–मिनाक्क्षी राई
खोटाङ, २६ फागुन : प्रतिनिधिसभा सदस्यमा खोटाङबाट निर्वाचित हुनुभएका आरेन राईलाई जिल्लास्थित विभिन्न राजनीतिक दल, कार्यालय प्रमुख तथा सरोकारवालाहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । जिल्ला समन्वय समितिको कार्यालयमा आयोजित कार्यक्रममा सहभागीहरूले उहाँलाई बधाई दिँदै जिल्लाको विकास र समृद्धिका लागि जिम्मेवारीका साथ काम गर्न आग्रह गरेका छन् ।
बधाई तथा शुभकामना कार्यक्रमका वक्ताहरूले खोटाङले नयाँ नेतृत्व पाएको उल्लेख गर्दै युवा पुस्ताको प्रतिनिधित्व गर्दै निर्वाचित हुनुभएका राईले जिल्लावासीको विश्वासलाई सम्मान गर्दै काम गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
पूर्व सांसद रामकुमार राई ‘पासाङ’ले यो निर्वाचन आकस्मिक भए पनि सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको बताउनुएको छ । उहाँले विजयी हुनुभएका आरेन तथा श्रम संस्कृति पार्टीलाई बधाई दिँदै खोटाङ मात्र नभइ देशले नै ठूलो चुनौती सामना गरिरहेको उल्लेख गर्नुभएको छ ।
खोटाङमा सुरु गरिएका केही विकास योजनाहरू अझै अपुरा रहेको उल्लेख गर्दै ती योजनाहरूलाई निरन्तरता दिन आवश्यक पहल गर्न आरेनलाई आग्रह गर्नुभएको छ । बङ्शिलाघाटदेखि दूधकोशी र सुनकोशीदेखि दूधकोशी जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
सडक पूर्वाधार, विकास निर्माण, बसाइँसराइको समस्या, बाँदरको समस्या लगायत जिल्लाका विभिन्न समस्याहरू समाधान गर्न सङ्घीय संसदबाट प्रभावकारी पहल हुने विश्वास उहाँले व्यक्त गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी रेखा कडेँलले खोटाङका मतदाताहरूले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै राईलाई निर्वाचित गराएको बताउनुभएको छ । उहाँले राईले सङ्घीय संसदमा पुगेर खोटाङका जनताको हितका लागि काम गर्नुहुने विश्वास व्यक्त गर्दै काठमाडौं पुगेर आफ्नो माटो र जनताको माया नबिर्सन आग्रह गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नव निर्वाचित प्रतिनिधिसभा सदस्य आरेनले खोटाङमा निष्पक्ष ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले जिल्लामा कार्यरत सम्पूर्ण सरकारी निकाय तथा कर्मचारीहरूले सहयोग गर्नेमा विश्वास व्यक्त गर्दै बिगतका कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताउनुभएको हो ।
उहाँले सरकारी बजेट तथा विकास निर्माणका कामहरू नीति र नियमभित्र रहेर पारदर्शी र निष्पक्ष रूपमा अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । फागुन–२१ गते सम्पन्न निर्वाचनमा श्रम संस्कृति पार्टीका महासचिवसमेत रहनुभएका आरेन १६ हजार ६१२ मत ल्याएर विजयी हुनुभएको हो ।


