किराती राजा यलम्बरको ११० फिट अग्लो शालिक : साकेला उँभौलीमा उद्घाटन गरिने

Minakshi Rai

खोटाङ, १० वैशाख । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा स्थापना गरिएको किराती प्रथम राजा यलम्बरको पूर्ण कदको प्रतिमा (शालिक)सहितको यलम्बर पार्क (उद्यान) यही वैशाख–१८ गते उद्घाटन गरिने भएको छ । किरात ऐतिहासिक एवम् पर्यटकीयस्थल बुइपास्थित पञ्चदोबाटोका तीस रोपनी सरकारी जग्गामा यलम्बरको ११० फिट अग्लो पूर्ण कदको शालिकसहितको पार्क निर्माण गरिएको हो ।

माझ किरात भनेर चिनिने खोटाङको बुइपामा निर्माण गरिएको यलम्बरको शालिकसहितको पार्क प्रमुख अतिथिको विषयलाई लिएर पहिचान पक्षधरले गरेको बिरोध तथा भुक्तानी ढिला हुँदा सञ्चालन हुन सकेको थिएन । शालिक तथा पार्क निर्माण सम्पन्न भएको करिब १४ महिनासम्म पनि उपयोगविहीन भएपछि किरात राई समुदायको महान चाड साकेला उँभौलीको अवसर पारेर उद्घाटन गर्ने तयारी गरिएको हो ।

कोशी प्रदेश सरकारको ७० र दिक्तेल रुपाकोट मझुवागी नगरपालिकाको ३० प्रतिशत लगानी परेको यलम्बरको शालिकसहितको पार्क श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज राई ‘हर्क साम्पाङ’ले उद्घाटन गर्नुहुने भएको छ । साकेला उँभौलीको अवसर पारेर उद्घाटन गर्न लागिएको कार्यक्रममा खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, गायक राजेशपायल राई, नायक दयाहाङ राई र नायिका एलिशा राईको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिनेगरी निर्माण गरिएको यलम्बर पार्कभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे ट्रष्टसहितको कुर्सी, निःशुल्क वाइफाई सेवा, कफी तथा फास्टफुड सेवा उपलब्ध हुने जनाइएको छ । फाइबर प्रयोग गरेर निर्माण गरिएको यलम्बरको शालिकसहितको यलम्बर पार्क उमा–तुवाचुङ–अनसुवी जेभी निर्माण कम्पनीले करिब रु १४ करोड लागतमा निर्माणको काम सम्पन्न गरेको हो ।

पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बर पार्कमा अन्य सुविधा सम्पन्न ठाउँमा हुने सबै सेवा सुविधा उपलब्ध हुने बुइपाका वडाध्यक्ष दिनेश राईले बताउनुभएको छ । “चारैतिर घेराबारले घेरिएको यलम्बर पार्कको बीचमा यलम्बरको विशाल शालिक राखेका छौँ । आधुनिक प्रविधि प्रयोग गरेर निर्माण गरिएको यलम्बर पार्क निक्कै आकर्षक बनेको छ”, उहाँले भन्नुभयो, “यलम्बरको शालिकसहितको यलम्बर पार्कले नगरपालिकाको आन्तरिक स्रोतसमेत वृद्धि गर्ने अपेक्षा गरिको छ । वैशाख–१८ गतेबाट औपचारिक रुपमा सञ्चालनमा ल्याएर थप व्यवस्थापनको काम गर्ने छौँ ।”

हरेक हप्ताको शुक्रबार हटिया लाग्ने बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बरको शालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो भएको निर्माण उपभोक्ता समितिले दाबी गरेको छ । बुइपामा विश्वकै अग्लो र ठूलो यलम्बरको शालिकसहित आधुनिक प्रविधिको पार्क निर्माण भएपछि जिल्लाको पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउने उद्देश्यले बुइपाबजारस्थित पञ्चदोबाटोमा किराती प्रथम राजा यलम्बरको पूर्ण कदको शालिकसहितको यलम्बर पार्क निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले बताउनुभएको छ । “यलम्बर पार्क निर्माण गर्ने आयोजनालाई प्रदेश सरकार र नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेको थियो । यो पार्कले नगरपालिकाको मात्र नभइ प्रदेशकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “यलम्बरको शालिकसहितको पार्कलाई नगरपालिकाले गौरवको आयोजनामा राखेर निर्माण सम्पन्न गरिएको छ । पार्कको आम्दानीमध्ये ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेश सरकारमा जम्मा हुने सम्झौतामा उल्लेख छ ।”

कालोपत्रको काम भइरहेको सगरमाथा लोकमार्गको दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने बुइपास्थित पञ्चदोबाटोमा निर्माण गरिएको यलम्बर पार्क पर्यटकका लागि आवत/जावत गर्नसमेत सहज हुने देखिएको छ । हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी नजिक रहेको बुइपामा निर्माण गरिएको यलम्बर पार्कमा हलेसी आउने पर्यटकलाई समेत घुमाउन ल्याउन सकिने उपभोक्ता समितिले जनाएको छ ।

यलम्बर पार्कदेखि किराती सभ्यताको उद्गमथलो मानिने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान र सोही नगरपालिकाको वडा नं. १० अर्खौलेको सिमानामा पर्ने तुवाचुङ–जायजुमसम्म पदमार्ग निर्माण गर्ने योजनासमेत बनाइएको छ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले यलम्बर पार्कलाई निक्कै महत्वका साथ हेरिएको छ ।

तपाईको प्रतिक्रिया