सिंगारिँदै एमाले १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल

Halesi Khabar
0 Shares

चितवन, ७ मंसिर ।

चितवनमा हुन लागेको नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाइएको छ । महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी छ । १० मंसिरमा नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा देशभरबाट पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ । उद्घाटन स्थलमा विशाल मञ्च निर्माण हुँदै छ ।

मञ्च निर्माणको काम ५० प्रतिशत सकिएको एमाले केन्द्रीय सदस्य एवं स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले जानकारी दिनुभयो । मञ्च चार खण्डमा निर्माण हुने छ । मञ्चको पश्चिमतर्फ एमाले महाधिवेशनको झण्डा बोकेको गैंडाको मस्कट राखिने छ । बुधबार बेलुकीसम्म मञ्चको ७५ प्रतिशत काम सकिने उहाँले बताउनुभयो ।

उद्घाटन स्थलमा मञ्च निर्माणसँगै प्रचार-प्रसारका साइन बोर्डहरू पनि धमाधम बनाइएको छ । नारायणी नदीको पारिपट्टी गैंडाकोटतर्फको किनारमा पनि एमालेको ठूलो बोर्ड राखिएको छ । नदीको दुवै किनारमा सहभागीहरूलाई राख्ने एमालेको योजना छ । टाढा बस्ने सहभागीहरूका लागि ठूलो डिस्प्ले बोर्डको व्यवस्था गरिने श्रेष्ठले बताउनुभयो । ११ र १२ मंसिरमा बन्द सत्र हुने सौराहामा दुई हजार प्रतिनिधि हटाउने हल निर्माण गरिएको छ ।

‘उद्घाटन सत्र हुने स्थान र बन्द सत्र हुने स्थानमा पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । मञ्च र हलको निर्माण कार्य सम्पन्न गरेर ९ मंसिर बेलुकीसम्म तयार भइसक्छ’, उहाँले भन्नुभयो । विभिन्न स्थानमा स्वागत द्वारहरू पनि निर्माण गरिएको छ । पुलचोक, आँपटारी, भरतपुर लगायतका स्थानमा स्वागतद्वार निर्माण गरिएको महाधिवेशन प्रचार-प्रसार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताउनुभयो ।

महाधिवेशनको प्रचारप्रसारका लागि मंगलबार भरतपुर र नारायणगढमा मोटरसाइकल र्याली निकालिएको छ । युवा संघ नेपाल चितवनको आयोजनामा गरिएको र्यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी भएका आयोजकले जनाएको छ । जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइकलसहित आएका युवाहरू एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर र्यालीमा सहभागी भएका हुन् ।

नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल र्यालीले भरतपुर महानगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको हो । एमाले महाधिवेशने प्रचार प्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको र्याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा आएर समापन भएको थियो ।

युवा संघ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल र्यालीको आयोजना गरिएको बताउनुभयो । भरतपुरसँग जिल्लाका अन्य पालिकाहरूमा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल र्याली निकालिएको उहाँले सुनाउनुभयो । नेकपा एमालेको केन्द्रीय निर्देशन अनुसार आज नवलपुर, मकवानपुर सहित देशका मुख्य सहरहरूमा युवा संघले मोटरसाइकल र्याली निकालेको थियो ।
जनता टाइम्स डटकम

तपाईको प्रतिक्रिया