‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिताको फाइनल आज

Halesi Khabar

खोटाङ, २९ साउन । खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (यूके)ले संयुक्त रुपमा आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’ छनोटको प्रतियोगिताको फाइनल आज हुँदै छ । खोटाङ जिल्लाका कुनाकन्दरामा लुकेर रहेका प्रतिभाहरु खोजि गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको ‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिताको फाइनल अडिशन राष्ट्रिय नाचघर जमल, काठमाडौँमा दिउँसो १ बजेबाट शुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद रु दुई लाख दुई हजार, रु एक लाख एक हजार र रु ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवम् गायक तथा सँगीतकार रुपकुमार राईले जानकारी दिनुभएको छ । “‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिताका विजयी छ जना प्रतिभालाई पुरस्कारसहित गीत रेकर्डिङ तथा म्यूजिक भिडियो खेल्ने अवसर दिनुका साथै बेलायतमा हुने कार्यक्रममा समेत सहभागी गराइनेछ”, उहाँले भन्नुभयो, “प्रतियोगितामा सहभागी बाँकी १४ जनालाई सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गर्ने तयारी गरिएको छ ।”

‘नयाँ प्रतिभालाई प्रोत्साहन, पूराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजि गर्दै समाजलाई सु–सँस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्नुहुने जनाइएको छ । खोटाङ प्रतिभा–२०८० छनोट कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिपाप्त कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

खोटाङ प्रतिभा–२०८० छनोट प्रतियोगिताका लागि खोटाङ जिल्लाका दशवटै स्थानीय तहबाट गायन तथा नृत्य विद्यामा एक÷एकजनागरी २० जना प्रतिभाले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट प्रदीप राई, हलेसी तुवाचुङ नगरपालिकाबाट अस्विन राई, बराहपोखरी गाउँपालिकाबाट लक्ष्मण परियार, जन्तेढुङ्गा गाउँपालिकाबाट दुर्गा राई, खोटेहाङ गाउँपालिकाबाट विकास राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट दिलीप राई, केपिलासगढी गाउँपालिकाबाट राजेश राई, ऐसेलुखर्क गाउँपालिकाबाट सुमन राई, रावाबेँसी गाउँपालिकाबाट ममता राई र साकेला गाउँपालिकाबाट रवीन दियाली सहभागी छन् ।

नृत्यतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सलिना भुजेल, हलेसी तुवाचुङ नगरपालिकाबाट स्मृति राई, बराहपोखरी गाउँपालिकाबाट सुवास विश्वकर्मा, जन्तेढुङ्गा गाउँपालिकाबाट करुणा राई, खोटेहाङ गाउँपालिकाबाट कविता श्रेष्ठ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट मनिता राई, केपिलासगढी गाउँपालिकाबाट सौलिना तामाङ, ऐसेलुखर्क गाउँपालिकाबाट सरिना राई, रावाबेँसी गाउँपालिकाबाट चिजन मगर र साकेला गाउँपालिकाबाट मेनुका राई सहभागी छन् । फाइनल अडिशनलाई रोचक र प्रभावकारी बनाउन जिल्लाका दशवटै स्थानीय तहबाट छनोटमा परेका नवप्रतिभालाई महिना दिनअघि काठमाडौँ झिकाएर प्रशिक्षण दिने कामसमेत गरिएको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिनुभएको छ ।

जिल्लाको ग्रामीण तथा सुदुर गाउँहरुमा लुकेर तथा छलिएर बसेका सयौँ प्रतिभाहरुमध्ये प्रत्येक पालिकाबाट गायन तथा नृत्य विद्यामा तीन÷तीनजना प्रतिभा छनोट गरिएको जनाइएको छ । पालिकास्तरीय प्रतियोगिताबाट दुई विद्यामा ३०÷३० जना नवप्रतिभा छनोट गरिए पनि काठमाडौँमा हुने फाइनल प्रतिस्पर्धामा दुवै विद्यामा प्रथम भएका एक÷एकजना प्रतिभालाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ ।

राजधानी काठमाडौँमा हुने यो फाइनल अडिशनको छनोट प्रतियोगिता अन्य रियालिटी शोभन्दा कम नहुने आयोजकले दाबी गरेको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक खोटाङ कलाकार समाजका सदस्य एवम् प्रचार विभाग प्रमुख भरत लिमेल मगरले जानकारी दिनुभयो ।

खोटाङ घर भइ काठमाडौँलाई कार्यक्षेत्र बनाएर गीत÷सँगीतलाई आफ्नो पेशाको रुपमा अङ्गालेका खोटाङ्गे कलाकारहरुले वि.सं. २०७७ सालमा ‘खोटाङ कलाकार समाज’ गठन गरेको थियो । कला र साहित्यमा रुचि राखेर त्यसैमा आफ्नो भविष्य खोज्दै निरन्तर सङ्घर्ष गरिरहेका खोटाङ्गे कलाकारहरुको साझा मञ्चको रुपमा खोटाङ कलाकार समाज स्थापना गरिएको उनीहरुले बताएका छन् ।

खोटाङ कलाकार समाजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरु सहभागी छन् । खोटाङ कलाकार समाजले स्थापनाकालबाटै मातृभूमि खोटाङ तथा राजधानी काठमाडौँमा साँगीतिक क्षेत्रको प्रवद्र्धन गर्न विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया