गायनतर्फ आश्विन र नृत्यतर्फ कविता बने ‘खोटाङ प्रतिभा–२०८०’

Halesi Khabar
0 Shares

खोटाङ, २९ साउन । राष्ट्रिय नाचघर जमल, काठमाडौँमा सम्पन्न भएको फाइनल अडिशनमा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ ‘खोटाङ प्रतिभा–२०८०’ छनोट भएका छन् । खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (यूके)ले संयुक्त रुपमा सोमबार आयोजना गरेको फाइनल अडिशनमा नौँ÷नौँजना प्रतिस्पर्धीलाई पछाडि पार्दै गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता ‘खोटाङ प्रतिभा–२०८०’ छनोट भएका हुन् ।

खोटाङ जिल्लाका कुनाकन्दरामा लुकेर रहेका प्रतिभाहरु खोजि गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेस्रो भएका छन् । यस्तै, नृत्यतर्फ बराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी मनिता राई तेस्रो भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद रु दुई लाख दुई हजार, रु एक लाख एक हजार र रु ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवम् गायक तथा सँगीतकार रुपकुमार राईले जानकारी दिनुभएको छ । “‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिताका विजयी छ जना प्रतिभालाई नगद पुरस्कारसहित गीत रेकर्डिङ तथा म्यूजिक भिडियो खेल्ने अवसर दिनुका साथै बेलायतमा हुने विभिन्न कार्यक्रममा समेत सहभागी गराइनेछ”, उहाँले भन्नुभयो, “प्रतियोगितामा सहभागी बाँकी १४ जना प्रतिभालाई प्रोत्साहन स्वरुप सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गरिएको छ ।”

‘नयाँ प्रतिभालाई प्रोत्साहन, पूराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजि गर्दै समाजलाई सु–सँस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्नुभएको थियो । खोटाङ प्रतिभा–२०८० छनोट प्रतियोगिताका लागि जिल्लाका दशवटै स्थानीय तहबाट गायन तथा नृत्य विद्यामा एक÷एकजनागरी २० जना प्रतिभाले सहभागिता जनाएका थिए ।

जिल्लाको ग्रामीण तथा सुदुर गाउँहरुमा लुकेर तथा छलिएर बसेका सयौँ प्रतिभाहरुमध्ये प्रत्येक पालिकाबाट गायन तथा नृत्य विद्यामा तीन÷तीनजना प्रतिभा छनोट गरिएको थियो । पालिकास्तरीय प्रतियोगिताबाट दुई विद्यामा ३०÷३० जना प्रतिभा छनोट गरिए पनि काठमाडौँमा आयोजना गरिएको फाइनल प्रतिस्पर्धामा दुवै विद्यामा प्रथम भएका एक÷एकजना प्रतिभालाई मात्र सहभागी गराइएको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिनुभएको छ ।

खोटाङ घर भइ काठमाडौँलाई कार्यक्षेत्र बनाएर गीत÷सँगीतलाई आफ्नो पेशाको रुपमा अङ्गालेका खोटाङ्गे कलाकारहरुले वि.सं. २०७७ सालमा ‘खोटाङ कलाकार समाज’ गठन गरेको थियो । कला र साहित्यमा रुचि राखेर त्यसैमा आफ्नो भविष्य खोज्दै निरन्तर सङ्घर्ष गरिरहेका खोटाङ्गे कलाकारहरुको साझा मञ्चको रुपमा खोटाङ कलाकार समाज स्थापना गरिएको कलाकारहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया