दशैँ मनाउन घर हिँडेका नौँ वर्षीय बालकको दुर्घटनामा मृत्यु, बुबाआमा गम्भीर घाइते

Minakshi Rai
।

खोटाङ, ३१ असोज । दशैँ मनाउन घर फर्कँदै गरेको अवस्थामा काभ्रेमा ग्याँस बुलेटले मोटरबाईकलाई ठक्कर दिँदा खोटाङका नौँ वर्षीय बालक (जुवास बुढाथोकी)को मृत्यु भएको छ । बुबाआमासँग काठमाडौँबाट दशैँ मनाउन घर आउँदै गरेको अवस्थामा आज (शनिबार) बिहान ग्याँस बुलेट दिएको ठक्करबाट गम्भीर घाइते बनेका ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय जुवासलाई उपचारका लागि शिर मेमोरियल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको हो ।

बुबा चन्द्र बुढाथोकी र आमा रेनुका राई (बुढाथोकी) सवार मोटरबाईकलाई काभ्रेस्थित बनेपा नगरपालिका–१३ भैँटेपाटीमा ग्याँस बुलेटले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । सवारी दुर्घटनामा गम्भीर घाइते बन्नुभएका २९ वर्षीय चन्द्र र २७ वर्षीय रेनुकाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै ग्याँस बुलेटका चालक भारतीय नागरिक शिवजी रामलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरीका अनुसार काठमाडौँबाट बिहान साँढे पाँच बजे हिँडेको बा. प्र. ०७१ प ७०६३ नम्बरको मोटरबाईकलाई विपरित दिशातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट एचआर ३८ एएल १६३४ नम्बरको ग्याँस बुलेटले ठक्कर दिएको हो ।

दुर्घटनाका घाइतेको उपचार तथा मृतकको बालकशव व्यवस्थापनका लागि गाउँपालिकाको तर्फबाट पहल भइरहेको गाउँपालिका अध्यक्ष गीरेन्द्रबहादुर राईले जानकारी दिनुभएको छ । ज्याला मजदुरीको काम गरेर छोरा जुवासको अध्ययन खर्च जुटाउन काठमाडौँ बस्दै आउनुभएका बुढाथोकी दम्पत्ति दशैँ मनाउन घर फर्कँदै गरेको अवस्थामा दुर्घटनामा परेको पारिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया