खोटाङ, १४ वैशाख । खोटाङमा तीन स्थानीय तहले आइतबार पनि विद्यालयहरुमा पठनपाठन सञ्चालन गर्ने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र खोटेहाङ गाउँपालिकाले आइतबार पनि पठनपाठन गराउने निर्णय गरेको हो ।
सङ्घीय सरकारले शैक्षिक संस्थामा आइतबार सार्वजनिक बिदा दिनुपर्ने निर्देशन दिएपनि तीन पालिकाले आइतबार शैक्षिक संस्था खुलाउने निर्णय गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले वैशाख–१२ गते बसेको कार्यपालिका बैठकबाट आइतबार पनि पठनपाठन गराउने निर्णय गरेको हो ।
सङ्घीय सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेपनि विद्यमान पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न नसकिने भन्दै तीन पालिकाले आइतबार पनि पठनपाठन गराउने निर्णय गरिएको जनाएको छ । वैशाख–१५ गते भर्ना सुरु गर्नुका साथै विद्यालयसमेत सञ्चालन गरिने नगरप्रमुख तीर्थराज भट्टराइले बताउनुभएको छ ।
नगरपालिकाभित्र ८६ वटा सामुदायिक र ११ वटा निजी विद्यालय छन् । वि.सं. २०८२ मा पालिकाभरि तीन हजार ८३६ विद्यार्थी सङ्ख्या रहेको नगरपालिकाले जनाएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्य संस्थाहरुमा आइतबार अति आवश्यक सेवा दिनेसमेत निर्णय गरेको छ । उता, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वैशाख–११ गते बसेको गाउँ कार्यपालिका बैठकले सङ्घीय सरकारको निर्देशन कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।
आइतबार सार्वजनिक बिदा दिँदा पाठ्यभार पूरा गर्न नसकिने निष्कर्षसहित बिदा कटौती गर्ने निर्णय गरेको गाउँपालिका प्रमुख लोकेन्द्र राईले बताउनुभएको छ । सङ्घीय सरकारले वैशाख–१५ गतेबाट भर्ना अभियान र वैशाख–२१ गतेबाट पठनपाठन सुरु गर्न निर्देशन दिएको छ ।
सङ्घीय सरकारको निर्देशन अनुसार पठनपाठन गर्दा विद्यमान पाठ्यक्रम नसकिने भएकाले वैशाख–१५ गतेबाटै नियमित पठनपाठन सुरु गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता भूपेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । गाउँपालिकाभित्रका सबै विद्यालयले विद्यार्थी भर्ना पनि स्वतःस्फूर्त सञ्चालन गरिरहेका छन् ।
यसअघि खोटेहाङ गाउँपालिकाले पनि सङ्घीय सरकारलाई चुनौति दिनेगरी वैशाख–१० गतेसम्म भर्ना अभियान सञ्चालन गरेर वैशाख–१३ गतेदेखि पठनपाठन सुरु गरिसकेको छ । भर्ना अभियान सकेर नियमित पठनपाठन सुरु गरिएको गाउँपालिकाका विद्यालय निरीक्षक मानबहादुर पौडेलले जानकारी दिनुभएको छ ।
पाठ्यक्रमले तोकेको पाठ्यभार पूरा गर्न नसकिने उल्लेख गर्दै गाउँपालिकाले सङ्घीय सरकारको समय सीमाभन्दा अगाडिबाटै विद्यालय खुलाएको जनाएको छ । यस्तै, सरकारी कार्यालयमा आइतबार सार्वजनिक बिदा दिनुपर्ने निर्देशनलाई पनि हाललाई कार्यान्वन नगर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।


