खोटाङ, २८ जेठ । हलेसी तुवाचुङ नगरपालिकाले घरबार विहीन विपन्न घर परिवारका लागि जस्तापाताको छानासहितको भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गरेको छ । बिहान/बेलुकाको छाक टार्नसमेत धौधौ पर्ने वडा नं.–१० अर्खौलेस्थित नागीका टेकबहादुर सार्कीको परिवारलाई नगरपालिकाले नयाँ भूकम्प प्रतिरोधी दुई कोठे घर निर्माण गरेर हस्तान्तरण गरेको हो ।
सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत नगरपालिकाका तीन घर विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरेर हस्तान्तरण गर्ने कार्यक्रमअनुसार निर्माण सम्पन्न भएको टेकबहादुर सार्कीको परिवारलाई नयाँ भूकम्प प्रतिरोधी घर हस्तान्तरण गरिएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । “नगरपालिकाभित्रका नागरिकको सुरक्षित आवासको सुनिश्चितताको लागि तीन विपन्न परिवारका लागि भूकम्प प्रतिरोधी नयाँ घर निर्माण गरिएको छ । जीर्ण घरमा बस्दै आएका मङ्गलटारका भया दमाई र डिकुवाका देशवीर राईको लागि पनि नयाँ घर निर्माण सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “बाँकी दुई परिवारलाई समेत चाँडै औचारिक रुपमा हस्तान्तरण गर्ने तयारीमा छौँ । आफ्नो घर अभावमा अरुको सहारामा बस्दै आएका सबै परिवारलाई सुरक्षित आवासको सुनिश्चितता कायम गरिनेछ ।”
अरुको घरमा सहारा लिएर बस्दै आएका सार्की परिवारलाई नगरपालिकाले दुईकोठे भूकम्प प्रतिरोधी घर निर्माण गरेर बिहीबार उपलब्ध गराएपछि हर्षित भएका छन् । आफ्नो घर नभएपछि फिरन्ते जीवन बिताउँदै आएका सार्की परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर उपलब्ध गराएपछि हर्षित भएका हुन् ।
नगरपालिकाको १३६ औँ कार्यपालिकाको बैठकले विपन्न तीन परिवारलाई भूकम्प प्रतिरोधी घर निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको थियो । नगर कार्यपालिकाको निर्णयअनुसार अर्खौलेका टेकबहादुर, मङ्गलटारका भया दमाई र डिकुवाका देशवीर राईका लाागि प्रति परिवार रु पाँच लाख बराबरको लगानीमा घर निर्माण गरिएको नगरप्रवक्ता एवम वडा नं. ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ ।
अर्खौले जन्मस्थान भइ करिब १२ वर्षदेखि गाउँ बाहिर विभिन्न ठाउँका स्थानीयको घरमा बस्दै आएका सार्की परिवार गत भदौमा आफ्नो गाउँ फर्किएका थिए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ बस्दै आएको समयमा गत साउन–२९ गते १२ वर्षीय छोरी झुण्डिएको अवस्थामा मृत भेटिएपछि सार्की परिवार आफ्नो गाउँ फर्किर अर्खौलेमा अरुको घरमा बस्दै आएका थिए ।
गाउँ फर्किएको समयमा सार्की परिवारलाई नगरपालिकाले खाद्यान्य र नगदसमेत सहयोग गरेको थियो । दैनिक ज्यालादारी तथा बनीबुतोको काम गरेर परिवार पाल्दै आउनुभएका टेकबहादुरको श्रीमती र दश वर्षीय छोरा छन् ।
हलेसी तुवाचुङ नगरपालिकाले राजधानी काठमाडौँ तथा तराईको विभिन्न जिल्लामा अस्थायीरुपमा बसोवास गर्दै आएको अवस्थामा घरटहरा हटाइएपछि विस्थापित नगरवासीलाई समेत घर निर्माण गरिदिने भएको छ । राजधानी काठमाडौँमा बस्दै आएको अवस्थामा नेपाल सरकारले घरटहरा भत्काइदिएपछि विस्थापित बनेका तीन परिवारले पुनः स्थापनाका लागि आफ्नै नगरपालिकामा घर निर्माण गरिदिन निवेदन दिएको नगरप्रमुख राईले जानकारी दिनुभएको छ ।
विस्थापित परिवारहरु आफ्नो नगरपालिका फर्किएर स्थायीरुपमा बसोवास गर्न चाहेको खण्डमा उनीहरुका लागि रु पाँच लाख बराबरको लगानीमा भूकम्प प्रतिरोधी घर निर्माण गरिदिने नगरपालिकाले जनाएको छ । पुनः स्थापित हुन चाहने घरपरिवारका लागि घर निर्माण गर्न उनीहरुको नाममा जग्गा भने हुनुपर्ने जनाइएको छ ।


