सावाकटहरेमा चौथो ‘खोटेहाङ कप अन्तर वडास्तरीय फुटबल प्रतियोगिता–२०८३’ सुरु 

Minakshi Rai
।

खोटाङ, २६ असोज । खोटेहाङ गाउँपालिकामा चौथो ‘खोटेहाङ कप अन्तर वडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता–२०८३’ सुरु गरिएको छ । गाउँपालिकाको आयोजनामा आज (असोज–२६ गते) सोमबारदेखि खोटेहाङ कप अन्तर वडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता सुरु गरिएको हो ।
खोटेहाङ गाउँपालिका–३ सावाकटहरेको नागीमा गाउँपालिकाको रु १२ लाखमा निर्माण गरिएको खेलमैदान उद्घाटनसँगै अन्तर वडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता सुरु गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नं. ५ चिप्रिङका वडाध्यक्ष किरण राईले जानकारी दिनुभएको छ । स्थानीयस्तरमा खेलकुदको विकास गर्ने, युवाहरूको प्रतिभा पहिचान गर्ने तथा खेलाडीबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
यही असोज–२९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता गाउँपालिका अध्यक्ष उदिमबहादुर राई ‘मुक्ति’ र उपाध्यक्ष रुपेशकुमार राईले उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा प्रथम र द्धितीय हुने टोलीले क्रमशः रु एक लाख र रु ७० हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र पाउने छन् ।
सेमीफाइनलिष्ट दुई टोलीले नगद रु ३०÷३० हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र पाउने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा १६ टोलीको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।
उद्घाटन खेलमा खोटेहाङ गाउँपालिका–६ कात्तिके फुटबल क्लबले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई हराएको छ । कात्तिके फुटबल क्लबले एक गोल गर्दा बाँझेच्यानडाँडा गोलरहित बाहिरिएको खेल संयोजकले जानकारी दिएको छ ।
यस्तै, गाउँपालिकाका कर्मचारी र भेट्रान टोलीबीचको मैत्रीपूर्ण खेलमा कर्मचारीको टोली विजयी भएको छ । मैत्रीपूर्ण खेलका विजयी टोलीले खसी पुरस्कार जितेको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया