खाेटाङ, २२ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत खाेटाङका सबै मतदान केन्द्रकाे मतपेटिका जम्मा भएको छ । प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लाकाे सबैभन्दा टाढा रहेकाे जन्तेढुङ्गा र बराहपाखरी गाउँपालिकाे मतपेटिका ल्याइएसँग मतपेटिका सङ्कलनकाे काम सम्पन्न भएकाे हाे ।
जिल्लामा एक लाख ४७ हजार १२० मतदाता रहेका छन् । दश स्थानीय तह रहेकाे खाेटाङमा दुई जना स्वतन्त्रसहित १५ जना उम्मेदवार रहेका छन् ।
नेपाली काँग्रेसबाट वीरकाजी राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देवबिक्रम राई, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट डा. हरि राेका, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरी, जनता समाजवादी पार्टी (जसपा)बाट राकेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ‘शैलेस’, नेपाल मदजुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङ उम्मेदवार रहनुभएको छ । यस्तै, डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।
यस पटककाे निर्वाचनमा पुरानै राजनीतिक दल (नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी)बीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरूले बताएका छन् । यद्यपि, श्रम संस्कृति पार्टी पनि प्रतिस्पर्धामा रहेकाे देखिएकाे छ ।


