खोटाङ, २३ असोज । नागरिक, प्रशासन र प्रहरीबीचको सम्बन्धलाई सुमधुर बनाउँदै सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन खोटाङमा ‘नागरिक सम्वाद, लागूपदार्थ नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी अभियान’ सुरु गरिएको छ । समुदायमा शान्ति सुरक्षा कायम गर्दै सभ्य समाज निर्माण गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय खोेटाङले संयुक्त अभियान सुरु गरेको हो ।
रावाबेँसी गाउँपालिकाबाट सुरु गरिएको अभियान जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन गरिने आयोजकले जनाएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय योङ्सोलाटारमा शुक्रबार आयोजना गरिएको संयुक्त कार्यक्रममा गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर राई, प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेत, स्थानीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।
नागरिकका समस्या र आवश्यकतालाई सम्बोधन गर्दै प्रशासनिक निकायलाई थप जिम्मेवार र जवाफदेही बनाउन जिल्लाव्यापी अभियान सुरु गरिएको प्रमुख जिल्ला अधिकारी गुरुङले जानकारी दिनुभएको छ । “अभियानले नागरिकका समस्या, गुनासा र सुझावलाई सम्बन्धित निकायसम्म पु¥याउने तथा प्रशासन र नागरिकबीच प्रत्यक्ष सम्वादको वातावरण निर्माण गर्छ । सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम गर्न नागरिक सम्वाद कार्यक्रम महत्वपूर्ण मानिन्छन्”, उहाँले भन्नुभयो, “नागरिकले भोगिरहेका समस्या, सेवा प्राप्तिमा देखिएका कठिनाइ तथा स्थानीयस्तरमा समाधान गर्नुपर्ने विषयबारे प्रत्यक्ष छलफल गर्ने अवसरले प्रशासनप्रतिको विश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । लागूऔषधको दुरुपयोग व्यक्ति, परिवार र समाजका लागि चुनौतीको विषय बन्दै गएको छ । यसको नियन्त्रणका लागि कानुनी कारबाहीसँगै जनचेतना अभिवृद्धि, रोकथामका उपायको प्रचारप्रसार र समुदायको सक्रियता आवश्यक छ ।”
अभियानले लागूऔषधको दुरुपयोगबाट उत्पन्न हुने सामाजिक तथा स्वास्थ्यसम्बन्धी समस्याबारे नागरिकलाई सचेत गराउने, विशेषगरी युवा पुस्तालाई दुव्र्यसनबाट जोगाउन प्रेरित गर्ने तथा रोकथामका प्रयासमा परिवार र समुदायको भूमिका बढाउने प्रमुख जिल्ला अधिकारी गुरुले जानकारी दिनुभएको छ । “लागूऔषध नियन्त्रणका लागि स्थानीय तह, प्रशासन, प्रहरी, विद्यालय, अभिभावक तथा सामाजिक सङ्घसंस्थाबीच समन्वय आवश्यक हुन्छ । समयमै सचेतना फैलाउन सके दुव्र्यसनको जोखिम न्यूनीकरण गर्न र प्रभावित व्यक्तिलाई आवश्यक सहयोग तथा परामर्शको पहुँचमा ल्याउन मद्दत पुग्न सक्छ”, उहाँले भन्नुभयो, “दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट सुरु गरिएको सचेतनामूलक अभियान जिल्लाका दशवटै स्थानीय तहमा पु¥याउने योजना बनाएका छौँ । यसमा नागरिकको सक्रिय सहभागिता आवश्यक छ ।”
सचेतनामूलक अभियानका क्रममा सामुदायिक प्रहरी साझेदारी तथा नागरिक सुनुवाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो । प्रहरी र नागरिकबीच सहकार्य बढाउँदै अपराध रोकथाम, शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम गर्न सामुदायिक–प्रहरी साझेदारी तथा नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो ।
समुदायमा देखिने सुरक्षा चुनौती, घरेलु हिंसा, लागूपदार्थ दुरुपयोग, सामाजिक विकृति तथा सम्भावित आपराधिक गतिविधि नियन्त्रण सम्बन्धी उपायका बारेमा कार्यक्रममा सहभागीलाई जानकारी दिइएको छ । समुदायमा हुने आपराधिक घटना सम्बन्धित निकायलाई समयमै जानकारी गराएमा रोकथामका प्रयास प्रभावकारी बन्नुका साथै प्रहरी र नागरिकबीच विश्वासपूर्ण सम्बन्ध निर्माण हुने आयोजकले जनाएको छ ।
नागरिक सुनुवाइ कार्यक्रमले प्रहरी तथा सम्बन्धित निकायको कामकारबाहीबारे नागरिकले आफ्ना धारणा राख्ने, गुनासा व्यक्त गर्ने र सुधारका लागि सुझाव दिने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । समाजमा सुशासन कायम गर्न प्रशासनिक निकायको सक्रियतासँगै नागरिकको सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
सार्वजनिक निकायले नागरिकका गुनासालाई गम्भीरतापूर्वक सुन्ने, प्राप्त सुझावको उचित सम्बोधन गर्ने र सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने अभ्यासले सुशासनको आधार बलियो बनाउन सकिने जनाइएको छ । नागरिक संवादका कार्यक्रमलाई नियमित र परिणाममुखी बनाउन सके स्थानीय तहमा देखिएका समस्या पहिचान गर्न तथा समाधानका लागि सम्बन्धित निकायबीच समन्वय गर्न सहज हुने आयोजकले जनाएको छ ।


