खोटेहाङ गाउँपालिका अध्यक्ष कप–२०८३ : महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेलाई उपाधि

Minakshi Rai

खोटाङ, १६ वैशाख । खोटेहाङ गाउँपालिकाले आयोजना गरेको ‘आठौँ गाउँपालिका अध्यक्ष कप–२०८३’ अन्तरगत भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ लिकुवापोखरी र पुरुषतर्फ सावाकटहरेले जितेको छ । गाउँपालिकाको नवौँ वार्षिक उत्सवको अवसर पारेर सिम्पानी बजारमा आयोजना गरिएको महिला/पुरुष गाउँपालिकास्तरीय भलिबल प्रतियोगितामा महिलातर्फ इन्द्रेणीपोखरीलाई ३–१ ले हराउँदै लिकुवापोखरी र पुरुषतर्फ वाप्लुखालाई ३–१ ले नै हराउँदै सावाकटहरेले उपाधि जितेको हो ।

गाउँपालिकास्तरीय भलिबल प्रतियोगिताका उपाधि विजेता लिकुवापोखरी र सावाकटहरेले नगद रु ८१/८१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको वडा नं. २ वाप्लुखाका वडाध्यक्ष पारस राईले जानकारी दिनुभएको छ । वडाध्यक्ष राईका अनुसार उपविजेता इन्द्रेणीपोखरी र वाप्लुखाले नगद रु ६१/६१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

चार दिनसम्म सञ्चालन भएको आठौँ गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगितामा महिलातर्फ सिम्पानी र वाप्लुखा तथा पुरुषतर्फ सिम्पानी र लिच्कीराम्चे सेमिफाईनलिष्ट बनेका छन् । प्रतियोगिताका सेमिफाईनलिष्ट चारवटै टोलीलाई नगद रु ३१/३१ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

आठौँ संस्करणको भलिबल प्रतियोगितामा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीमा लिकुवापोखरीकी आस्था राई, उत्कृष्ट स्पाईकरण् इन्द्रेणीपोखरीकी एनिशा राई, उत्कृष्ट लिफ्टर सिम्पानीकी तृष्णा राई घोषित हुनुभएको छ । यस्तै, पुरुषतर्फको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीमा सावाकटहरे जोसेप राई, उत्कृष्ट स्पाईकरमा लिकुवापोखरीका विशाल खड्का तथा उत्कृष्ट लिफ्टरमा सावाकटहरेका लोकराज खड्का घोषित भएका छन् ।

प्रतियोगिता अवधिभरका अनुशासित टोलीमा महिलातर्फ सिम्पानी तथा पुरुषतर्फ लिच्कीराम्चे घोषित भएको छ । विद्यागत पुरस्कार विजेता खेलाडीले नगद रु तीन/तीन हजारको साथमा मेडल र प्रमाणपत्र तथा अनुशासित टोलीलाई नगद रु पाँच/पाँच हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको खोटेहाङ गाउँपालिकाका सूचना अधिकारी रोशन पौडेलले जानकारी दिनुभएको छ ।

यही वैशाख–१२ गतेदेखि सुरु भएको अध्यक्ष कप भलिबल प्रतियोगिताका विजेता खेलाडीहरुलाई गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले संयुक्तरुपमा पुस्कार वितरण गर्नुभएको छ । आठौँ संस्करणको अध्यक्ष कप भलिबल प्रतियोगितामा महिलातर्फ आठ तथा पुरुषतर्फ १४ टोलीको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।

खेल क्षेत्रको विकाससँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष फरक–फरक वडामा आयोजना गरिँदै आएको भलिबल प्रतियोगितामा गत वर्षको उपाधिसमेत लिकुवापोखरी र सावाकटहरेले नै जितेको थियो । महिला/पुरुष भलिबल प्रतियोगितासँगै हरेक दिन विभिन्न जातजातिको साँस्कृतिक झाँकी प्रदर्शनसहित गाउँपालिकाको नवौँ वार्षिक उत्सव चार दिनसम्म मनाइएको हो ।

तपाईको प्रतिक्रिया