खोटाङ, २९ वैशाख । खोटाङलाई पूर्वी तराईसँग सिधा यातायात सम्पर्कमा जोड्ने सुनकोशीस्थित बङ्शिलाघाटको अस्थायी बेलिब्रिज हटाउन थालिएको छ भने, फोक्सिङटारको तयारी गरिएको छ । केही दिनदेखि निरन्तर वर्षा भएसँगै सुनकोशीमा पानीको बहाव बढेपछि दुवै ठाउँको अस्थायी बेलिब्रिज हटाउन थालिएको हो ।
फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालेपश्चात् पूर्वी तराईका विभिन्न जिल्लासँग खोटाङको सिधा यातायात सम्पर्क करिब छ महिना टुट्ने गरेको छ । फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालेपछि खोटाङ्गेको दुःखका दिन पुनः दोहोरिने भएको छ ।
मौसम परिवर्तनसँगै निरन्तरको वर्षाले सुनकोशीमा पानीको सहत बढेसँगै वैशाख–२७ गते (आइतबार)बाट बेलिब्रिज निकाल्न थालिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख विनम दाहालले जानकारी दिनुभएको छ । बङ्शिलाघाटमा पहिलो पटक गत माघ–२४ गते बेलिब्रिज जडान गरेर सिधा यातायात सञ्चालन गरिएको थियो ।
बङ्शिलाघाटस्थित सुनकोशीमा जडान गरिएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको थियो । खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने बङ्शिलाघाटस्थित सुनकोशीमा पहिलोपटक अस्थायी बेलिब्रिज जडान गरिएको हो ।
बङ्शिलाघाटको अस्थायी बेलिब्रिजले खोटाङका जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही गाउँका नागरिकलाई तराई आवतजावतमा सुविधा दिएको थियो । बङ्शिलाघाटको अस्थायी बेलिब्रिज हटाएपछि करिब छ महिना झोलुङ्गे पुलमार्फत पूर्वी तराईका जिल्ला आवतजावत गर्नुपर्ने बाध्यता पुनः दोहोरिएको स्थानीय युवराज मगरले जानकारी दिनुभएको छ ।
बङ्शिलाघाटको अस्थायी बेलिब्रिजका लागि आवश्यक सामग्री कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले रु एक करोड ८७ लाख बजेटमा खरिद गरी पूर्वाधार विकास कार्यालय खोटाङलाई हस्तान्तरण गरेको थियो । बेलिब्रिज गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्रालि रौतहटले मूल्य अभिवृद्धि करसहित ५७ लाख बजेटमा जडान गरेको हो ।
पूर्वाधार विकास कार्यालय खोटाङसँगको सम्झौताअनुसार सोही निर्माण कम्पनीले बेलिब्रिज निकाल्ने काम सुरु गरेको छ । वैशाख मसान्तपश्चात् दुवै ठाउँबाट झोलुङ्गे पुलको सहारामा सुनकोशी वारपार गर्नुपर्ने नागरिकको बाध्यता हुने भएको छ ।
बङ्शिलाघाटमा मोटरेबल पक्की पुल निर्माणका लागि रु १९ करोड १८ लाख ४१ हजार ४०० लागतमा ३३ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी कालिका–वेदांसी जेभीले सम्झौता गरेको छ । वि.सं. २०७९ मङ्सिर–१ गते सम्झौता गरेर निर्माण सुरु गरिएको मोटरेबल पुल निर्माणमा ठेकेदार कम्पनीको चरम लापरबाहीले ढिलासुस्ती भएको स्थानीयले आरोप लगाएका छन् ।
फोक्सिङटारको अस्थायी बेलिब्रिज वैशाख मसान्तबाट पूर्णरूपमा यातायात बन्द गरेर निकाल्ने तयारी गरिएको गाईघाट दिक्तेल सडक योजना कार्यालयका सूचना अधिकारी ईन्जिनियर सुमन गोलेले जानकारी दिनुभएको छ । सगरमाथा लोकमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको बेलिब्रिज गत पुस–२७ गतेबाट सञ्चालनमा ल्याइएको थियो ।
फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्ने ठेक्का एमए/एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रा.लि.कटारी–३, उदयपुरले लिएको थियो । ठेकेदार कम्पनी एमए/एस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रा.लि.कटारीले मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ९६ लाख ७७ हजार ९३७ मा जडान र निकाल्नेगरी ठेक्का सम्झौता गरेको हो ।
खोटाङको खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५, आँपटार जोड्ने फोक्सिङटारस्थित सुनकोशीमा निर्माण गरिएको मोटरेबल पुल गत वर्ष असोज १२ गतेको बाढीले बगाएपछि अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने अवस्था आएको छ । अस्थायी रूपमा जडान गरिएको फोक्सिङटारको बेलिब्रिज पनि निकालेसँगै आगामी जेठ–१ गतेबाट सिधा यातायात टुट्ने भएको हो ।
फोक्सिङटारमा पुनः मोटरेबल पक्की पुल निर्माणका लागि आवश्यक बजेट सुनिश्चित भएको बताइए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढेको छैन । फोक्सिङटारमा मोटरेबल पक्की पुल पुनः निर्माण नभएसम्म खोटाङवासीको समस्या यथावत रहने उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ ।


