‘श्रमजीवि मिडिया सञ्जाल’ कोशी प्रदेशको अध्यक्षमा खोटाङका भीम राई चयन

Halesi Khabar
0 Shares

खोटाङ, १ असोज । कोशी प्रदेशमा प्रेस सेन्टर नेपालमा आवद्ध प्रदेशभरीका मिडिया (सञ्चार गृह) सञ्चालकहरु सङ्गठित भएका छन् । गत भदौ–३० र ३१ गते इलामको सन्दकपुरमा भएको प्रेस सेन्टर नेपालको प्रदेशस्तरीय मिडिया सम्मेलनले ‘श्रमजीवि मिडिया सञ्जाल’ गठन गर्दै मिडिया सञ्चालकहरु सङ्गठित भएका हुन् ।

एघार सदस्यीय सञ्जालको अध्यक्षमा खोटाङका अग्रज पत्रकार एवम् किराँतकोशी डटकमका सम्पादक भीम राई तथा सचिवमा राम योङहाङ सर्वसहमत चयन हुनुभएको छ । सञ्जालको सदस्यहरुमा मोहन भट्टराई, अर्जुन आचार्य, सत्यनारायण शर्मा, बिक्रम राई, प्रमोद यादव, गणेश तिम्सिना, लीलाराज झापाली, झुलन रेग्मी र एलिना दियाली सर्वसहमत चयन हुनुभएको छ ।

सञ्जालको सल्लाहकारमा बरिष्ठ पत्रकार गंगा बराल, महेश्वर चाम्लिङ र दिपिन राई चुनिनुभएको छ । श्रमजीवि पत्रकारहरुले स्वरोजगारमूलक हिसाबले सञ्चालन गरिरहेका मिडियाहरुको हकहित संरक्षण तथा ती मिडियाहरुको प्रवद्र्धधनमा सञ्जालले सहयोग गर्ने जनाइएको छ ।

स्वरोजगारमूलक हिसाबले श्रमजीवि पत्रकारहरुले सञ्चालन गरिरहेका मिडियाको हकहित, संरक्षण तथा प्रबद्र्धनमा सहयोग गर्ने उद्देश्यले ‘श्रमजीवि मिडिया सञ्जाल’ स्थापना गरिएको अध्यक्ष राईले बताउनुभयो । “सम्मेलनले १४ बुदे सन्दकपुर घोषणापत्र–२०८० समेत पारित गरेको छ । स्थानीय पत्रकारिताको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न सङ्घ, प्रदेश र स्थानीय तहसँग माग गर्ने लगायतका १४ वटा बुदा समेटिएको छ”, उहाँले भन्नुभयो, “मिडिया मजबुत भएमात्र दश वर्षे जनयुद्ध तथा १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धी कार्यान्वयन हुन्छ भन्ने हाम्रो ठम्याइ हो । स्वरोजगारमूलक मिडियाहरुलाई प्रवद्र्धन गर्न तीनवटै तहका सरकारले ध्यान दिन जरुरी छ ।”

बरिष्ठ पत्रकार गणेश लम्सालको संयोजकत्वमा तयार पारिएको घोषणापत्रमा पत्रकारिताको विकास गर्न ठोस नीति र कार्यक्रम बनाएर बजेटसमेत विनियोजन गर्न माग गरिएको छ । स्थानीय तहमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धिसँगै आफ्नै मिडिया नीति बनाउन प्रदेशभरिका सबै स्थानीय सरकारसँग माग गरिने घोषणापत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया