शङ्कास्पद अवस्थामा हर्कुको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

Minakshi Rai
।

खोटाङ, ३१ असोज । हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अविवाहित अवस्थाका हर्कु शुक्रबार बिहान आफ्नै गाउँमा शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले गएराति स्थानीय पाँच युवालाई नियन्त्रणमा लिएको हो ।

धितुङमा भएको घटना शङ्कास्पद लागेपछि अनुसन्धानका लागि स्थानीय पाँच युवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ । “मृतक हर्कु राई बिहीबार बेलुकासम्म गाउँमा डुलिरहेको भन्ने खुलेको छ । उनको टाउको लगायत शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म घटनाको बारेमा केही खुलेको छैन । अनुसन्धानका लागि स्थानीय पाँच युवालाई नियन्त्रणमा लिएर हिरासतमा राखेका छौँ ।”

मृतक हर्कुले स्थानीय एक परस्त्रीसँग अनैतिक सम्बन्ध राख्दै आएको चाल पाएपछि आफन्तले कुटपिटगरी उनको हत्या गरेको समाचार स्रोतको दाबी छ । मृतक हर्कुको विषयमा यसअघि पनि एक विवाहित महिलासँग नाम जोडेर गाउँमा विवाद भएपछि इलाका प्रहरी चौकी हलेसी लगेर छलफलमार्फत मिलापत्र गराइएको धितुङका वडाध्यक्ष टेकराज राईले जानकारी दिनुभएको छ ।

घटनाको विषयमा मृतक हर्कुको आफन्तले आरोपितविरुद्ध किटानी जाहेरी दिएपछि थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ । मृतक हर्कुको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पताल खोटाङ ल्याइएको आफन्तले जनाएको छ ।

तपाईको प्रतिक्रिया