निःशुल्क आँखा शल्यक्रिया शिविरमा ५१५ जना लाभान्वित

Halesi Khabar
0 Shares

खोटाङ, ३० चैत । दिक्तेलमा आयोजना गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा खोटाङ जिल्लाका ५१५ जना आँखाका बिरामी लाभान्वित भएका छन् । फेमिली केयर अस्पताल खोटाङ र नवदृष्टि आँखा अस्पताल ईटहरी सुनसरीले संयुक्त आयोजना गरेको दुई दिने शल्यक्रियासहितको निःशुल्क आँखा उपचार शिविरमा १९६ जना पुरुष र ३१९ जना महिलागरी ५१५ जनाले सेवा लिएका हुन् ।

दिक्तेलस्थित किराँतचोकमा सञ्चालित फेमिली केयर अस्पतालको भवनमा आयोजना गरिएको शिविरमा ४८ जना जटिल किसिमका आँखाका रोगीको शल्यक्रिया गरिएको नवदृष्टि आँखा अस्पतालका प्रमुख डा. विजय गौतमले जानकारी दिनुभएको छ । आयोजकका अनुसार आँखाका निःशुल्क शल्यक्रिया गराउनेमा जिल्लाका विभिन्न ठाउँबाट आएका २५ जना पुरुष र २३ जना महिला रहेका छन् ।

शिविरमा तीन जनाको सामान्य किसिमको (आँखामा मासु पलाएको) बिरामीको शल्यक्रिया गरिएको जनाइएको छ । शिविरमा आएका अधिकांश बिरामीलाई निःशुल्क औषधि तथा शल्यक्रिया गरिएका बिरामीलाई चस्मा वितरण गरिएको आयोजकले जनाएको छ ।

चैत–२८ र २९ गते दिक्तेलमा आयोजित शिविर सञ्चालनका लागि ईटहरीबाट विशेषज्ञ डाक्टरसहित १३ जना स्वास्थ्यकर्मीको टोली आएका थिए । शिविरमा आएका स्वास्थ्यकर्मीको टोलीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईले धन्यवादसहित बिदाई गर्नुभएको छ ।

अस्पतालमा उपचारका लागि आउने अधिकांश आँखाका बिरामीमा जटिल किसिमको समस्या देखिएकाले विशेषज्ञ चिकित्सकसहितको प्राविधि टोली झिकाएर जिल्लामै निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको फेमिली केयर अस्पतालका प्रमुख डा.के.के राईले जानकारी दिनुभएको छ । शिविरमा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी फेमिली केयर अस्पतालले निर्वाह गरेको जनाइएको छ ।

शिविरमा आएका अधिकांश आँखाका बिरामीमा मोतियाबिन्दुको समस्या देखिएको प्रमुख डा. गौतमले बताउनुभएको छ । मोतियाबिन्दु मानिसको उमेर बढ्दै जाँदा लाग्ने रोग भएको चिकित्सकहरुले बताएका छन् ।

यसैबीच, नेत्र ज्योति सङ्घ खोटाङले आगामी वैशाख–२७, २८ र २९ गते निःशुल्क शल्यक्रियासहितको शिविर आयोजना गरेको छ । सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको प्राविधिक सहयोगमा नेत्र ज्योति सङ्घले दिक्तेलस्थित आँखा उपचार केन्द्र दिक्तेलमा शिविरको आयोजना गरेको हो ।

बीस वर्षअघि अर्थात वि.सं. २०६० वैशाख–१० गते खोटाङमा स्थापना गरिएको नेत्र ज्योति सङ्घले हरेक वर्ष जिल्लाका विभिन्न ठाउँमा निःशुल्क शल्यक्रियासहितको शाँखा उपचार शिविर सञ्चालन गर्दै आएको छ । दश स्थानीय तह रहेको जिल्लामा करिब एक हजार ५०० को हाराहारीमा आँखाका रोगी रहेको नेत्र ज्योति सङ्घ खोटाङले सङ्कलन गरेको तथ्याङ्कले देखाएको छ ।

तपाईको प्रतिक्रिया