खोटाङ्गेको सामुहिक प्रयास :स्वाद र स्वास्थ्यका लागि ‘रैथाने खाजा’ घर सञ्चालन

Minakshi Rai
।

खोटाङ, २४ असोज । सामाजिक, राजनीतिक, शैक्षिक तथा पत्रकारिताका क्षेत्रमा क्रियाशील खोटाङ्गे युवाले सामुहिक लगानी गरेर दिक्तेलबजारमा ‘रैथाने खाजा’ घर सञ्चालनमा ल्याएका छन् । सालपा कृषि कम्पनी प्रा.लि. खोटाङमा आवद्ध युवाले ‘स्वाद र स्वास्थ्यका लागि रैथाने खाजा’ नारा दिएर जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित किरातचोकमा रैथाने खाजा घर सञ्चालनमा ल्याएका हुन् ।

आयातित खाद्यान्न तथा दैनिक उपभोग्यवस्तुको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेकाले रैथाने खाजा घर सञ्चालन गरिएको सालपा कृषि कम्पनी प्रा.लि.का अध्यक्ष ध्रुबकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । “आयातित खाद्यान्न तथा दैनिक उपभोग्यवस्तुको प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ । यसलाई निरुत्साहित गर्दै पुस्तौंदेखि हाम्रा पूर्खाले उपभोग गर्दै आएको खानेकुरालाई गाउँघरकै स्वादमा पस्कन कोसिस गरेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो यो प्रयासले सचेत ग्राहकको रैथाने स्वादप्रतिको रुचीलाई सम्बोधनमात्र नगरी मन्द विषको रुपमा युवा एवम् केटाकेटीमा देखिएको आयातित खानेकुरा प्रतिको आकर्षणलाई कम गर्न उल्लेख्य योगदान गर्ने विश्वास लिएका छौँ । दिक्तेलबजारमा स्थापना गरिएको रैथाने खाजालाई राजधानी काठमाडौँ लगायतका शहरमा समेत विस्तार गर्ने योजना छ ।”

‘हरेक बार, फरक परिकार’ नारा दिएर सुरुवात् गरिएको रैथाने खाजा घरमा मकै, कोदो तथा फापरको डाम्रेरोटी, चामलको पिठोको सेलरोटी, चाम्रे, फाल्गी मकै, भुटेको मकै–भटमास, गुन्द्रुक–किनीमा, ढिँडो, मकैको ठेप्ले तथा च्याँख्ले भात लगायतका परिकार पाउने जनाइएको छ । यस्तै, शनिबार÷आइतबार रक्ती हालेको सुँगुरको मासुमा याङमेन र रैथाने कुखुराको वाचिपा, सोमबार÷मङ्गलबार नेवारी खाजा र राँगाको भुटन, बुधबार÷बिहीबार हाँडीको पक्कु र भुटेको मासु तथा शुक्रबार÷शनिबार सुँगुरको मेखे, माछा तारेको र कुखुरको पाङ्ग्रा साँधेको उपलब्ध हुने रैथाने खाजा घर सञ्चालन समिति संयोजक लालबहादुर मगर ‘एलबी’ले जानकारी दिनुभएको छ ।

प्राङ्गारिक खेती प्रणाली तथा रैथाने प्रजातिका बालीनाली लोप हुँदै गएको अवस्थामा सालपा कृषि कम्पनी प्रा.लि. खोटाङले यसअघि दिक्तेलबजारमा रैथाने कृषि मार्टसमेत सञ्चालनमा ल्याएको छ । स्थानीय कृषकलाई जैविक एवम् प्राङ्गारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बीउ, प्रविधि, सीप तथा औजार उपलब्ध गराउँदै कृषकको उत्पादनदेखि विश्व बजारसम्मको पहुँच स्थापनामा सहजीकरण गर्ने उद्देश्यसहित सालपा कृषि कम्पनीले दिक्तेलबजारमा कृषि मार्ट सञ्चालनमा ल्याएको हो ।

युवा जनशक्तिको पलायन, जनसङ्ख्या वृद्धिदरमा कमी, बसाइसराइ तथा कृषि उपजले बजारको पहुँच प्राप्त गर्न नसक्दा खेतबारी बाँझिनेक्रम बढ्नुका साथै आयातित खाद्यान्नमा निर्भरता बढ्दै गएकाले त्यसलाई निराकरण गर्न सामुहिक प्रयास गरिएको कम्पनीका व्यवस्थापक देवकुमार राईले जानकारी दिनुभएको छ । “कृषकले उत्पादन गरेका जुनसुकै कृषि उपज पनि हामी खरिद गरिदिन्छौँ । कृषकले बजार छैन भनेर हतोत्साहित हुनु पर्दैन”, उहाँले भन्नुभयो, “कृषकले उत्पादन गरेका कृषि उपज शहरबजारदेखि विदेशसमेत नि¥यात गर्दै आएका छौँ । दिक्तेलबजारमा सञ्चालन गरिएको कृषि मार्टलाई निकट भविष्यमै राजधानी काठमाडौँ लगायतका शहरमा विस्तार गर्ने योजना छ ।”

गत वैशाख–२ गते औपतारिक उद्घाटन गरिएको रैथाने कृषि मार्टमा लेकाली सिमी, कालो दाल, सेतो ड्वाङ्गे दाल, लेकाली मकै, भटमास,सातु, कागुनो, नफलेको (ब्राउन) स्थानीय अटेमार्सी चामल, फलेको अटेमार्सी चामल, मकैको च्याख्ला, जुवाइँ कोदोको पिठो, फापरको पिठो, कालो गहत, खैरो गहत, गुन्द्रुक, पिडालुको सिम्टा र भुजुरी, जौ, आलुको मस्यौरा, रावाखोलाको असला माछाको सुकुटी, तिल, बदाम, सुकेको अकबरे खुर्सानी, सुकेको जिरे खुर्सानी, बेसार, स्थानी तोरीको तेल, उसिनेको लेकाली मकै, घ्यु, मेहेलको सर्बत्, सखर, जुनेलो लगायतका कृषि उपज बिक्रीका लागि राखिएको छ । बीउबीजनमा भटमासहरु, जुवाइँ कोदो, लेकाली सिमी, मकै, जौ, कागुनो, जुनेलो, गहतहरु, दालहरु, मुला, गाजर, गोलमेडा, प्याज, लसुन, धनियाँ, रायो साग लगायतका कृषि उपज उपलब्ध रहेको भण्डारण तथा सङ्कलन शाखा प्रमुख भीम राईले जानकारी दिनुभएको छ ।

कृषिजन्य सामग्री उत्पादन, प्रवद्र्धन र बजारीकरणका लागि रैथाने तथा गुणस्तरीय बीउबिजन, मल, सीप औजार र प्रविधि सम्बन्धी किसानसँग सहकार्य गरेर दीगो कृषि विकासका लागि विभिन्न कार्यक्रम तथा योजना सञ्चालन गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ । यस्तै, कृषिजन्य वस्तुहरुको सङ्कलन, प्रशोधन र प्याकेजिङगरी गुणस्तयुक्त उत्पादन बजारमा पु¥याउन, स्थानीय कृषि उपजका बीउबिजन सङ्कलन, संरक्षण गर्ने तथा जैविक अर्गानिक कृषि उत्पादनलाई सुरक्षित भण्डारण तथा चिस्यान केन्द्र व्यवस्थापन गरी बिक्री वितरण गर्ने, कृषक र कृषक समूहको कृषि उत्पादन खरिद गरी बजारीकरण गर्ने, रैथाने कृषि उत्पादनलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच विस्तार गर्ने जनाइएको छ ।

जिल्लाका विभिन्न ठाउँमा बसोवास गर्दै आएका १५ जना व्यक्तिको शेयर लगानीमा स्थापना गरिएको कृषि कम्पनीले सरकारी तथा गैरसरकारी कार्यालय, सहकारी संस्था, किसान समूह, बैङ्क तथा वित्तिय संस्था र उद्देश्य मिल्ने अन्य व्यवसायीसँग साझेदारी र सहकार्य गर्ने, वातावरणमैत्री प्रविधि, जैविक खेती र दिगो कृषि अभ्यासलाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । यस्तै, स्थानीय प्रविधिको नवप्रर्वतन, अध्ययन, अनुसन्धान र प्रयोगमार्फत उत्पादन प्रणालीमा सुधार गर्ने, कृषि फर्म, कृषि पर्यटन, कृषि उद्योग, कृषि उपज बिक्री केन्द्र र तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने, पशुपालन, पशुजन्य उत्पादन तथा प्रशोधन, प्याकेजिङ र बजारीकरण गर्ने कम्पनीले जनाएको छ ।

प्रतिव्यक्ति रु दुई लाखका दरले शेयर रकम जम्मा गर्नेगरी स्थापना गरिएको सालपा कृषि कम्पनीमा ६० जना युवा आवद्ध भइसकेका छन् ।


 

तपाईको प्रतिक्रिया