प्रविधिमैत्री गाउँपालिका बनाउन साकेलामा डिजिटल प्रोफाईल र मोबाइल एपस्

Halesi Khabar
0 Shares

खोटाङ, १९ असार । साकेला गाउँपालिकालाई पूर्णरुपमा डिजिटल गाउँपालिका बनाउने कामको शुरुवात गरिएको छ । सूचना, प्रविधि र सञ्चारको प्रयोगगरी गाउँपालिकालाई प्रविधिमैत्री बनाउँदै सुशासनतर्फ अग्रसर बनाउने उद्देश्यका साथ गाउँपालिकाले डिजिटल गाउँपालिका निर्माणको काम शुरु गरेको हो ।

डिजिटल पालिका निर्माण गर्ने अभियान अन्तरगत गाउँपालिकाले आफ्नै मोबाइल एपस्समेत सञ्चालनमा ल्याएको छ । उक्त एपस् प्रयोग गर्नका लागि आफ्नो मोबाइलको प्ले स्टोरबाट एपस् डाउनलोड गरी डिजिटल पालिका निर्माण सम्बन्धी गतिविवधि हेर्न र प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाको हरेक काम कारबाही र गतिविधिलाई विद्युतीय प्रणालीमार्फत सेवाग्राहीलाई बिना झण्झट सुविधा प्रदान गर्ने पालिकाको उद्देश्य रहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिनुभयो । “गाउँपालिकाले सञ्चालनमा ल्याएको एपमार्फत घरमै बसिबसी सरकारको सुविधा उपभोग गर्न पाइन्छ”, उहाँले भन्नुभयो “पालिकाको गौरवको योजनाहरुमध्ये प्रविधिमैत्री डिजटल पालिका र पेपरलेस कार्यालय निर्माण गर्दै देशकै उत्कृष्ट पालिका बनाउने योजनामा छौँ ।”

गाउँपालिकाले निर्माण गरिरहेको पाँच वर्षे आवधिक गुरु योजनामा समेत डिजिटल पालिकालाई गौरवको योजनामा अघि सारेको छ । सोही योजनालाई प्राथमिकता दिँदै गाउँपालिकाले डिजिटल पालिका निर्माणको कार्य शुरुवात गरेको हो ।

उक्त कार्यका लागि गाउँपालिका प्रमुख राईको अध्यक्षतामा सोमबार गाउँपालिकाको सभाहलमा डिजिटल भिलेज प्रोफाईल निर्माण सम्बन्धी पहिलो चरणको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । छलफलमा गाउँपालिका प्रमुख राईले डिजिटल प्रोफाईल निर्माण सम्पन्न भइसकेपछि नागरिकले यसअघिसम्म सामान्य कामका लागिसमेत वडा तथा गाउँपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता अन्य हुने बताउनुभयो ।

अर्थतन्त्रलाई टेवा पुग्ने प्रकारका विकास योजनाहरु, पर्यटन प्रवद्र्धन हुने प्रकारका योजना, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा समेत पालिकालाई विकास गर्दै लगिने गाउँपालिका प्रमुख राईले बताउनुभयो । पालिकाले निर्माण शुरु गरेको डिजिटल भिलेज प्रोफाईलमा साकेलाबासीको सत्यतथ्य विवरणसहित वैयत्तिक विवरणदेखि वडा अनुसारको विवरण, घरधुरीहरुको स्मार्ट विवरण, सार्वजनिक स्थलहरु, सुशासनको क्षेत्रदेखि व्यक्तिगत घटना, नागरिक वडापत्र, डिजिटल सिफारिस, आकस्मिक सेवा, भुक्तानी, शिक्षा, स्वास्थ्य, कृषि लगायत जनप्रतिनिधि र नागरिकबीचको सहकार्यका विषयहरुलाई समेटिनेछ ।

पालिकालाई सूचना तथा आधुनिक प्रविधिको माध्यमद्धारा सशक्त बनाइ हरेक नागरिकलाई डिजिटल प्रविधिको प्रयोगमा अग्रसर गराउने उद्देश्य गाउँपालिकाको रहेको उपप्रमुख बिर्सिका राईले बताउनुभयो । प्रोफाईल निर्माण सम्पन्न भएपश्चात नागरिकले विद्युतीय सुशासन अन्तरगत डिजिटल विधिद्वारा सिफारिस, जुनसुकै ठाउँबाट घटना दर्ता, डिजिटल नागरिक वडापत्र तथा भुक्तानी, पेपरलेस पञ्जीकरणको सुविधा लगायत ऐन, नियम र निर्देशिका, जनगुनासो, कर भुक्तानी लागायतको सेवा प्राप्त गर्नेछन् ।

डिजटल भिलेज प्रोफाईल निर्माणको प्राविधिक सहयोग स्मार्ट पालिका प्रा.लि. काठमाडौँले गरिरहेको छ । डिजटल भिलेज प्रोफाईल निर्माणको पहिलो चरण अन्तरगत जनप्रतिनिधि, सरोकारवाला निकाय लगायतको उपस्थितिमा अन्तरक्रिया गरिएको हो ।

तपाईको प्रतिक्रिया