खाेटाङ अपडेट : श्रम संस्कृति पार्टीका महासचिव आरेन राई एक हजार २७७ मतले अगाडि

Minakshi Rai

खाेटाङ, २३ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचनमा श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले सुरुवाती अग्रतालाई कायम राख्नुभएकाे छ । अपरान्ह ४:०० बजेसम्म सम्पन्न भएकाे २८,८२२ मत गणनामा आरेनले सात हजार १२२ मतसहित सुरुवाती अग्रतालाई कायम राख्नुभएकाे हाे ।

केपिलासगढी गाउँपालिका-१ फेदी निवासी उम्मेदवार आरेनलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबिक्रम राईले पछ्याइ राख्नुभएकाे छ । देवबिक्रमले पाँच हजार ८४५ प्रप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

यसअघिसम्म दाेस्राे स्थानमा रहेकाे नेपाली काँग्रेसका वीरकाजी राईले पाच हजार ५७५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा. हरि राेकाले चार हजार ५८४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले दुई हजार ५५५, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले १५६, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ९१, जनता समाजवादी पार्टी नेपालका सुनिल चाम्लिङले ४४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का चन्द्र बुढाथोकी ‘शैलेस’ले ९९, नेपाल मदजुर किसान पार्टीका ध्यानप्रसाद ढकालले १७, राष्ट्रिय परिवर्तन पार्टीका मिरेश राईले ३६२, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका प्रयाग राईले ११, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले १२ प्राप्त गर्नुभएको छ । यस्तै, स्वतन्त्र उम्मेदवारहरु डा. राजकुमार राईले २० र तीलकचन्द्र राईले २४ मत प्राप्त गर्नुभएकाे मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले जानकारी दिनुभएकाे छ ।

मत गणना गरिएकामध्ये एक हजार ९०५ मत बदर भएकाे जनाइएकाे छ । बदर भएका मतमध्ये अधिकांश एउटै मतपत्रमा दुई वा दुईभन्दा बढी छाप हालेकाे पाइएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।

दश स्थानीय तह रहेकाे जिल्लामा छ वटाकाे गणना सम्पन्न भइसकेकाे छ । अब दिक्तेल रुपाकाेट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा र बराहपाेखरी गाउँपालिकाकाे गणना हुन बाँकी रहेकाे जनाइएकाे छ ।

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेकाे जिल्लामा ६३ हजार ३५ मत खसेकाे जिल्ला निर्वाचन कार्यालय खाेटाङका प्रमुख रविन मगरले जानकारी दिनुभएको छ । एक लाख ४७ हजार १२० मतदाता रहेकाे जिल्लामा फागुन-२१ गते सम्पन्न निर्वाचनमा ४३ प्रतिशत मात्रै मत खसेकाे हाे ।

तपाईको प्रतिक्रिया