७१ औँ प्रहरी दिवस–२०८३ : वर्ष उत्कृष्ट नौँ प्रहरी तथा एक विद्यार्थी पुरस्कृत

Minakshi Rai
।

खोटाङ, ३० असोज । जिल्ला प्रहरी कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने नौँ जना प्रहरी तथा एक जना विद्यार्थीलाई पुरस्कृत गरेको छ । ७१ औँ प्रहरी दिवस–२०८३ को अवसर पारेर जिल्ला प्रहरी कार्यालय खोटाङमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा विभिन्न तहका वर्ष उत्कृष्ट नौँ प्रहरी तथा प्रहरी परिवारबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट जिपिए ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरिएको हो ।

कार्यक्रममा प्रहरी नायब निरीक्षक राजेश खड्का, प्रहरी सहायक निरीक्षक बमबहादुर राय क्षेत्री, प्रहरी बरिष्ट हवल्दार दीपेन्द्र राजबङ्शी, प्रहरी हवल्दार मोहनकुमार सिंह, प्रहरी सहायक हवल्दार खेमबहादुर तामाङ र सुमन राई, प्रहरी जवान मोलायम यादव अहिर र अनुषा मगर तथा कार्यालय सहयोगी अर्जुन विष्ट पुरस्कृत हुनुभएको छ । यस्तै, प्रहरी परिवारबाट गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट जिपिए ३.७३ ल्याएर उत्तीर्ण गर्ने प्रहरी सहायक निरीक्षक ज्ञान नारायण श्रेष्ठकी छोरी भीमकुमारी श्रेष्ठलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ ।

पुरस्कृत प्रहरी तथा विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले नगदसहित पुरस्कार वितरण गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारलाई सम्मान तथा अमर प्रहरीका स्तम्भमा माल्यार्पण गरिएको छ ।

जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी गुरुङले नागरिकको सेवामा सदैव समर्पित हुन प्रहरी सङ्गठनलाई निर्देशन दिनुभएको छ । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष सनमान खड्का, नेपाल रेडक्रस सोईटी जिल्ला शाखा खोटाङका महामन्त्री छत्रकुमार बजिमय, पत्रकार, नागरिक समाज, पूर्व प्रहरी तथा अमर प्रहरीका परिवार लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया