खोटाङ, २४ वैशाख : करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकैदिन दुईजना पुरुषको मृत्यु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४५ वर्षीय सुनिल कार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।
गाउँमा विस्तार गरिएको विद्युत अवरुद्ध भएपछि पुनः सञ्चालन गर्नका लागि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको समयमा करेन्ट लाग्दा आनन्दको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले जानकारी दिनुभएको छ । तीन छोरा र एक छोरीको बुबा आनन्दको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
उता, महादेवस्थानका सुनिलको बाढीले अवरुद्ध गरेको खानेपानीको मुहान सफा गर्न जाँदा भीरबाट लडेर मृत्यु भएको महादेवस्थानका वडाध्यक्ष एवम् हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभएको छ । वडा नं. ५ र ७ को सीमानामा पर्ने रावापानी मुहान सफा गर्न बुधबार दिउँसो घरबाट हिँडेका सुनिल भीरबाट लडेर करिब २५ मिटर तल मृत फेला परेको हो ।
बेलुका अबेरसम्म घर नफर्किएपछि खोजी गर्नेक्रममा साँझ मृत फेला पारिएको सुनिलको शव पनि परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभएको छ । दुई छोरा र दुई छोरीको बुबा मृतक सुनिल त्रिधार्मिकस्थल हलेसी बजारमा लक्ष्मी होटल सञ्चालन गर्दै आउनुभएको थियो ।
अधबैँसे उमेरका आनन्द र सुनिलको दुर्घटनामा परेर ज्यान गएपछि परिवारका सदस्यको बिचल्ली भएको छिमेकीहरुले बताएका छन् । एउटै दिन एउटै उमेर समूहका दुई पुरुषको फरक–फरक दुर्घटनामा मृत्यु भएपछि उनीहरुको गाउँ शोकमग्न भएको छ ।


