‘छैटौँ सोल्मा अन्तर वडा कप २०८३’ पुरुष फूटबल प्रतियोगिताको उपाधि बाहुनिडाँडालाई

Minakshi Rai

खोटाङ, १३ वैशाख । वडा स्तरीय फूटबल प्रतियोगिताको उपाधि बाहुनिडाँडाले जितेको छ । सोल्मा स्पोर्टस क्लब सोल्माले आयोजना गरेको ‘छैटौँ सोल्मा अन्तर वडा कप २०८३’ पुरुष फूटबल प्रतियोगिताको उपाधि जितेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनिडाँडाले १ लाख १ हजार १११ नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको उपविजेता बनेको साकेला गाउँपालिका मात्तिमले ६६ हजार ६६६ नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित सोल्मा स्पोर्टस क्लबको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा मात्तिमलाई पेनाल्टी सुटआटमा पराजित गर्दै बाहुनिडाँडाले उपाधि चुमेको हो । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि भएको पेनाल्टी सुटआउटमा ५–३ गोलले मात्तिमलाई बाहुनिडाँडाले पराजित गरेको हो ।

प्रतियोगिताको सेमिफाइनलिस्ट भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ र खोटेहाङ गाउँपालिका– ६ इन्द्रेणिपोखरीले २५/२५ हजार नगदसँगै मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको अनुशासित घोषितहुँदै इन्द्रेणिपोखरीले नगद ५ हजार ५५५ पनि हात पारेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बाहुनिडाँडाका तिलक हुनुभएको छ । उहाँले ५ हजार ५५५ नगदसँगै मेडल र प्रमाणपत्र पाएको सोल्मा स्पोर्टस क्लबका सह–सचिव अम्बर श्रेष्ठले बताउनुभएको छ ।

यस्तै, उदीयमान खेलाडी सोल्माका दिप्सन राई, हाइस्कोरर बाहुनिडाँडाका डिकेन राई, बेस्ट गोल किप्पर बाहुनिडाँडाकै सुजल परियार, बेस्ट डिफेन्डर मात्तिमका प्रतिक कटुवाल, बेस्ट मिडफिल्डर मात्तिमकै युसन राई र बेस्ट कोच बाहुनिडाँडाका दिपेन्द्र राई चुनिएका छन् । उनीहरु सबैले नगद २ हजार २२२ सँगै मेडल र प्रमाणपत्र पाएका छन् ।

यस्तै, सोल्मा स्पोर्टस क्लबले हरेक वर्ष प्रदान गर्दै आएको यो वर्षको खेलकुद पत्रकारिता पुरस्कार सविना अछामे परियारलाई प्रदान गरेको छ । अछामेलाई नगद ५ हजार ५५५ सहित प्रमाणपत्रले पुरस्कृति गरिएको सोल्मा स्पोर्टस क्लबका अध्यक्ष एवं सोल्माका वडाध्यक्ष धुव्र विक्रम राईले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया