईहरु ढुक्क हुनुहोस्, देश विकासको गतिमा गइसक्यो ।”

कार्यक्रममा नवप्रवेशी नेता तथा कार्यकर्तालाई पार्टीको नीति र कार्यदिशा अनुसार अडिक भएर अगाडि बढ्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले आफ्नो क्षेत्रको विकास जोड दिन भट्टराईलाई अनुरोध गरेका थिए ।

यसैबीच, सप्तेश्वर छितापोखरीका स्थानीयवासीले प्रतिनिधिसभा सदस्य भट्टराईलाई सम्मान गरेका छन् । वि.सं. २०२१ सालमा स्थापना भएको प्रहरी चौकी यथास्थानमा राख्न विशेष पहल गरेको भन्दै सम्मान गरेको हो ।

तपाईको प्रतिक्रिया