खाेटाङ, २३ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत खाेटाङमा भएकाे निर्वाचनकाे मत गणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईकाे मत अग्रता कायमै रहेकाे छ । दश स्थानीय तह रहेकाे जिल्लामा केपिलासगढी, ऐसेलुखर्क र रावाबेँसी गाउँपालिकाको १४,१४३ मत गणना सम्पन्न हुँदा आरेनकाे तीन हजार ७६४ पुगेकाे छ ।
नेपाली काँग्रेसका वीरकाजी राईकाे तीन हजार ३८५, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईकाे तीन हजनर छ तथा
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाकाे एक हजार ५३७ मत पुगेकाे छ । काँग्रेसका वीरकाजीभन्दा श्रम संस्कृति पार्टीका आरेनकाे ३७९ मतले बढी रहेकाे मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले दिएकाे जानकारी अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीकाे एक हजार ३०३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङकाे ५२, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङकाे २२, नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालकाे चार, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईकाे २८१ , मङ्गाेल नेशनल अर्गनाइजेसन पार्टीका प्रयाग राईकाे दश, मितेरी पार्टी नेपालका किशाेरमान चाम्लिङकाे तीन, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथाेकीकाे २८ र जनता समाजवादी पार्टी (जसपा)का राकेश राईकाे ६९ मत पुगेकाे छ । यस्तै, स्वतन्त्र उम्मेदवारहरु डा. राजकुमार राईकाे दश तथा तीलकचन्द्र राईकाे नाैँ मत पुगेकाे जनाइएकाे छ ।
गणना सम्पन्न गरिएका मतमध्ये ६५० मत बदर भएकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ । अहिले दिप्रुङ चुइचुम्मा गाउँपालिकाकाे मत गणना सुरु गरिएकाे जनाइएकाे छ ।
एक लाख ४७ हजार १२० मतदाता रहेकाे जिल्लामा ६३ हजार ३५ मत मात्र खसेकाे जनाइएकाे छ । मत गणनालाई छिटाे सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुईवटा मतगणनास्थल निर्माण गरेर गणना सुरु गरिएकाे छ ।
प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेकाे जिल्लामा पुरानै राजनीतिक दलबीच प्रतिस्पर्धा हुने राजनीतिक विश्लेषकहरुले बताएका छन् । यद्यपि, श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन सबैभन्दा अगाडि देखिनुभएकाे छ ।


