श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

Minakshi Rai

खोटाङ, २४ फागुन : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खाेटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार देवबिक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै केपिलासगढी गाउँपालिका-१ फेदीस्थित सुङ्देका आरेन निर्वाचित हुनुभएकाे हाे ।

आरेनले १६ हजार ६१२ मत पाउँदा देवबिक्रमले १२ हजार ७१४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भर्खरै उदाएको श्रम संस्कृति पार्टीले पुराना दललाई पछाडि पार्दै फराकिलाे मतान्तरले जित हासिल गरेको हो ।

नेपाली काङ्ग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि रोकाले नाैँ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले पाँच हजार ७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत प्राप्त गर्नुभएकाे छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले ३३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ४७७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथोकीले १८२, जनता समाजवादी पार्टी (नेपाल)का सुनिल चाम्लिङले १११, मंगोल नेशनल अर्गनाइजेसनका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत प्राप्त गर्नुभएकाे छ ।

स्वतन्त्र उम्मेदवारहरु डा. राजकुमार राई २६ र तीलकचन्द्र राईले ४३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएको छ । प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेकाे खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो ।

प्रत्यक्षतर्फ खसेकाे मतमध्ये तीन हजार ९२८ मत बदर भएको पाइएको जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएकाे छ । प्रत्यक्षतर्फकाे गणना सकिएलगत्तै समानुपातिक मतसमेत गणना गर्न सुरु गरिएकाे छ ।

तपाईको प्रतिक्रिया