चेलीका लागि ‘दशैँ–तिहार, चेलीलाई उपहार अभियान’मार्फत निःशुल्क यातायात सेवा

Minakshi Rai
।

खोटाङ, ३१ असोज । जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार अभियान–२०८३’ यस वर्ष पनि सञ्चालन गर्ने भएको छ । कमजोर आर्थिक अवस्था वा यातायात सेवा नपाएर समस्यामा परेका चेलीलाई दशैँ–तिहार मनाउन माइतीघर पु¥याउने तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन जिल्लामा क्रियाशी विभिन्न क्षेत्रमा आवद्ध युवाको एक समूहले तीन वर्षदेखि सञ्चालन गर्दै आएको अभियानअन्तरगत निःशुल्क यातायात सेवालाई यस वर्ष पनि निरन्तरता दिने भएको हो ।

दशैँको अवसरमा कातिक–३ गतेदेखि ६ गतेसम्म तथा तिहारको अवसरमा कातिक–२४ गतेदेखि २६ गते निःशुल्क यातायात सेवा अभियान सञ्चालन गर्ने तयारी गरिएको संयोजक सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । “यातायात सेवा नपाएका तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका चेलीलाई गन्तव्यसम्म पु¥याउने योजनासहित दुई चरणमा अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । यो अभियान हामीले बिगत तीन वर्षदेखि निरन्तर सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “अभियान सञ्चालन गर्नुमा हाम्रो कुनै स्वार्थ छैन । मानवीय सेवाभावले यातायात सेवा नपाएका चेलीलाई माइतीघर पु¥याउन तथा माइतीघरबाट पुनः कर्मघर फर्काउन निःशुल्क यातायात सेवा उपलब्ध गराउँँदै आएका हौँ ।”

दशैँ र तिहारगरी दुई चरणमा सञ्चालन गरिने अभियानको तयारीका बारेमा युवा समूहले आज (शनिबार) साँझ दिक्तेलबजारस्थित रुपाकोट होटलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । सरकारी जागिर तथा नेपाल सरकारको सेवासुविधा लिइरहेका चेलीलाई भने आफूहरुले सञ्चालन गरेको अभियानअन्तरगतका कुनै पनि सेवा उपलब्ध नहुने पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।

अभियानका क्रममा महिला, बालबालिका, वृद्धावस्थाका तथा अपाङ्गता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइने संयोजक राईले जानकारी दिनुभएको छ । चेलीका लागि भनेर सञ्चालन गरिने अभियानमा पुरुषलाई पनि आवश्यकता र सहमतिका आधारमा सेवा उपलब्ध गराउने तयारी गरिएको युवा समूहले जनाएको छ ।

अभियानका लागि अहिलेसम्म विभिन्न क्षेत्रमा कार्यरत ३५ जना युवाले स्वतःस्फूर्त सहभागी हुनेगरी यस वर्ष आफ्नो नाम दर्ता गराइसक्नुभएको संयोजक राईले जानकारी दिनुभएको छ । “स्वयम्सेवा गर्न इच्छुक युवा थपिनेक्रम जारी छ । मध्यपहाडी लोकमार्ग तथा सगरमाथा राष्ट्रिय राजमार्गका विभिन्न सडकखण्ड तथा जिल्लाका सबै ग्रामीण सडकहरुको ३५ किलोमिटरसम्म सेवा उपलब्ध गराउने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “निःशुल्क यातायात सेवा दिन पाँच सदस्यीय सचिवालय गठन गरिएको छ । हामीले सञ्चालन गरेको अभियानमार्फत निःशुल्क यातायात सेवा लिन चाहने चेलीहरुले आफ्नो विवरण टिपाउन थाल्नुभएको छ । सुरुमा विवरण टिपाएकालाई पहिलो प्राथमिकतामा राखेर निःशुल्क यातायात सेवा अभियान सञ्चालन गर्नेछौँ ।”

अभियान अन्तरगतका निःशुल्क यातायात सेवा लिन चाहने यात्रुले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला तथा माइतीका लागि कोसेली बोक्न पाउने सर्तसमेत राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ । जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाका जोखिमलाई मध्यनजर गरेर तौल निर्धारण गरिएको अभियानका संयोजक राईले जानकारी दिनुभएको छ ।

दशैँ र तिहारगरी दुई चरणमा सञ्चालन गरिने निःशुल्क यातायात सेवा अभियानमा स्वस्फूर्त स्वएम्सेवकको भूमिका निर्वाह गर्न चाहने जो कोहिले सहयोग गर्न सक्ने जनाइएको छ । स्वएम्सेवक बन्न चाहने युवाको सवारी साधनको बिलबुक र सवारी चालकको चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य हुनुपर्ने पत्रकार सम्मेलनमा जनाइएको छ ।

युवा समूहले पहिलो वर्ष वि.सं. २०८१ सालमा सञ्चालन गरेको अभियानमा ३४५ तथा गत वर्ष वि.सं. २०८२ सालमा सञ्चालन गरेको अभियानमा ७०० जनाले सेवा लिएका थिए । शुभेच्छुहरुको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिँदै आएको अभियानका लागि एकपटकमा करिब रु चार लाख खर्च हुने गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया