पङ्खुखोलामा आएको बाढीले दिक्तेल–चखेवाभञ्ज्याङ सडक तीनदेखि अवरुद्ध

Minakshi Rai

खोटाङ, २९ जेठ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोलामा बुधबार राति आएको बाढीले सडक बगाउँदा दिक्तेल–चखेवाभञ्ज्याङ सडक अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल–चखेवाभञ्ज्याङखण्डमा सडकभन्दा माथिबाट झरेको पहिरोसहितको बाढीले करिब ५० मिटर सडक बगाएपछि तीन दिनदेखि यातायात सेवा अवरुद्ध भएको हो ।

मोटरेबल पक्की पुल निर्माणाधीन अवस्थामा रहेको पङ्खुखोलामा सडकमाथिबाट आएको बाढीले खोलेर ठूलो खाडल बनाएपछि पैदल यात्रुसमेत वार–पार गर्न सक्ने अवस्था छैन । लेदोसहितको बाढीले सडक बन्नुअघिको अवस्थामा पुर्‍याएकाले अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याउन समय लाग्ने देखिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टले जानकारी दिनुभएको छ ।

सडक अबरुद्ध भएपछि भोजपुरबाट दिक्तेल हुँदै काठमाडौँ तथा काठमाडौँबाट दिक्तेल हुँदै भोजपुरतर्फ जाने बस, सुमो र मोटरसाइकलका यात्रुलाई समस्या भएको छ । अवरुद्ध सडक सञ्चालनमा ल्याउन मध्यपहाडी लोकमार्ग र सडक विभागका प्राविधिक टोली बिहीबार घटनास्थल पुगेर फर्किएका छन् ।

सडकमाथिबाट लेदोसहित आएको बाढीले बगाएर सडक बन्नुभन्दा अगाडि जस्तो थियो त्यस्तै अवस्थामा पुर्‍याएको पाइएको छ । बाढीले खोलेर चट्टानसहितको भीर बनाएकाले निर्माण गर्न ब्रेकरले पनि सम्भव नहुने देखिएको स्थानीयले बताएका छन् ।

ग्याबिन जाली भरेर तलैदेखि निकाल्यो भनेमात्र केही दिनमा सडक बन्न सक्ने सम्भावना रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठेतले जानकारी दिनुभएको छ । पङ्खुखोलामा वि.सं. २०७३ सालमै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउनुपर्ने सम्झौतामा उल्लेख भएपनि ठेकेदारको लापरबाहीका कारण अहिलेसम्म बन्न नसकेको हो ।

कालोपत्रको काम सम्पन्न भएको लामो समय बितिसक्दा पनि ठेकेदारको लापरबाहीका कारण पक्की पुल निर्माण नहुँदा खोलाबाटै यातायातका सवारी साधन वारपार गर्नुपर्ने बाध्यता थियो । पङ्खुखोलाको निर्माणाधीन मोटरेबल पक्की पुल ठेकेदारका कारण अलपत्र भएको अवस्थामा श्रम संस्कृति पार्टीमा आवद्ध श्रमदाताले यही जेठ–१७ गते काठको पुल निर्माण गरेर सञ्चालनमा ल्याएको थियो ।

श्रमदान गरेर निर्माण गरिएको काठे पुल यही जेट–२२ गते राति आएको बाढीले बगाएपछि समस्या भएको छ । अटो तथा मोटरसाइकल वारपार गराउन मिल्नेगरी श्रम संस्कृति पार्टी निकट श्रमदाताले तीन दिन लगाएर काठे पुल निर्माण गरेको थियो ।
यही जेठ–२२ गते राति आएको भीषण वर्षपछिको बाढीले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रा.लि.का महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभएको छ । ग्रामीण सडकमा यातायात सेवा अवरुद्ध हुँदा यात्रुहरुलाई गन्तव्यमा पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

वि.सं. २०६४ सालमा नेपाली सेनाको हेलिकोप्टरमार्फत बोकेर ल्याएको गाडीमार्फत यातायात सेवा सुरु भएको जिल्लामा अहिले सबै ठाउँमा यातायात सेवा विस्तार भएको छ । यातायात सेवा सुरु भएको लामो समय बितिसक्दा पनि मध्यपहाडी लोकमार्ग बाहेक अन्य सबै ग्रामीण सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अधिकांश ग्रामीण सडक करिब छ महिनामात्रै सञ्चालन हुने गरेको छ । हिउँदको समयमा मात्र सञ्चालन हुँदै आएको ग्रामीण सडक हरेक वर्षको जेठदेखि आगामी कातिक अन्तिमसम्म अवरुद्ध हुने गरेको छ ।

तपाईको प्रतिक्रिया