ग्रामीण महिलाको बोल्ने क्षमताको विकास गर्न भाषणकला तालिम

Minakshi Rai

खोटाङ, २० वैशाख । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका महिलालाई उद्घोषण, भाषणकला तथा क्षमता विकास तालिम दिइएको छ । ग्रामीण भेगमा बसोवास गर्दै आएका महिलालाई लक्षित गरेर कालिका वडास्तरीय महिला समूहको आयोजना तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा उनीहरुलाई दुई दिने तालिम प्रदान गरिएको हो ।

नगरपालिकाको सभाहलमा आयोजित तालिममा समूहमा रहेका २९ जना महिलाको सहभागिता रहेको समूहकी अध्यक्ष पार्वती आचार्यले जानकारी दिनुभएको छ । ग्रामीण भेगमा बसोवास गर्ने महिलालाई भाषण गर्ने शैली र नेतृत्व विकास अति आवश्यक देखिएकाले तालिमको आयोजना गरिएको अध्यक्ष आचार्यले बताउनुभएको छ ।

समापन कार्यक्रम बोल्दै तालिममा सहभागी शर्मिला आचार्यले बोल्ने बानी नहुँदा आफूलाई लागेको कुराहरू पनि व्यक्त गर्न नसक्दा समस्या भएको र आगामी दिनमा ढुक्कसँग बोल्नसक्ने हिम्मत बढेको बताउनुभएको छ । बोल्ने बानीको विकास नहुँदा सङ्घसंस्थामा नेतृत्व गर्ने अवसरबाट समेत वञ्चित हुनुपर्ने अवस्थामा तालिमले आत्मबल बढाएको आचार्यले प्रतिक्रिया दिनुभएको छ ।

तालिम समापन कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै कार्यपालिका सदस्य अन्जना बस्नेत (के.सी)ले आफ्नो क्षमता बढाउनका लागि पनि महिलामा भाषणकला हुनुपर्ने बताउनुभएको छ । “समुदायमा पद अनुसारको जिम्मेवारी र विभिन्न सार्वजनिक कार्यक्रममा समेत भाषण गर्ने शैली राम्रो हुनेलाई अवसरको कुनै कमी हुँदैन । नेतृत्वमा पुग्नका लागि आफ्नो व्यक्तित्व विकास सबैभन्दा ठूलो सम्पत्ति हो”, उहाँले भन्नुभयो, “हामीले आफ्नो कुरा निर्धक्कसँग राख्नसक्दा ठूलो उपलब्धि हाँसिल गर्न सकिन्छ । त्यसैले आफ्नो क्षमता बढाउनका लागि पनि महिलामा भाषणकला हुन आवश्यक छ ।”

तालिममा उद्घोषण, भाषणकला, नेतृत्व विकास सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञानका साथै माइन्यूट लेखनका बारेमा जानकारी दिइएको थियो । संविधानसभा सदस्य दुर्गाजयन्ती राईले सहजीकरण गर्नुभएको तालिममा सफल नेतृत्व कसरी गर्ने लगायत प्रयोगात्मक अभ्याससमेत गराइएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया