दिप्रुङ चुइचुम्माको डाँडागाउँमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा

Halesi Khabar
42 Shares

खोटाङ, १८ चैत । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाको आफ्नै लगानीमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मी नियुक्त गरेर आइतबारदेखि पाँच शय्याको आधारभूत अस्पताल औपचारिक रुपमा सञ्चालनमा ल्याइएको हो ।

प्राथमिक स्वास्थ्यचौकी डाँडागाउँको भवनमा स्थापना गरिएको आधारभूत अस्पतालमा चौबीसै घण्टा स्वास्थ्य सेवा प्रवाह हुने गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभएको छ । “पाँच शय्याको आधारभूत अस्पताललाई चाँडै १५ शय्यामा विस्तार गर्ने योजना बनाएका छौँ । प्राथमिक स्वास्थ्यचौकीको भवनमा स्थापना गरिएको आधारभूत अस्पतालमा तत्कालका लागि एकजना मेडिकल अधिकृत डाक्टरसहित १४ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “अस्पतालमा नियुक्त गरिएका स्वास्थ्यकर्मीहरुले चौबीसै घण्टा सेवा प्रवाह गर्छन् । यो पाँच शय्याको आधारभूत अस्पताललाई अन्य सुविधा सम्पन्न अस्पताल सरह सेवा दिनेगरी क्रमशः स्तरोन्नति गर्दै लैजाने योजना बनाएका छौँ ।”

आधारभूत अस्पतालमा ल्याब (रगत, खकार, दिशा, पिसाब, मौषमी फ्लु लगायत परीक्षण गर्ने प्रयोगशाला) तथा बर्थिङ सेन्टर (प्रसूतिगृह)समेत स्थापना गरिएको छ । मेडिकल अधिकृत डाक्टर मन्दिप उप्रेतीको नेतृत्वमा स्थापना गरिएको अस्पतालमा पोष्टमार्टम (शव परीक्षण)समेत गर्नेगरी तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको रु ३० लाख लगानीमा स्थापना गरिएको आधारभूत अस्पताल संविधानसभा सदस्य एवम् अर्थविद् हरि रोकाले रिबन काटेर तथा ब्यानर पढेर औपचारिक रुपमा उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डा. रोकाले अस्पतालको सेवा प्रवाहलाई जनमुखी बनाउन आग्रह गर्नुभएको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका जिल्ला अध्यक्ष रामप्रसाद दंगालले पाँच शय्याको आधारभूत अस्पताललाई स्तरोन्नति गर्न पार्टीको तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । कार्यक्रममा नेपाली काँग्रेस खोटाङका नेता केशवराज कार्की, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङका उपाध्यक्ष नरेशराज राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

आफ्नै गाउँमा गाउँपालिकाकै लगानीमा फार्मेसीसहितको आधारभूत अस्पताल स्थापना भएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् । सामान्य रोग परीक्षण एवम् उपचारका लागि जिल्ला अस्पताल खोटाङ तथा बाहिरी जिल्ला जानुपर्ने बाध्यता भोग्दै आएका सर्वसाधारण आफ्नै गाउँमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मी नियक्त गरेर आधारभूत अस्पताल स्थापना गरेपछि हर्षित भएका हुन् ।

गाउँपालिकावासी नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले गत भदौदेखि ‘हेल्लो डाक्टर’ कार्यक्रमसमेत लागू गरेको छ । हेल्लो डाक्टर कार्यक्रममार्फत सात महिनाको अवधिमा एक हजार ४४२ जनाले सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मुस्ताक अहमत मन्सुरीले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले सञ्चालनमा ल्याएको हेल्लो डाक्टर कार्यक्रमको कार्यालयसमेत सोही आधारभूत अस्पतालमा राखिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले सञ्चालन गर्दै आएको हेल्लो डाक्टर कार्यक्रम स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिरका बिरामीहरुका लागि प्रभावकारी भएको स्थानीय बासिन्दाले बताएका छन् ।

सात वडा रहेको उक्त गाउँपालिकामा हेल्लो डाक्टर कार्यक्रमका लागि पाँचजना स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएसपी चाम्लिङले जानकारी दिनुभएको छ । गाउँपालिकाद्धारा परिचालित स्वास्थ्यकर्मीहरुले बिरामीको घरघरमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन् ।

हेल्लो डाक्टर कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाले हरेक नागरिकको घरमा पुगेर स्वास्थ्यकर्मीहरुको मोबाइल नम्बरसहितको भिजिटिङ कार्ड उपलब्ध गराएको छ । स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्ने अवस्थाका गम्भीर र आकस्मिक किसिमका बिरामीलाई तत्काल उनीहरुको घरमै स्वास्थ्य सेवा उपलब्ध गराउन दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जिल्लामै पहिलो र नयाँ ‘हेल्लो डाक्टर’ कार्यक्रम लागू गरेको हो ।

 

 

तपाईको प्रतिक्रिया