लोपोन्मुख भीर मौरीको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न फेदीमा ‘हनी हन्टिङ’ महोत्सव

Minakshi Rai

खोटाङ, २४ वैशाख : केपिलासगढी गाउँपालिकाले आगामी जेठ पहिलो साता भीर मौरीको ‘हनी हन्टिङ’ मह सिकार महोत्सव आयोजना गर्ने भएको छ । लोपोन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले आगामी जेठ–८ गते वडा नं. १ फेदीमा एकदिने हनी हन्टिङ महोत्सव आयोजना गर्ने भएको हो ।

नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजित ‘हनी हन्टिङ’ महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकाको धेरै भीरहरुमा भीर मौरी पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा ‘हनी हन्टिङ’ महोत्सव आयोजना गरिएको छ”, उहाँले भन्नुभयो, “महोत्सवमा स्थानीय समुदायले उपभोग गर्दै आएका रैथाने खाना प्रयोग गरिन्छ । फेदीको तेरावा क्षेत्रमा आयोजना गरिएको महोत्सवमा जैविक विविधतासँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तित्वका साथै आन्तरिक तथा पर्यटकको सहभागिता रहनेछ ।”

जिल्लाको उत्तरी क्षेत्रका पर्ने उक्त केपिलासगढी गाउँपालिकाको वडा नं. १ फेदीका सामुदायिक वन क्षेत्रमा रहेको दर्जनबढी भीरहरूमा वर्षौँदेखि भीर मौरी बस्ने गरेको पाइएको छ  । स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभीर झरना, तेरावास्थित तेरावाभीर लगायतका भीरहरुमा वर्षौँ अघिदेखि भीर मौरी बस्दै आएको तेरावाका स्थानीयवासी एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केपिलासगढी गाउँपालिका कार्यसमितिका सचिव लक्ष्मण साम्पाङ ‘समीप’ले जानकारी दिनुभएको छ ।

फेदीका स्थानीय बासिन्दाले उँभौलीको समयमा जेठ–असार तथा उँधौलीको समयमा कातिक–मङ्सिर महिनागरी वर्षमा दुईचोटि भीर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक सिजनमा एउटै भीरबाट कम्तिमा पनि रु पाँच लाखदेखि रु सात लाखसम्मको मह सिकार हुने गरेको स्थानीय मह सिकारीहरुले बताएका छन् ।

फेदीमा पुस्तौँदेखि किरात सँस्कारका रुपमा भीर मौरीको मह निकालिँदै आएको स्थानीय मह सिकारी हस्तराम राईले बताउनुभएको छ । “मैले वि.सं. २०३५ सालदेखि यो पेसा सुरु गरेको हुँ । अहिले युवा पुस्ता यसमा आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “उनीहरुलाई हामीले नै सिकायौँ । युवा पुस्ता पेसेवर बन्दा आफूहरुलाई खुसी लागेको छ ।”
मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको पर्‍याङ, गादा (सेफ्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरो, लगायतका सामग्रीको सहयोगमा परम्परागतरुपमा भीर मौरीको मह सिकार गरिन्छ  । पर्‍याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ ।

स्थानीय भाषामा भीरमा गएर मह निकाल्नेलाई पर्‍याङ्गे भनिन्छ भने सुताको माध्यमबाट पर्‍याङ, दाबिलो, जोतारो, डालोजस्ता सामग्री मह निकाल्ने पर्‍याङेसम्म पुर्‍याउनेलाई सुतारे भनिन्छ । पर्‍याङ्गेले भीरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धूवाँ लगाउने लगायत अन्य व्यक्तिलाई सहयोगी भनिन्छ ।

भीर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्ला, पिपिङ लगायतका क्षेत्रमा बसोवास गर्दै आएका गाउँभरिका स्थानीय बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजा लगायत लिएर उत्सवको रुपमा रमाइलो गर्न भेला हुने गरेका छन् । फेदीमा उत्पादित भीर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँका साथै बेलायत, हङकङ, सिङ्गापुर लगायतका देशहरुमा निर्‍यात हुने गरेको छ ।

फेदीका किरात राई (साम्पाङ) समुदायले भीर मौरीको मह सिकार गर्ने प्रचलनलाई आफ्नो परम्परागत सँस्कारसँगसमेत जोड्ने गरेका छन् । उनीहरुले भीरमा गएर गरेको महको सिकार घरमा ल्याएर आफ्नो तीन चुल्हा अर्थात पितृ (दिबङ्गत भएका व्यक्ति)लाई चढाएपछि मात्र प्रसादको रुपमा ग्रहण गर्ने गरेका छन् ।

भीर मौरीले जडीबुटीजन्य फूलहरूबाट मह बनाउने भएकाले भीर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ  । धेरै खाँदा मात लाग्ने विशेषता भएको भीर मौरीको मह हाडजोर्नी, नसा सम्बन्धी समस्या, युरिक एसिड, प्रेसर लगायतका दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने विशेषज्ञहरुले बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया