खोटाङ, २७ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै कार्यालयबाट प्रदान गर्ने सेवा सेवाग्राहीले प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । प्रशासनले आफ्नो सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाएसँगै सेवाग्राहीले आफैँ वा नजिकैको वडा कार्यालयको सहायतामा प्रशासनको इमेल अथवा ह्वाट्सएपमा आवश्यक कागजात पठाएर सहजै सेवा लिनसक्ने व्यवस्था मिलाएको हो ।
दलित÷आदिवासी जनजाति÷खसआर्य प्रमाणितको सिफारिस, थर प्रमाणितको सिफारिस, फैसला÷निर्णयको प्रमाणित प्रतिलिपि (सम्बन्धित व्यक्तिलाई मात्र दिइने), परम्पराको रुपमा सञ्चालन गरिने धार्मिक, सांस्कृतिक पर्व, जात्रा, उत्सव, मेला, इत्यादी सञ्चालनको अनुमति तथा शान्ति सुरक्षा प्रदान गरिने सम्बन्धी सेवाहरु बिना भौतिक उपस्थितिमा उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिनुभएको छ । “प्रशासनमा भौतिक उपस्थिति गराउँदा सेवाग्राहीको समय र पैसा दुवै खर्च हुन्छ । हामी झन्जटिलो सेवा प्रवाहलाई निराकरण गर्दै छिटो, छरितो र प्रविधिमैत्री बनाउने योजनामा छौँ”, उहाँले भन्नुभयो, “पहिलोचरणमा चार किसिमका सेवा प्रवाहलाई भौतिक उपस्थिति बिना नै उपलब्ध गराउन थालिएको छ । प्रशासन सुरु गरेको प्रविधिमैत्री सेवा प्रवाहलाई निकट भविष्यमै थप विस्तार गर्ने योजना बनाइएको छ ।”
दलित÷जनजाति÷खस आर्य प्रमाणितको सिफारिस र थर प्रमाणितको सिफारिस सम्बन्धित सेवा लिनका लागि सम्बन्धित वडाको सिफारिस सहित जन्म दर्ता वा नागरिकता प्रमाणपत्रको फोटोकपी पेश गर्नुपर्ने जनाइएको छ । परम्पराको रुपमा सञ्चालन गरिने धार्मिक, सांस्कृतिक पर्व, जात्रा, उत्सव, मेला, इत्यादी सञ्चालनको अनुमति सेवा लिनका लागि सम्बन्धित वडा÷स्थानीय तहको सिफारिससहित निवेदन÷पत्र पेश गर्नुपर्ने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
राहदानी सेवा सम्बन्धमा बुझ्नु परेमा ०३६–४२०१०२ वा ९७४९८८०३३३ तथा राष्ट्रिय परिचयपत्र सेवाका बारेमा बुझ्नु परेमा ०३६–४२०७५३ वा ९७४५४६३७०० मा सम्पर्क गरेर सेवा लिन प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गुरुङ जिल्ला प्रशासन कार्यालय खोटाङ सरुवा भएर आउनुभएपछि प्रशासनको सेवा प्रवाहमा उल्लेख्य सुधार आएको सेवाग्राहीले बताएका छन् ।
गत भदौ–२५ गते सरुवा भएर खोटाङ आउनुभएका प्रमुख जिल्ला अधिकारी गुरुङले ‘नागरिक सम्वादका लागि प्रमुख जिल्ला अधिकारी’ अभियान सुरु गर्नुभएको छ । नागरिकका समस्या र आवश्यकतालाई सम्बोधन गर्दै प्रशासनिक निकायलाई थप जिम्मेवार र जवाफदेही बनाउन जिल्लाव्यापी अभियान सुरु गर्नुभएको हो ।
अभियानले नागरिकका समस्या, गुनासा र सुझावलाई सम्बन्धित निकायसम्म पु¥याउने तथा प्रशासन र नागरिकबीच प्रत्यक्ष सम्वादको वातावरण निर्माण गर्ने प्रमुख जिल्ला अधिकारी गुरुङले बताउनुभएको छ । “सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता कायम गर्न नागरिक सम्वाद कार्यक्रम महत्वपूर्ण मानिन्छन् । नागरिकले भोगिरहेका समस्या, सेवा प्राप्तिमा देखिएका कठिनाइ तथा स्थानीयस्तरमा समाधान गर्नुपर्ने विषयबारे प्रत्यक्ष छलफल गरिन्छ”, उहाँले भन्नुभयो, “अभियानले प्रशासनप्रतिको विश्वास बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । लागूऔषधको दुरुपयोग व्यक्ति, परिवार र समाजका लागि चुनौतीको विषय बन्दै गएको छ । यसको नियन्त्रणका लागि कानुनी कारबाहीसँगै जनचेतना अभिवृद्धि, रोकथामका उपायको प्रचारप्रसार र समुदायको सक्रियता आवश्यक छ ।”
प्रमुख जिल्ला अधिकारी गुरुङले ‘नागरिक सम्वाद, लागूपदार्थ नियन्त्रण तथा समुदाय–प्रहरी साझेदारी कार्यक्रम’लाई संयुक्त अभियानको रुपमा अगाडि बढाउनुभएको छ । समुदायमा शान्ति सुरक्षा कायम गर्दै सभ्य समाज निर्माण गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय खोेटाङले संयुक्त अभियान सुरु गरेको हो ।


