चाडपर्वको बहानामा जुवातास तथा सट्टेबाजी खेल नखेल्न/नखेलाउन प्रशासनको आग्रह

Minakshi Rai
।

खोटाङ, ३१ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङ चाडपर्वको बहानामा गैर–कानूनीरुपमा चिठ्ठा, जुवातास र कुनै पनि प्रकारको बाजी वा सट्टेबाजी जस्ता खेल नखेल्न÷नखेलाउन आग्रह गरेको छ । दशैँ, तिहार, नेपाल सम्बत् तथा छटपर्व लगायतमा हुनसक्ने अवाञ्छित र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रशासनले सार्वजनिक सूचना जारी गरेर चाडपर्वलाई सुरक्षित, मर्यादित र हर्षोल्लासका साथ मनाउन जिल्लावासीलाई आग्रह गरेको गरेको हो ।

चाडपर्वको समयमा अत्यावश्यक वस्तुमा कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्री वितरण तथा उपभोक्ता हित विपरितका कार्यहरु नगर्न÷नगराउन आग्रह गरेको छ । मादक पदार्थ लगायत नशालु पदार्थ सेवन गरी चाडपर्वको समयमा सार्वजनिक स्थानमा हो–हल्ला, झैझगडा जस्ता कार्यहरु नगर्न÷नगराउन प्रशासनले जारी गरेको सार्वजनिक सूचनामा आग्रह गरिएको हो ।

सवारी साधनमा क्षमताभन्दा बढी यात्रु नबोक्न, मादक पदार्थ र लागू पदार्थ सेवन गरी सवारी साधन नचलाउन, पटका, आतिसबाजी र भूँइचम्पा जस्ता प्रज्ज्वलनशील एवम् विष्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न÷नगराउन प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले हस्ताक्षर गर्नुभएको सूचनामा उल्लेख छ । प्रशासनको आग्रहलाई उलङ्घन गरेमा कानूनबमोजिम कारबाही गरिने जनाइएको छ ।

हिन्दु नेपालीहरुको चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्रसमेत जारी गरिएको छ । जिल्ला सुरक्षा समिति खोटाङले आयोजना गरेको सर्वदलीय÷सर्वपक्षीय भेलामा सहभागी सरोकारवाला निकाय तथा जिल्लास्थित राजनीतिक दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङले आसन्न चाडपर्वलाई लक्षित गरेर जिल्लामा सुरक्षा व्यवस्थालाई कडाइका साथ पालना गर्ने प्रतिबद्धता जनाएको छ । जिल्लाभित्र गस्तीको दर बढाउने, आपराधिक गतिविधि हुनसक्ने स्थानको सूक्ष्म निगरानी गर्ने तथा सुरक्षा निकायबीचको समन्वयलाई प्रभावकारी बनाएको भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले बजार क्षेत्रको यातायात जोखिम न्यूनीकरणका लागि ट्राफिक नियमलाई कडाइका साथ पालना गर्ने÷गराउने प्रतिबद्धता जनाएको छ । बजार क्षेत्र तथा यात्रुहरुको बढी भीडभाड हुने ठाउँहरुमा नियमित गस्ती गर्ने, यात्रुलाई सूचनामूलक सन्देश प्रवाह गर्ने, मादक पदार्थ सेवन तथा लागू पदार्थ सेवन सम्बन्धी जाँच गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदीय÷सर्वपक्षीय भेलामा जिल्लास्थित सबै राजनीतिक दलले शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने÷गराउने प्रतिबद्धता जनाएका छन् । चाडपर्वको समयमा जिल्लामा भए÷गरेका आपराधिक घटनाका बारेमा सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालय खोटाङलाई आधिकारिक सूचना उपलब्ध गराउने र रचनात्मक सल्लाह प्रदान गर्ने भएको हो ।

खोटाङ उद्योग वाणिज्य सङ्घले उपभोक्ताका आधारभूत अधिकार सुनिश्चित गर्न वस्तु तथा सेवा प्रवाहमा गुणस्तरीयता कायम गर्ने÷गराउने प्रतिबद्धता जनाएको छ । भेलामा नेपाल पत्रकार महासङ्घ खोटाङ एवम् जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीले यातायात व्यवसायी, यात्रु तथा उपभोक्ताको कर्तव्य र अधिकारसम्बन्धी सूचना सम्प्रेषण गर्ने÷गराउने प्रतिबद्धता जनाएका छन् ।

होटल व्यवसायी सङ्घ खोटाङले आधारभूत मापदण्डको अनिवार्य पालना गर्दै यात्रु तथा उपभोक्तालाई गुणस्तरीय एवम् उचित मूल्यमा खाना तथा बासको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ । जिल्लामा सञ्चालित होटल सञ्चालकहरुले खाना तथा बासको आफूखुसी मूल्य राख्ने र उपभोक्तालाई ठगी गर्ने गुनासो आएपछि त्यसलाई न्यूनीकरण गर्न होटल व्यवसायी सङ्घ प्रतिबद्ध भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ खोटाङ तथा जिल्लास्थित विभिन्न यातायात व्यवसायी सङ्घहरूले सुरक्षित र मर्यादित यातायात सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । चालक तथा सहचालकलाई शिष्ट र मर्यादित व्यवहार गर्ने सम्बन्धी प्रशिक्षण दिने, यात्रुलाई अनिवार्य टिकट दिने र चलान गर्ने, चालक तथा सहचालकले मादक पदार्थ सेवन÷लागू पदार्थ सेवन नगर्ने÷नगराउने, तोकिएको स्थानबाट मात्र यात्रु चढाउने र ओराल्ने प्रतिबद्धता जनाएका हुन् ।

तपाईको प्रतिक्रिया