आफ्नै आरसिसि भवनमार्फत कुभिण्डेको प्रशासनिक सेवा प्रवाह शुरु

Halesi Khabar
84 Shares

खोटाङ, २ वैशाख । रावाबेँसी गाउँपालिका–१ कुभिण्डे वडा कार्यालयले आफ्नै आरसिसि कार्यालय भवनमार्फत प्रशासनिक सेवा प्रवाह शुरु गरेको छ । स्थानीय सामुदायिक भवनमा सञ्चालन हुँदै आएको वडा कार्यालयले आइतबारदेखि औपचारिक रुपमा आफ्नै आरसिसि भवनमार्फत प्रशासनिक सेवा प्रवाह शुरु गरेको हो ।

ठेकेदार कम्पनी शिव–खिम्ती–धुम जेभीले निर्माण गरेको वडा कार्यालय भवन गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठ र उपप्रमुख कौशिला गुरुङले रिबन काटेर उद्घाटन गर्नुभएको छ । गाउँपालिकाले गत वर्ष विनियोजन गरेको रु ४४ लाख (भ्याटसहित) बजेटमा छ कोठा भएको एकतले आरसिसि भवन निर्माण गरिएको हो ।

सामुदायिक भवनको साँघुरो कोठामा सञ्चालन गरिएको वडा कार्यालय आफ्नै भवनमा सरेपछि सेवा प्रवाहमा समेत सहज भएको वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिनुभएको छ । छ वडा रहेको रावाबेँसी गाउँपालिकामा यसअघि नै तीनवटा वडाको आरसिसि कार्यालय भवन निर्माण सम्पन्न भएको थियो ।

वडा नं. २ खार्पा, वडा नं. ४ डुम्रधारापानी र वडा नं. ६ हौँचुरमा भने अहिलेसम्म वडा कार्यालय भवन निर्माण गरिएको छैन । तीनवटै वडाको प्रशासनिक काम तत्कालीन गाउँ विकास समिति (गाविस)को भवनमा सञ्चालन भइरहेको जनाइएको छ ।

वडा कार्यालय भवन निर्माण गर्न बाँकी तीनवटै वडाको लागि टेन्डर (आसयपत्र आव्हान) गरिएको गाउँपालिका प्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिकाको प्रशासनिक भवनसमेत निर्माणाधीन अवस्थामा छ ।

सङ्घीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशतगरी रु चार करोड ७६ लाख १६ हजार ७९० लागतमा गाउँपालिकाको सुविधा सम्पन्न भवन निर्माणको काम शुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले जानकारी दिनुभएको छ । ३० महिनाभित्र सक्नेगरी निर्माण कम्पनी एसई–धुम–एमकेएस जेभीले प्रशासनिक भवन निर्माणका लागि गत असोज–२१ गते सम्झौता गरेको थियो ।

तपाईको प्रतिक्रिया