‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिता भदौ–४ गते काठमाडौँमा हुने

Halesi Khabar
0 Shares

खोटाङ, २० वैशाख । ‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिता आगामी भदौ–४ गते काठमाडौँमा हुने भएको छ । गाउँ तथा कुनाकन्दरामा लुकेर रहेका प्रतिभाहरुलाई खोजि गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले खोटाङ कलाकार समाजले ‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिस्पर्धामा जिल्लाका दशवटै स्थानीय तहबाट गायन तथा नृत्य विद्यामा एक÷एकजना प्रतिभा छनोट गरिएको आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले जानकारी दिनुभयो । “स्थानीय तहबाट छनोटमा परेका प्रतिभालाई कम्तिमा एक महिना प्रशिक्षण दिएर काठमाडौँमा आयोजना गरिने प्रतिस्पर्धामा सहभागी गराउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “छनोटमा परेका प्रतिभाहरुलाई आउन÷जान तथा खान÷बस्नको व्यवस्था आयोजकले गर्ने छ । यो नवप्रतिभाहरुका लागि ठूलो अवसर पनि हो ।”

पालिकास्तरीय प्रतियोगिताबाट छनोटमा परेका प्रतिभाहरु आयोजकले बुधबार दिक्तेलमा पत्रकार सम्मलेनमार्फत सार्वजनिक गरेको छ । आयोजकले सार्वजनिक गरेको नतिजा अनुसार गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट प्रदीप राई, हलेसी तुवाचुङ नगरपालिकाबाट अस्विन राई, बराहपोखरी गाउँपालिकाबाट लक्ष्मण परियार, जन्तेढुङ्गा गाउँपालिकाबाट दुर्गा राई, खोटेहाङ गाउँपालिकाबाट विकास राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट दिलीप राई, केपिलासगढी गाउँपालिकाबाट राजेश राई, ऐसेलुखर्क गाउँपालिकाबाट सुमन राई, रावाबेँसी गाउँपालिकाबाट ममता राई र साकेला गाउँपालिकाबाट रवीन दियाली चयन हुनुभएको छ ।

यस्तै, नृत्यतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सलिना भुजेल, हलेसी तुवाचुङ नगरपालिकाबाट स्मृति राई, बराहपोखरी गाउँपालिकाबाट सुवास विश्वकर्मा, जन्तेढुङ्गा गाउँपालिकाबाट करुणा राई, खोटेहाङ गाउँपालिकाबाट कविता श्रेष्ठ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट मनिता राई, केपिलासगढी गाउँपालिकाबाट सौलिना राई, ऐसेलुखर्क गाउँपालिकाबाट सरिना राई, रावाबेँसी गाउँपालिकाबाट चिसन मगर र साकेला गाउँपालिकाबाट सुजता भुजेल चयन हुनुभएको छ । जिल्लाको ग्रामीण तथा सुदुर गाउँहरुमा लुकेर तथा छलिएर बसेका सयौँ प्रतिभाहरुमध्ये प्रत्येक पालिकाबाट गायन तथा नृत्य विद्यामा तीन÷तीनजना प्रतिभा छनोट गरिएको जनाइएको छ ।

पालिकास्तरीय प्रतियोगिताबाट दुई विद्यामा ३०÷३० जना नवप्रतिभा छनोट गरिए पनि काठमाडौँमा हुने फाइनल प्रतिस्पर्धामा पालिकास्तरीय प्रतियोगितामा प्रथम भएका एक÷एकजना प्रतिभालाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ । गत वैशाख–५ गते बाराहापोखरी गाउँपालिकाबाट शुरु गरिएको पालिकास्तरीय प्रतिभा छनोट प्रतियोगिता वैशाख–१९ गते साकेला गाउँपालिकामा आएर समापन गरिएको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिनुभयो ।

खोटाङ सेवा समाज बेलायतसँगको सहकार्यमा आयोजना गरिएको ‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिताका विजयीलाई नगद पुरस्कार दिने तयारी गरिए पनि राशिको बारेमा निर्णय गर्न बाँकी रहेको महासचिव राईले बताउनुभयो । “प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतिभालाई ठूलै राशिको पुरस्कार दिने सल्लाह भइरहेको छ”, उहाँले भन्नुभयो, “दाता तथा सुभेच्छुक संस्थाको सहयोगमा कार्यक्रम गरिने भएकाले सहयोग रकम सङ्कलन भएपछि राशिको बारेमा निर्णय गर्ने योजनामा बनाएका छौँ ।”

काठमाडौँमा हुने प्रतियोगिता अन्य रियालिटी शोभन्दा कम नहुने आयोजकले दाबी गरेको छ । ‘नयाँ प्रतिभालाई प्रोत्साहन, पूराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजि गर्दै समाजलाई सु–सँस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने मुल नाराका साथ ‘खोटाङ प्रतिभा–२०८०’ छनोट कार्यक्रम आयोजना गरिएको हो ।

खोटाङ घर भइ काठमाडौँलाई कार्यक्षेत्र बनाएर गीत÷सँगीतलाई आफ्नो पेशाको रुपमा अङ्गालेका खोटाङ्गे कलाकारहरुले वि.सं. २०७७ सालमा ‘खोटाङ कलाकार समाज’ गठन गरेको थियो । कला र साहित्यमा रुचि राखेर त्यसैमा आफ्नो भविष्य खोज्दै निरन्तर सङ्घर्ष गरिरहेका खोटाङ्गे कलाकारहरुको साझा मञ्चको रुपमा खोटाङ कलाकार समाज स्थापना गरिएको उनीहरुले बताएका छन् ।

खोटाङ कलाकार समाजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरु सहभागी छन् । खोटाङ कलाकार समाजले स्थापनाकालबाटै मातृभूमि खोटाङ तथा राजधानी काठमाडौँमा साँगीतिक क्षेत्रको प्रवद्र्धन गर्न विभिन्न क्रियाकलाप गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया