कोशीमा प्याराग्लाइडिङ प्रवद्र्धनका लागि नयाँ नेतृत्व चयन

Minakshi Rai

खोटाङ, १६ वैशाख । नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग्‌लाइडिङ संघ, कोशी प्रदेश समितिको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

साहसिक खेल क्षेत्रलाई सशक्त बनाउने उद्देश्यसहित धरानमा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यदिशा तय गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव दुर्गा प्रसाद सिग्देलले कोशी प्रदेशमा प्याराग्लाइडिङजस्ता साहसिक खेलहरूको सम्भावना अत्यन्त उच्च रहेको उल्लेख गर्दै यसको व्यावसायिक विकासले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनामा टेवा पुग्ने बताउनुभएको छ ।

संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा पूर्व संविधानसभा सदस्य किरण कुमार राईको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचन समितिका संयोजक मान भगत चाम्लिङका अनुसार अध्यक्षमा कृष्णबहादुर राई, उपाध्यक्षमा शालिकराम खड्का, सचिवमा धनकुमार लिङ्खिम (लिम्बू), सह–सचिवमा धनकुमार राई तथा कोषाध्यक्षमा झर्ना पौडेल (मुखिया) चयन हुनुभएको छ ।

सदस्यहरूमा अमृता राई, ताराहाङ मादेन, विद्या राई, उमेश राई, विजय राई र ज्ञानप्रसाद राई चयन हुनुभएको छ भने बाँकी दुई सदस्य पछि मनोनयन गरिने जनाइएको छ । नव निर्वाचित कार्यसमितिलाई केन्द्रीय वरिष्ठ उपाध्यक्ष राईले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष भूपेन्द्र चाम्लिङ राई (भुपाल), केन्द्रीय सदस्य मिलन तामाङ, जिल्ला अध्यक्ष रोशन अधिकारी, सचिव टिकाराम राईलगायतको उपस्थिति रहेको थियो ।

प्राकृतिक सौन्दर्य, पहाडी भू–बनावट र अनुकूल हावाको बहावका कारण कोशी प्रदेश प्याराग्लाइडिङका लागि उपयुक्त गन्तव्य मानिँदै आएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै जाँदा यस खेललाई व्यवस्थित, सुरक्षित र व्यवसायिक बनाउनेतर्फ संघले विशेष जोड दिएको जनाएको छ ।

नव निर्वाचित कार्यसमितिले कोशी प्रदेशलाई नेपालकै प्रमुख साहसिक खेल गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित प्रशिक्षण, पूर्वाधार विस्तार तथा व्यवसायिक प्रवद्र्धनका योजना अघि सारेको जनाएको छ ।

तपाईको प्रतिक्रिया