माध्यमिक विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगितामा महेश्वरीको शिशु मावि प्रथम

Halesi Khabar
259 Shares

खोटाङ, २६ फागुन । ऐसेलुखर्क गाउँपालिकामा सञ्चालन गरिएको माध्यमिक विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगितामा वडा नः ५ महेश्वरीको शिशु माध्यमिक विद्यालय प्रथम भएको छ । नारी दिवसको अवसर पारेर प्रयास नेपालले आयोजना गरेको प्रतियोगितामा वडा नं. ३ ऐसेलुखर्कको त्रिभुवन माध्यमिक विद्यालय द्धितीय तथा वडा नः ४ जलेश्वरीको सिम्ले माध्यमिक विद्यालय तृतीय भएका छन् ।

दुई दिनसम्म (फागुन–२५ र २६ गते) सञ्चालन भएको प्रतियोगितामा वडा नं. २ बाकाचोलस्थित बादेलमा सञ्चालित जालपा माध्यमिक विद्यालय चौथो भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई कप, मेडल, १÷१ वटा भलिबल, प्रमाणपत्र तथा चौथो हुनेलाई भलिबल, प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ ।

प्रतियोगितामा सहभागी सबै विद्यालय र खेलाडीहरुलाई प्रमाणपत्रका साथमा यातायात खर्चसमेत प्रदान गरिएको आयोजक प्रयास नेपालका कार्यक्रम संयोजक राजकुमार रिजालले जानकारी दिनुभएको छ । प्रतियोगिताका विजयी खेलाडी तथा विद्यालयलाई गाउँपालिका प्रमुख गिरेन्द्रबहादुर राईले पुरस्कार प्रदान गर्नुभएको थियो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गर्दै छात्राको शारीरिक र मानसिक विकासमा सहयोग गर्ने उद्देश्यले माध्यमिक विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका सञ्चालित आठवटा माध्यमिक विद्यालयका खेलाडीको सहभागिता रहेको थियो ।

प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राई अध्यक्षता सम्पन्न कार्यक्रममा वडाध्यक्ष टेकेन्द्र राजभण्डारी, विद्यालयका प्रधानाध्यापकहरु, उद्योगी तथा व्यापारी लगायतको उपस्थिति रहेको थियो । प्रयास नेपालले गाउँपालिकासँगको समन्वयमा जी फाउण्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन गरेको हो ।

प्रयास नेपालले ऐसेलुखर्क गाउँपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, कृषिमा व्यावसायीकरण, कृषि तथा पोषणमा सुधार, विद्यालय भवन, खानेपानी र सिँचाइ निर्माण लगायका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । प्रयास नेपालले सञ्चालन गर्दै आएको कार्यक्रम प्रभावकारी रहेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया