एमाले खोटाङलाई एकढिक्का बनाएर अगाडि बढ्छु : नवनिर्वाचित अध्यक्ष राई

Halesi Khabar
2.7k Shares

खोटाङ, २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका नवनिर्वाचित अध्यक्ष देवबिक्रम राईले सिङ्गो पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ । एमाले खोटाङको आठौँ जिल्ला अधिवशेनबाट अध्यक्षमा निर्वाचित राईले आइतबार पद बहालीपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै निर्वाचनमार्फत सम्पन्न गरिएको अधिवेशनलाई कसैको जित या हारको रुपमा नभइ निर्वाचन पार्टीको एउटा प्रक्रियामात्र भएको बताउनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष राईले एमाले खोटाङमा गरिएको निर्वाचनले पार्टीमा स्वस्थ प्रतिस्पर्धा, एकता र सद्भावको सन्देशलाई प्रवाह गरेको बताउनुभएको छ । खोटाङको इतिहासमा पहिलो पटक निर्वाचनबाट चुनिएको जिल्ला कार्यसमितिले अधिवेशन सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएको छ ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री उषाकला राईले एमाले खोटाङमा भएको निर्वाचनले नेता तथा कार्यकर्तामा नयाँ उर्जा थपेको प्रतिक्रिया दिनुभएको छ । “एमाले खोटाङले लोकतान्त्रिक पद्धति अपनाएको छ । यसले नेता तथा कार्यकर्तामा नयाँ उर्जा थपेको छ”, उहाँले भन्नुभयो, “नयाँ कार्यसमितिका कम्रेडहरुले पुराना नेताहरुको अनुभवलाई आत्मसाथ गर्नसक्नुपर्छ । नयाँ र पुराना नेताहरुको एकताले मात्र पार्टीलाई नयाँ दिशामा अगाडि बढाउन सकिन्छ ।”

पत्रकार सम्मेलनमा अध्यक्षका प्रत्यासी निवर्तमान अध्यक्ष रामप्रसाद दंगालले नवनिर्वाचित जिल्ला कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै निर्वाचनपछि बिगतका सबै कुरा भुलेर मिशन–८४ मा लाग्नुको विकल्प नरहेको प्रतिक्रिया दिनुभएको छ । दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा आयोजित कार्यक्रममा नवनिर्वाचित र निवर्तमान जिल्ला कार्यसमितिका पदाधिकारीबीच शुभकामना आदानप्रदानसमेत भएको थियो ।

गत चैत–३० गते राति दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न जिल्ला अधिवेशनबाट अध्यक्षमा राई, उपाध्यक्षमा कुमार आचार्य, सचिवमा सुरेन्द्रकुमार राई तथा उपसचिवमा राजनकुमार बञ्जरा र कविता राई विजयी हुनुभएको थियो । पाँच पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कार्यसमिति चयन गर्न आयोजित आठौँ जिल्ला अधिवेशनमा सचिवबाहेक अन्य पदाधिकारीमा निर्वाचन भएको थियो ।

अध्यक्षका अर्का प्रत्यासी निवर्तमान अध्यक्ष रामप्रसाद दंगाललाई १५२ मतले पछि पार्दै निवर्तमान उपाध्यक्ष राई अध्यक्षमा विजयी हुनुभएको निर्वाचन मण्डलका प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । अध्यक्षमा विजयी राईले ३३९ मत ल्याउँदा उहाँका प्रतिद्धन्द्धी दंगालले १८७ मत मात्र ल्याउनुभएको हो ।

उपाध्यक्षमा राई समूहकै कुमार आचार्य ३५८ मतसहित विजयी हुनुभएको थियो । उपाध्यक्षका अर्का प्रत्यासी उपिनकुमार राईलाई २२४ मतले पछि पार्दै निवर्तमान सचिव आचार्य उपाध्यक्षमा विजयी हुनुभएको हो ।

सातजना नेताको प्रतिस्पर्धा भएको खुलातर्फको एकजना उपसचिव पदमा बञ्जराले १४० मत ल्याएर विजयी हुँदा उहाँका निकटतम प्रतिद्धन्द्धी गीरेन्द्रबहादुर राईले १३५ मत प्राप्त गर्नुभएको थियो । समावेशी उपसचिवमा राईले ४१२ मत ल्याएर विजयी हुँदा उहाँका प्रतिद्धन्द्धी भगवती प्रधानले ८० मतमात्र ल्याउनुभएको हो ।

पदाधिकारी बाहेक अधिकांश जिल्ला कार्यसमिति सदस्य निर्विरोध चयन गरेको अधिवेशनले सात सदस्यीय लेखा समितिसमेत चयन गरेको छ । लेखा समिति संयोजकमा उमेश पौडेल सर्वसहमतिमा चयन भए पनि उपाध्यक्षमा निर्वाचन भएको थियो ।

दुईजना प्रतिस्पर्धीबीच भएको लेखा समिति उपाध्यक्षको निर्वाचनमा निर्मला थापा (आचार्य) विजयी हुनुभएको छ । आचार्यले नन्दकुमार तामाङलाई १०७ मतले पछि पार्दै उपाध्यक्षमा विजयी हासिल गर्नुभएको हो ।

चैत–२८ गते एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्नुभएको एमाले खोटाङको आठौँ जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि निर्वाचनमा होमिएको थियो । अधिवेशनका लागि एमालेले ५६६ जना प्रतिनिधि छनोट गरेकोमा ५३९ मतमात्र खसेको जनाइएको छ ।

अध्यक्षमा विजयी राईलाई पोलिटब्यूरो सदस्य विशाल भट्टराई लगायतको साथ रहेको थियो भने, पराजित दंगाललाई केन्द्रीय सदस्यहरु उषाकला राई, रमेश पौडेल, खगेन्द्र राई लगायतको साथ रहेको थियो थियो । निर्वाचनमा तीन÷तीनजना केन्द्रीय सदस्य तथा दुईजना गाउँपालिका प्रमुखको साथ पाएको निवर्तमान दंगालको प्यानेल (समूह) नै पराजित भएको समाचार स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया