हिमाली जिल्ला सोलुखुम्बुमा रात्रिकालीन खेल

Halesi Khabar
0 Shares

सोलुखुम्बु, ७ मंसिर । स्टार यूथ क्लब, सोलुखुम्बुले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रदेश-१ स्तरीय महिला तथा सोलुखुम्बु जिल्ला अन्तर स्थानीय तह पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिनबाट नाइट गेम सुरु भएको छ ।

हिमाली जिल्लाहरुमा नाइट गेम खेलाइएको यो पहिलो हो । स्टार यूथ क्लबले झापा रातो र खोटाङ जिल्लाबीच भएको महिला खेलको दोस्रो सेटबाट नाइट गेम सुरु गरेको हो । उसले समय सीमाभित्र खेल सक्नुपर्ने भएकाले नाइट गेम सुरु गरेको जनाएको छ ।

जिल्ला समन्वय समिति, सोलुखुम्बुको प्राङ्गण सल्लेरीमा आयोजना भइरहेको प्रतियोगितामा चारैतिर बत्ति बालेर राति समेत खेल खेलाउन सुरु गरिएको हो । दर्शकहरुको भीडले भरिएको प्राङगण वरिपरि ३ सय वाटका हेलोजिन लाइट बालिएका छन् ।

रातको समय सोलुखुम्बुको चिसोलाई बेवास्ता गर्दै दर्शकहरुले खेल हेरेर मनोरञ्जन लिइरहेको क्लबका अध्यक्ष नाम्गेल शेर्पाले बताए । रातको समयमा अप्रिय घटनाहरु नघटनका लागि क्लबले आफ्नो सुरक्षा परिषद (स्वयंसेवक)लाई परिचालन गरेर दर्शकहरुको व्यवस्थापन गरेको र सुरक्षाकर्मीहरुको समेत सहयोग लिइरहेको शेर्पाले जानकारी गराएका छन् ।

लिकमआउट नियमअन्तर्गत खेलाइएको प्रतियोगितामा जम्म ३६ सेट खेल खेलाउनुपर्ने छ । जसमध्ये प्रतियोगिताको तेस्रो दिनसम्म २० सेट खेलाइसकिएको र राति ९ बजेसम्ममा थप दुई सेट खेल खेलाइसकिने अन्तर्राष्ट्रिय रेफ्रि विकास गुरुङले जनाकारी गराए ।

प्रतियोगितामा महिलातर्फ झापा, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु गरि ४ जिल्लाका ७ टिमको सहभागिता रहेको छ भने पुरुषतर्फ १३ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आज मात्रै १२ सेट खेल खेलाइसकिएको छ । खेल रातको ९ बजेसम्म सञ्चालन हुने आयोजक समितिले जानकारी गराएको छ ।

खेलपश्चात स्थानीय कलाकार र ब्याण्डहरुको साथमा सांगीतिक साँझको आयोजना हुनेछ भने भोलि ८ गते राति गायक प्रताप दास, गायिका अस्मिता अधिकारी, हास्य कलाकारहरु शेरबहादुर गुरुङ र कैलाश कार्कीलगायतका कलाकारहरुको साथमा सांतीतिक साँझको आयोजना गरिने क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया