उर्जाविहीन उँभौलीको दिन

Halesi Khabar

– तीर्थराज भट्टराई
आज २०८३ वैशाख-१८ गते शुक्रबार उँभौली चाड । प्रकृति पूजकहरूको जीवनमा नयाँ आशा, ऊर्जा र पुनर्जागरणको दिन। तर, आजको मेरो दिन भने उज्यालो होइन गहिरिएर अँध्यारो बनेर आयो। आकाश धुम्मिएको थियो । बादल बाक्लिएका थिए । पानी परिरहेका थोपाहरू मानौँ मेरो मनको वेदनाको प्रतिध्वनि थिए। वातावरण जस्तै मेरो मन पनि धुमिल थियो । खुशी थिएन मन पटक्कै । जीउ भारी भएको थियो ।
केहि दिनदेखि अशान्त मनलाई शान्त बनाउन सकिरहेको थिइन । अस्पष्ट, अशान्त र रोइरहेको थियो भावना । म चाहन्थें आज बुइपाको पञ्चदोबाटोमा बनेको यलम्बरको शालिक अनावरण होस् । इतिहासले नयाँ पाना लेखोस् । समाज एकताको धागोमा अझ मजबुत रूपमा बाँधियोस्। तर, त्यो सम्भव भएन। सहमतिको प्रयासहरू क्रमशः असफल हुँदै जाँदा अन्ततः म आफैँलाई मनमनै अक्षम घोषित गर्दै गहिरो आत्मग्लानिमा डुबेँ।

अधुरो सपनाको बोझ
यलम्बरको शालिक केवल एक संरचना थिएन । त्यो खोटाङ्गेहरूको सपना थियो । एक साझा पहिचान, एकता र सम्मानको सपना । थियो पर्यापर्यटनको विकास गरेर नागरिकलाई समृद्ध बनाउने ठूलो लक्ष्य । वर्षौँको प्रयास, अलपत्र हुन लागेको योजना सहकार्य र समर्पणले बनेको त्यो प्रतिमा आज उद्घाटनको प्रतीक्षामा उभिएको थियो। प्रतिमा जस्तै मेरो मन पनि आज मौन थियो । सामाजिक सञ्जालको कोकोहोलो होइन एकान्त र शान्ति खोजिरहेको मेरो भावनामा तुसारोपात भयो । कठै त्यो निश्चल शालिक अनावरण हुन नपाएर अपूर्णताको पीडामा बाँधिएको थियो । के थहा शालिकलाई उनका नाममा राजनीति हुन्छ भन्ने । दर्जनौँ सहमतिको प्रयास भए । सम्वादका अनेकौँ ढोका खोलिए । तर, अन्ततः सबै प्रयासहरू असफल भए। त्यो असफलता केवल प्रक्रियाको असफलता थिएन । मलाई मेरो आत्माको हारजस्तै ग्लानी भयो । म आफैँलाई दोष दिन थालेँ, सायद म अझ सक्षम हुनुपर्थ्यो । अझ स्पष्ट र दृढ हुनुपर्थ्यो। आज त्यो सालिक त उभिएकै छ । तर, मेरो शीर र मन दुवै ढलेको अनुभूति भइरहेको छ । त्यो संरचना बलियो छ । तर, मेरो कमजोर भएको आत्मालाई दर्विलो बनाउने कोशिस गरिरहेको छु ।

वर्तमानमा समाजको टुट्दो ऐना

आजको घटनाले समाजको एउटा कटु यथार्थलाई उजागर गर्‍यो। सामाजिक सद्भाव हामीले जोगाइराख्नुपर्ने थियो । झण्डै भत्काउने प्रयासहरू भयो। जातीय र सांस्कृतिक द्वन्द्वको आगो सल्काउने शब्दहरू फैलाइए। सामाजिक सञ्जालमा व्यक्त गरिएका तल्लोतहका गालिगलौजका शब्दहरूले मन झन् आहत बनायो। व्यक्त भएका शब्दहरू केवल आलोचना मात्र थिएनन् । ती घाउ थिए । गहिरा, चसक्क दुख्ने र चुपचाप सहनुपर्ने अवस्था आयो । मलाई थाहा छ त्यस्तो भाषा प्रयोग गर्नु न मेरो संस्कारमा पर्छ, न म त्यसको जवाफ त्यही शैलीमा दिन सक्छु। म चुप लागेँ तर, त्यो मौनता कमजोरी थिएन ।

मेरो संस्कारको सम्मान र जिम्मेवारीको भारीको बाेझिलो हतियार थियो। जिउॅदो मानिसलाई श्रध्दाञ्जली र चारपाटा मुडेर भञ्ज्याङ कटाउने शब्दले मन मस्तिष्कमा घोचि रह्यो । चुपचाप लाग्दा पीडा कम हुने कुरै भएन। बरु भित्रभित्रै आँसुको भेल बढ्दै गयो। समाजका केहि उच्छृङ्खल पात्रको ऐना फुटेको जस्तो लाग्यो । त्यहॅाबाट एकता होइन विभाजन झल्किन थाल्यो। तर, म घर नजिकै ठडिएको निश्चल रूख झैँ मौनता साँधिरहेँ । उपप्रमुख विशन राईले बेलाबेला शब्दवाण ओकल्नुभयो । शालिन ढङ्गले विचारमार्फत तोर र गोलावारूद बर्साउनुभयो । त्यो केवल सहिष्णुता र एकताको सूत्रमा बॅाध्ने अस्त्र थियो । भॅाडिएको सामाजिक सञ्जाललाई लयमा फर्काउने प्रयत्न थियो ।

अशान्त मन र रुँदै गरेको प्रकृति

आजको मौसमले मेरो मनको अवस्था झल्काइरहेको थियो। आकाश रोइरहेको थियो । धरती भिजिरहेको थियो । र…. म भित्रभित्रै भक्कानिएर रोइरहेको थिएँ। पानीका हरेक थोपा मेरो आँखाबाट झर्ने आँसुजस्तै लाग्थे। बादलको गडगडाहट मेरो भित्रको असन्तोष जस्तो सुनिन्थ्यो। प्रकृति र म बीच एउटा अदृश्य सम्वाद भइरहेको थियो । दुवै पीडा, मौन थिए तर, भावुकतामा बोलिरहेका। आजको उँभौली चाड मेरो लागि उत्सव र उल्लासमय दिन हुनुपर्थ्यो । पक्कै भएन मेरो लागि रून्चे हॅासोको दिन बन्यो। जुन मनमा नाचगान र खुशी हुनुपर्थ्यो । त्यहाँ मौनता र वेदना थियो। म भक्कानिएँ। त्यो रोदन बाहिर देखिएन होला । भित्र गहिरो थियो- अथाह अवर्णनीय। शब्दहरूले व्यक्त गर्न नसक्ने तर, आत्माले गहिरो पीडा महसुस गर्ने ।

अपशोचको गहिरो छाया

आजको दिनले मेरो मनमा गहिरो अपशोच छोडेर गयो। यदि म अझ राम्रोसँग समन्वय गर्न सक्थेँ भने ? यदि म अझ धैर्यवान् हुन सक्थेँ भने ? यदि म सबैलाई अझ राम्रोसँग बुझ्न सक्थेँ भने यो अवस्था आउन्नथ्यो । यी कल्पनाहरूले मेरो मनलाई झन् भारी बनाइरहेको छ । समय फर्काउन सकिने भए सायद म केही सहमति गर्थें होला। वडाअध्यक्ष दिनेश राईको मनमा उठेका भाव र असजिलोलाई मैले चिर्नुपर्थ्यो तर सकिन । उनी पनि निर्दोष छन् । दिएको वचन र नालबाट निक्लिएको गोली फर्कंदैन भन्ने मूल्य र मान्यतामा अडिग छन् । उनको पहिचान पनि त्यही हो । यी र यस्तै हाम्रा स्वभाव र परिस्थितिले त आज निष्कपट दिनमा परिणत गऱ्यो हामी सबैलाई ।

समय कहिल्यै फर्किंदैन । केवल सम्झनाहरू छोडेर जान्छ । कहिलेकाहीँ पीडादायी दिन त कहिले शिक्षाप्रद। यो हाम्रो समय पीडादायी र शिक्षाप्रदको ठूलो संगालो बनेको छ । आज म खुशी र उत्साहित छैन। म केवल वेदनामा डुबेको छु । आँसुको पोखरीमा जहाँ सपनाहरू डुबिरहेका छन् । तर, ….. यही अपशोचले मलाई भित्रैदेखि झकझक्याइरहेको छ। सायद यही पीडाले भोलिको मार्ग र यही वेदनाले मलाई अझ गहिरो, संवेदनशील र सशक्त बनाउनेछ। मनलाई दर्विलो बनाउॅदै एकताको सूत्रमा बॅाध्ने उच्च सोचबाट जिम्मेवारी निर्वाह गर्नुको छैन विकल्प मसॅग ।

निष्कर्ष

आजको उँभौली चाड मेरो जीवनको एउटा अविस्मरणीय दिन बनेको छ । त्यो खुशीको कारणले होइन, पीडादायी संस्मरणका कारणले। एलम्वरको सालिक अनावरण हुन सकेन । त्यसले मेरो मनमा गहिरो र भावि जिम्मेवारीको वोझ छोडेर गयो। आँसुका यी थोपा व्यर्थ छैनन्। यी भावनाहरू पीडा र अपशोच मात्र होइन उज्वल भविष्यका लागि ठूलो ग्रन्थ हुन् । यी सबै घटनाक्रमले भोलिको लागि नयाँ आधार तयार गरिरहेका छन्। म अझै रोइरहेको छु – शब्दहरूमा होइन भावनामा।

यो रोदन अन्त्य होइन, यो एउटा भावनात्मक एकताको सूत्रमा बॅाध्ने सङ्केत पनि हुन सक्छ। आज म ढलेको छु तर, सबैको साथ र सहयोगले भोलि उठ्नेछु। आज म रोएको छु तर भोलि हातेमालो गर्दै मुस्कुराउने प्रयास गर्नेछु। किनकि पीडाभित्रै आशा लुकेको हुन्छ । आँसुको गहिराइमै नयाँ उज्यालो जन्मिन्छ। सामाजिक सद्भाव जोगाऔँ र सबैको साझा मिलन बिन्दुको खोजि गरेर मुस्कुराउॅ । अस्तु ।
(स्तम्भकार- दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख हुनुहुन्छ ।)

तपाईको प्रतिक्रिया