खोटाङ, २३ वैशाख । सात वर्षअघिदेखि खोटाङमा नियमित प्रकाशन हुँदै आएको तुवाचुङ साप्ताहिक पत्रिकाले यस वर्ष कवि, लेखक तथा पत्रकार सोनाम सज्जन किरातीलाई पुरस्कृत गर्ने भएको छ । हलेसी तुवाचुुङ नगरपालिकालाई आधारभूमि बनाएर नियमित प्रकाशन हुँदै आएको साप्ताहिक पत्रिकाले नगद रु १५ हजार १५ राशीको ‘तुवाचुङ साप्ताहिक पुरस्कार–२०८३’ कवि, लेखक तथा पत्रकार किरातीलाई प्रदान गर्ने भएको हो ।
कविता, लेख तथा पत्रकारिताको क्षेत्रबाट समाज सुधारमा पुर्याउनुभएको योगदानको कदरस्वरुप किरातीलाई यस वर्षको ‘तुवाचुङ साप्ताहिक पुरस्कार–२०८३’ प्रदान गर्ने निर्णय गरिएको तुवाचुङ साप्ताहिकका प्रकाशक/सम्पादक दिपेन्द्र राईले जानकारी दिनुभएको छ । घोषित पुरस्कार पत्रिकाको वार्षिकोत्सव अर्थात ‘तुवाचुङ डे’मा आगामी साउन–४ गते त्रिधार्मिकस्थल हलेसी आयोजना गरिने विशेष कार्यक्रममा प्रदान गर्ने तयारी गरिएको पत्रिकाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित दाम्ली निवासी किरातीका संस्मरणात्मक पुस्तक ‘जनयुद्धमा बितेका पल–२०८०’ र कविता सङ्ग्रह ‘नपुङ्सक स्वर्गको विरुद्ध आगो–२०७२’ प्रकाशित रहेका छन् । वास्तविक नाम देवराज राई भएका किराती साहित्यमा सोनाम सज्जन किरातीको नामले परिचित हुनुहुन्छ ।
ग्रामीण पत्रकारिताको लक्ष्य बोकेर वि.सं. २०७५ साउन–४ गतेदेखि प्रकाशन सुरु गरिएको तुवाचुङ साप्ताहिक पत्रिकाले आवाजविहीनको आवाजलाई प्राथमिकतामा राख्दै आएको छ । समाजमा रहेका वेथिति र बिसङ्गतीविरुद्ध ‘खरो’ समाचार प्रस्तुत गर्ने पत्रिकाले तुवाचुङ डटकम न्यूज पोर्टल पनि सञ्चालन गर्दै आएको छ ।
प्रत्येक वर्षको साउन–४ गते वार्षिकोत्सव मनाउँदै आएको साप्ताहिक पत्रिकाले हालसम्म विभिन्न विद्यामा उल्लेख्य काम गर्ने २७ जनालाई नगद रु चार लाख पाँच हजारसहित पुरस्कृत गरिसकेको छ । तुवाचुुङ साप्ताहिक पत्रिकाले जिल्लामा क्रियाशील अग्रज पत्रकारहरुलाई यसअघि नै पुरस्कृत गरिसकेको छ ।
वर्गीकरणका लागि पेश गरिएको पहिलो वर्ष नै (क)मा परेको तुवाचुङ साप्ताहिक पत्रिकाले ग्रामीण भेगमा बसोवास गर्दै आएका स्थानीयको समस्या, उपलब्धि तथा चुनौतीलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएको छ । तुवाचुङ साप्ताहिक पत्रिकामा प्रकाशन भएका समाचारले लामो समयदेखि समाजमा जकडिएर रहेको समस्या समाधान तथा धेरै क्षेत्रका मानिसलाई सजकसमेत बनाएको उदाहरण छन् ।


