जन्मभूमिका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन बृहत स्वास्थ्य शिविर

Halesi Khabar
42 Shares

खोटाङ, १६ चैत । खोटाङ सेवा समाज बेलायत (युके)ले आफ्नो जन्मभूमि खोटाङका नागरिकलाई आफ्नै गाउँठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ आयोजना गरेको बृहत स्वास्थ्य शिविर शुरु भएको छ । स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका खोटाङ्गे नागरिकलाई लक्षित गर्दै विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई÷दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनेगरी समाजले जिल्लाका ११ स्थानमा बृहत स्वास्थ्य शिविर आयोजना गरेको हो ।

खोटाङ घर भइ विभिन्न पेशा तथा व्यवसाय गर्न बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुको संस्था ‘खोटाङ सेवा समाज बेलायत’ले यही चैत–१६ गतेदेखि २३ गतेसम्म जिल्लाका विभिन्न ११ स्थानमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नाराका साथ सञ्चालन गरिएको बृहत स्वास्थ्य शिविरको पहिलो दिन जिल्लाका विभिन्न चार स्थानमा एकैसाथ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको आयोजक खोटाङ सेवा समाज बेलायतका अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिनुभएको छ ।

खोटाङ सेवा समाज बेलायतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट सङ्कलित करिब रु तीन करोड दश लाख बराबरको रकम स्वास्थ्य शिविरमा खर्च गरिने आयोजकले जनाएको छ । चैत–२३ गतेसम्म सञ्चालन हुने शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकहरूसहित १३० जनाभन्दा बढी स्वास्थ्यकर्मीको सहभागिता रहने आयोजक खोटाङ सेवा समाज बेलायतका महासचिव राजेन रामजङ राईले जानकारी दिनुभयो ।

शिविरको पहिलो दिन (चैत–१६ र १७ गते) साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पताल, खोटेहाङ गाउँपालिकाको खोटाङबजार स्वास्थ्य चौकी, जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र रावाबेँसी गाउँपालिकाको रावाबेँसी स्वास्थ्य चौकीमा सञ्चालन हुने जनाइएको छ । शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजी लगायत रोगको उपचार र परीक्षण गरी करिब ५० हजार खोटाङ्गे नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन हुने बृहत स्वास्थ्य शिविर सञ्चालन सम्बन्धी जानकारी सभाको उद्घाटन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले चैत–१४ गते काठमाडौँमा गर्नुभएको थियो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य शिविरबाट दुर्गममा रहेका र विशेषज्ञ स्वास्थ्य सेवाबाट वञ्चित बिरामीहरूलाई राहत पुग्ने विश्वास गर्नुभएको छ ।

आयोजकले चैत–१७ र १८ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजार तथा चैत–२० र २१ गते चार ठाउँमा शिविर सञ्चालन गर्ने जनाएको छ । चैत–२० र २१ गते हलेसी तुवाचुङ नगरपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा शिविर सञ्चालन गर्ने तयारी गरिएको महासचिव राईले जानकारी दिनुभएको छ ।

चैत–२२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपा र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा शिविरको आयोजना गरिएको आयोजकले जनाएको छ । स्थानीय तहमा आयोजना गरिने शिविर सम्पन्न गरेपछि चैत–२४ गते दिक्तेलस्थित शुभम् फाउण्डेशनमा औपचारिकरुपमा समापन गरिने आयोजकले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभम् फाउण्डेशनमा आयोजना गरिने समापन कार्यक्रममा आयोजकले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार–२०८०’समेत वितरण गर्ने जनाएको छ । यस वर्ष संस्थाले शिक्षाविद एवम् समाजसेवी चतुरभक्त राईलाई खोटाङ नागरिक सम्मान र कवि चन्द्र रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

नगद रु एक लाख राशी र ताम्रपत्रसहितको नागरिक सम्मान तथा रु ५० हजार राशी र ताम्रपत्रसहितको प्रतिभा पुरस्कार आगामी चैतमा दिक्तेलमा कार्यक्रम गरेर हस्तान्तरण गर्ने निर्णय गरिएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष विभागका संयोजक डिल्लीराम राईले जानकारी दिनुभएको छ । शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, ठाउँ, समाज र राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै समाजसेवी चतुरभक्त र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै कवि रानोहँछालाई सम्मान एवम् पुरस्कृत गर्ने तयारी गरिएको हो ।

समाजले साहित्य, कला, सँगीत, शिक्षा, खेलकुद, समाजसेवा लगायतका माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पु¥याउँदै आएका ६० वर्षमाथिका व्यक्तित्वलाई नागरिक सम्मान तथा २० वर्ष माथिका प्रतिभालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । समाजले पहिलो चरणमा कृषिविज्ञ मदन राई र गायक रुपकुमार राई, दोश्रो चरणमा साहित्यकार जसराज किराँती र सँगीतकार शान्तिराम राई, तेश्रो चरणमा शिक्षासेवी एवम् समाजसेवी ईमानसिं राई र गीतकार टीका चाम्लिङ, चौथो चरणमा स्वास्थ्यकर्मी ध्रुबलक्ष्मी राई र सञ्चार अभियान्ता टंकबहादुर थापा तथा पाँचौँ चरणमा शिक्षाविद् जयकुमार राई र साहित्यकार एवम् प्राध्यापक डा. धनप्रसाद सुवेदीलाई नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार प्रदान गरिसकिएको छ ।

रोजगारीको सिलसिलामा बेलायतमा बसोबास गरेपनि आफूहरु खोटाङ्गे भएकाले खोटाङ्गेको समस्यालाई समाधान गर्न आफूहरुको पनि उत्तिकै जिम्मेवारी हुने उनीहरुले बताउँदै आएका छन् । जिल्लाका विभिन्न ठाउँमा स्थायी घर भइ बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुले चन्दा सङ्कलन गरेर वि.सं. २०७३ चैत्र–२६ गते खोटाङलाई सातवटा एम्बुलेन्स निःशुल्क उपलब्ध गराएको थियो ।

तपाईको प्रतिक्रिया