केपिलासगढीमा ‘हनी हन्टिङ’ महोत्सव : भीर मौरीको मह सिकार गरेको हेर्नेको भीड

Halesi Khabar

खोटाङ, ८ जेठ । केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार ‘हनी हन्टिङ’ महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लागेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्न कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले हनी हन्टिङ महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवको प्रमुख आकर्षण केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाको महभीरमा परम्परागत रुपमा स्थानीयले गरेको भीर मौरीको मह सिकार बनेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राई ‘युनिक साम्पाङ’ले जानकारी दिनुभएको छ । स्थानीय स्रोत तथा सामग्री प्रयोग गरेर गरिने भीर मौरीको मह सिकार हेर्न जिल्लाभित्रका सबै स्थानीय तह तथा छिमेकी जिल्लाहरु भोजपुर, ओखलढुङ्गा, झापा, विराटनगर लगायतका स्थानीयको सहभागिता रहेको आयोजकले जनाएको छ ।

तेरावामा तीन दिनसम्म सञ्चालन हुने महोत्सवको औपचारिक उद्घाटन शुक्रबार जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले गर्नुभएको छ । महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकका साहसकि तरिकाले गरिने लागि भीर मौरीको मह सिकार अवलोकनका साथै स्थानीय साम्पाङ राईहरुको संस्कार÷संस्कृतिको अध्ययन एवम् अनुसन्धान गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

पर्यापर्यटनसँग जोडेर प्रदेश सरकारसँगैको सहकार्यमा गाउँपालिकाले पहिलोपटक आयोजना गरेको हनी हन्टिङ महोत्सवमा जिल्लास्थित सबै स्थानीय तहका जनप्रतिनिधि तथा मैयुङ–टेम्क–साल्पा–सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेश राई लगायतका पर्यटन व्यवसायीहरुको सहभागिता रहेको छ । फेदीको लेकाली क्षेत्रमा पर्ने तेरावामा आयोजना गरिएको महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकका लागि स्थानीयले त्रिपाल टाँगेर खाने तथा बस्ने व्यवस्था मिलाएका छन् ।

नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजित ‘हनी हन्टिङ’ महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले जानकारी दिनुभएको छ । “हाम्रो गाउँपालिकाको धेरै भीरहरुमा भीर मौरी पाइन्छ । लोपोन्मुख अवस्थामा रहेको भीर मौरीलाई संरक्षण गर्दै पर्यटनसँग जोड्न यस वर्ष प्रदेश सरकारसँगको समन्वयमा ‘हनी हन्टिङ’ महोत्सव आयोजना गरिएको हो”, उहाँले भन्नुभयो, “फेदीको तेरावामा आयोजना गरिएको महोत्सवमा जैविक विविधतासँग सम्बन्धित विभिन्न क्षेत्रका व्यक्तित्वका साथै आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थिति छ । महोत्सवले पर्यटन विकासमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको विभिन्न सामुदायिक वन क्षेत्रका दर्जनबढी भीरहरूमा वर्षौँदेखि भीर मौरी बस्ने गरेको छ  । स्थानीय फुङ्गालुङ सामुदायिक वनको रिप्दौलाको कुहिरे छाँगाभीर, चिलिम लाहुरे सामुदायिक वनको माखाम्लास्थित महभीर झरना, तेरावास्थित तेरावाभीर लगायतका भीरहरुमा वर्षौँ अघिदेखि भीर मौरी बस्दै आएको तेरावाका स्थानीयवासी एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केपिलासगढी गाउँपालिका कार्यसमितिका सचिव लक्ष्मण साम्पाङ ‘समीप’ले जानकारी दिनुभएको छ ।

फेदीका स्थानीय बासिन्दाले उँभौलीको समयमा जेठ–असार तथा उँधौलीको समयमा कातिक–मङ्सिर महिनागरी वर्षमा दुईचोटि भीर मौरीको मह सिकार गर्ने गर्दै आएका छन् । एक सिजनमा एउटै भीरबाट कम्तिमा पनि रु पाँच लाखदेखि रु सात लाखसम्मको मह सिकार हुने गरेको स्थानीय मह सिकारीहरुले बताएका छन् ।

फेदीमा पुस्तौँदेखि किरात सँस्कारका रुपमा भीर मौरीको मह सिकार गर्दै आइएको स्थानीय वृद्ध मह सिकारी हस्तराम राईले बताउनुभएको छ । “मैले वि.सं. २०३५ सालदेखि यो पेसा सुरु गरेको हुँ । अहिले युवा पुस्तासमेत यो परम्परागत मह सिकार गर्ने पेसामा आकर्षित भएका छन्”, उहाँले भन्नुभयो, “भीर मौरीको सिकार गर्न उनीहरुलाई हामीले नै सिकायौँ । युवा पुस्ता पेसेवर बन्दा आफूहरुलाई खुसी लागेको छ ।”

मालिङ्गाको चोया प्रयोग गरेर बाटिएको डोरीबाट बनेको प¥याङ, गादा (सेफ्टी), सुता, छपनी र डालो, मालिङ्गोकै दाबिलो, तसुरो, लगायतका सामग्रीको सहयोगमा परम्परागतरुपमा भीर मौरीको मह सिकार गरिन्छ  । प¥याङको माध्यमबाट चढ्ने, सुताको माध्यमबाट डालो, तसुरो र दाबिलो प्रयोग गरेर मह निकल्ने गरिन्छ ।

स्थानीय मह सिकारीको भाषामा भीरमा गएर मह निकाल्नेलाई प¥याङ्गे भनिन्छ भने सुताको माध्यमबाट प¥याङ, दाबिलो, जोतारो, डालोजस्ता आवश्यक सामग्री मह निकाल्ने प¥याङेसम्म पु¥याउनेलाई सुतारे भनिन्छ । प¥याङ्गेले भीरबाट निकालेको मह छान्ने, भाँडामा खन्याउने, धूवाँ लगाउने लगायत अन्य व्यक्तिलाई सहयोगी भन्ने गरिन्छ ।

भीर मौरीको मह सिकार गर्ने दिन फेदीस्थित तेरावा, माखाम्ला, पिपिङ लगायतका क्षेत्रमा बसोवास गर्दै आएका गाउँभरिका स्थानीय बासिन्दा आ–आफ्नो घरबाट जाँड, रक्सी, खाजा लगायत लिएर उत्सवको रुपमा रमाइलो गर्न भेला हुने गरेका छन् । फेदीमा उत्पादित भीर मौरीको मह जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार, धरान, विराटनगर, काठमाडौँका साथै बेलायत, हङकङ, सिङ्गापुर लगायतका देशहरुमा नि¥यात हुने गरेको छ ।

फेदीका किरात राई (साम्पाङ) समुदायले भीर मौरीको मह सिकार गर्ने प्रचलनलाई आफ्नो परम्परागत सँस्कार तथा संस्कृतिसँगसमेत जोड्ने गरेका छन् । उनीहरुले भीरमा गएर गरेको महको सिकार घरमा ल्याएर आफ्नो तीन चुल्हा अर्थात पितृ (दिबङ्गत भएका व्यक्ति)लाई चढाएपछि मात्र प्रसादको रुपमा ग्रहण गर्ने गरेका छन् ।

भीर मौरीले जडीबुटीजन्य फूलहरूबाट मह बनाउने भएकाले भीर मौरीको महलाई औषधीय गुण भएको मह मानिन्छ  । धेरै खाँदा मात लाग्ने विशेषता भएको भीर मौरीको मह हाडजोर्नी, नसा सम्बन्धी समस्या, युरिक एसिड, प्रेसर लगायतका दीर्घरोग भएका व्यक्तिका लागि उपयुक्त औषधि हुने विशेषज्ञहरुले बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया