जन्तेढुङ्गा गाउँपालिकाका वर्ष उत्कृष्ट तीन कर्मचारीसहित आठजना पुरस्कृत

Minakshi Rai

खोटाङ, ३० जेठ । जन्तेढुङ्गा गाउँपालिकाले यस वर्षको ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार’ तीन जना कर्मचारीलाई प्रदान गरेको छ । पुरुष कर्मचारीतर्फ गाउँपालिकाको कार्यालय चिसापानीमा कार्यरत अधिकृत छैटौँ भीम मगर, महिला कर्मचारीतर्फ वडा कार्यालय बोपुङमा कार्यरत वडासचिव जिना राई र गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी दिनेश विष्ट पुरस्कृत हुनुभएको हो ।

पुरस्कृत हुने कर्मचारी तथा कार्यालय सहयोगीलाई जनही नगद रु दश/दश हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिनुभएको छ । गाउँपालिकाले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर माध्यमिक परीक्षा (एसइई) उत्तीर्ण गर्ने छात्रछात्रासहित पाँच विद्यार्थीलाई समेत पुरस्कृत गरेको छ ।

गत वर्ष सम्पन्न एसइईमा ३.५१ जिपिए ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी माध्यमिक विद्यालय बोपुङका छात्रा दीपशिखा राई र ३.३२ जिपिए अङ्क ल्याएर उत्तीर्ण गर्ने सोही विद्यालयका सुनिल कटुवाललाई नगद रु दश/दश हजारको साथमा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । यस्तै, जिल्लास्तरीय परीक्षा (डिएलई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने तीन जना विद्यार्थीलाई समेत पुरस्कृत गरिएको छ ।

डिएलईमा ३.६२ जिपिएर ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी माध्यमिक विद्यालय बोपुङकी ग्रिष्मा राई र ३.६ जिपिए अङ्क ल्याएर उत्तीर्ण गर्ने सोही विद्यालयका अविनाश राईलाई जनही नगद रु दश/दश हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ । डिएलईमै अविनाशसँग समान ३.६ जिपिए अङ्क ल्याएर उत्तीर्ण गर्ने चिसापानी नमूना माध्यमिक विद्यालयका छात्र संयोग पोखरेललाई समेत नगद रु दश हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा उत्कृष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’, उपप्रमुख खेमबहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत सुमन गुराइँले पुरस्कृर वितरण गर्नुभएको छ । गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा राजनीतिक दल, शिक्षक, विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाको कार्यालयमा कार्यरत विभिन्न शाखा प्रमुखहरुले आ–आफ्नो शाखाबाट सम्पादन भएका प्रगति विवरण तथा बजेट प्रस्तुत गर्नुभएको थियो । कार्यालयले प्रस्तुत गरेको प्रगति विवरणमा भौतिक प्रगति ७५ प्रतिशत तथा आर्थिक प्रगति ६४ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

भ्यूज अफ नेपाल मिडिया प्रा.लि.ले सहजीकरण गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी वक्ताहरुले गाउँपालिकाको कार्यालयको सेवा प्रवाह सन्तोषजनक रहेको बताएका छन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नं. २ बोपुङका पूर्ववडाध्यक्ष गणेश विष्ट र वडा नं. ६ दिप्लुङस्थित निगालावासमा सञ्चालित पुमा सामुदायिक होमस्टे (घरवास)का सचिव दीपक राईले मात्र जिज्ञासा राख्नुभएको थियो ।

भ्यूज अफ नेपाल मिडिया प्रा.लि.ले छवटै वडामा पुगेर गरेको नागरिक सर्वेक्षणमा समेत गाउँपालिकाको कार्यालय तथा वडा कायर्यालयले नागरिकलाई दिने सेवा प्रभावकारी रहेको निष्कर्ष निस्किएको थियो । गाउँपालिकाले तेस्रो चौमासिकको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रम एकैसाथ आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया