बुइपामा प्रथम किराती राजा यलम्बरहाङको ११० फिट अग्लो प्रतिमा उद्घाटन विवादमा

Minakshi Rai

खोटाङ, १३ वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा निर्माण सम्पन्न प्रथम किराती राजा यलम्बरको ११० फिट अग्लो पूर्णकदको प्रतिमाको उद्घाटन मिति विवादमा परेको छ ।

कोशी प्रदेश सरकारको ७० प्रतिशत र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण गरिएको प्रतिमाको उद्घाटन कसको हातबाट र कुन मितिमा गर्ने भन्ने विषयमा वडा कार्यालय र नगरपालिकाबीच मतभेद देखिएको हो ।

वडा कार्यालय बुइपाले वैशाख ९ गते शुभम् फाउण्डेसन, सोल्मामा पत्रकार सम्मेलन गर्दै प्रतिमाको उद्घाटन वैशाख १८ गते प्रतिनिधिसभा सांसद हर्क साम्पाङको हातबाट गराइने जानकारी दिएको थियो ।

तर, वैशाख १२ गते बसेको नगरपालिकाको कार्यपालिका बैठकले भने वैशाख १७ गते बिहान नै प्रतिमा उद्घाटन गर्ने निर्णय गरेको नगरप्रमुख तीर्थराज भट्टराईले शनिबार साँझ पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ ।

नगरप्रमुख भट्टराईका अनुसार कार्यपालिका बैठकमा बुइपाका वडाध्यक्ष दिनेश राईले वैशाख १८ गते नै हर्क साम्पाङबाट उद्घाटन गराउने अडान राख्नुभएको थियो । खार्मीका वडाध्यक्ष इखबहादुर राईले पनि असहमति जनाएका थिए भने पाथेकाका वडाध्यक्ष मुगाधन राई कुनै प्रतिक्रिया नदिई दुई वडाध्यक्षसँगै बैठकबाट बाहिरिनुभएको थियो ।

यता, वडाध्यक्ष दिनेश राईले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडाभित्र निर्माण भएका संरचनाको हेरचाह, रेखदेख तथा व्यवस्थापनको पूर्ण जिम्मेवारी वडा कार्यालयकै हुने उल्लेख गर्नुभएको छ ।

उहाँले प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा निर्माण गरिएको यलम्बर पार्क निर्माण सम्पन्न भई निर्माण कम्पनीले हस्तान्तरण गरिसकेको र पार्क तथा प्रतिमाको संरक्षण, व्यवस्थापन र सञ्चालनको जिम्मा वडा कार्यालयमै रहेको स्पष्ट पार्नुभएको छ ।

वडाध्यक्ष राईका अनुसार यलम्बर पार्क र प्रतिमाको देशव्यापी प्रचार–प्रसार गर्ने उद्देश्यले साकेला उभौली पर्वको अवसर पारेर वैशाख १८ गते उद्घाटन कार्यक्रम तय गरिएको हो । उहाँले यो विषय पूर्ण रूपमा वडाको क्षेत्राधिकारभित्र पर्ने भएकाले अन्य निकायबाट आउने भ्रमपूर्ण सूचना वा निर्णयको पछि नलाग्न स्थानीयवासीलाई अनुरोध समेत गर्नुभएको छ ।

नगरप्रमुख भट्टराईले वडाध्यक्ष राईसँग थप छलफल गरेर वैशाख १७ गते नै साझा सहमतिमा उद्घाटन गर्ने वातावरण निर्माण गरिने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया